अरु दलको कांग्रेसलाई आग्रह : सहमतीय सरकार बनाउन जोड देउ

काठमाण्डु टुडे २०७० माघ १४ गते ४:४९ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, १४ माघ – संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलहरुले सबै दलको सहमतिमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् ।

काठमाण्डुमा भएको दलहरुको छलफलमा अधिकांश दलहरुले कांग्रेसलाई  सबैसँग सहमति गरी सरकार बनाउन आग्रह गरेका हुन् ।

मंगलबारको संसद बैठकपछि बसेको बैठकमा अधिकांश दलका नेताहरुले सकेसम्म सबै र त्यो संभव नभए अधिकांश दलहरुको सहमतिमा सरकार बनाउन कांग्रेसलाई आग्रह गरेको नेकपा मालेका महासचिव सिपी मैनालीले जानकारी दिए ।

संसदमा सहभागि अधिकांश दलहरुले एमाले, एमाओवादीलगायत सबै दललाई सहमतिमा ल्याइ सरकार निर्माण गर्न सुझाव दिएको मैनालीले बताए । ‘हामीले राष्ट्रिय सहमतिको सरकार बानउनुस भनेका छौं,’ माले महासचिव मैनालीले काठमाण्डु टुडेसँग भने, ‘सुशासन दिने र संविधान निर्माणमा समन्वय गर्ने गरी सरकार अघि बढ्नुपर्छ भन्ने नै हाम्रो सुझाव छ ।’

जवाफमा कांग्रेसका नेताहरुले राष्ट्रपतिले दिएको समय सिमाभित्रै सहमतिको सरकार बनाउने बताएको उनले जानकारी दिए । कांग्रेसको प्रस्तावमा एमाले र एमाओवादी पनि सकारात्मक रहेको मैनालीको भनाइ थियो ।

‘एमालेले कांग्रेसलाई सहयोग गर्न सकिने संकेत दिएको छ,’ मैनालीले भने, ‘संविधान निर्माणमा समन्वय गर्ने सरकार बन्यो भने सरकारमा जाने वातावरण बन्न सक्छ भनेर एमाओवादी नेताहरुले पनि भनेका छन् ।’

यद्यपि संसदको चौथो शक्ति राप्रपा नेपालले भने सरकार नजाने स्पष्ट पारेको छ । मंगलबारको बैठकमा राप्रपा नेपालका सभासद भने उपस्थित थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us