कुखुरापालनमा लगानी बढ्यो

काठमाण्डु टुडे २०७० माघ १४ गते ३:०४ मा प्रकाशित

Henधनगढी, १४ माघ – कैलाली जिल्लामा फस्टाउँदो व्यवसायका रुपमा रहेको कुखुरापालनमा केही वर्षभित्रमा एक अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ ।

लगानी बढेसँगै विस्तार भएका कुखुरा फार्महरु सुदूरपश्चिमका जिल्लाका साथै देशका अन्य जिल्लामा पनि कुखुरा तथा अण्डा आपूर्ति गर्न सफल भएका छन् । व्यवसायमा बढेको आकर्षणसँगै यो व्यवसायमा संलग्न जिल्लाका करिब एक हजार ३०० कृषकले यस व्यवसायमा झन्डै एक अर्ब रुपैयाँ लगानी गरिसकेको अनुमान गरिएको कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घका तुल्सी गौतमले बताए ।

योसँगै सञ्चालनमा रहेका एक हजार ३०० पोल्ट्री फार्म र ५०० भन्दा बढी मासु पसलमा  प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा झन्डै ४० हजार व्यक्तिले रोजगारी पाएका छन् । जिल्ला पशुसेवा कार्यालयका अधिकृत मीनबहादुर थापाले पाँच वर्षदेखि कैलाली जिल्ला कुखुरामा आत्मनिर्भर भइसकेको र यसका अण्डामा आत्मनिर्भर हुने अवस्थामा पुगेको बताउँछन् ।

कार्यालयमा ब्वायलर कुखुराका फार्म ४३४ र लेयर फार्म ३१ दर्ता भएकामा ब्वायलरमा दुई लाख ६० हजार २६१ चल्ला र लेयर फार्ममा ४४ हजार ८०५ चल्ला (अण्डा दिने कुखुरा) रहेको थापाले जानकारी दिनुभयो । यी बाहेक दर्ता नभएका कुखुरा फार्महरु पनि सञ्चालनमा रहेको बताइएको छ ।

केही वर्षअघिसम्म चितवन लगायतका जिल्लाबाट मासुका लागि कुखुरा आयात गर्दै आएका कैलालीका व्यवसायीले हाल सुदूरपश्चिमको माग पूरा गरी चितवन, काठमाण्डु लगायतका जिल्लामा कुखुरा निर्यात गर्न सफल भएको कुखुरा तथा अण्डा उत्पादक किसान संघका गौतमले जानकारी दिए ।

कुखुरापालन व्यवसायमा देखिएको सफलतसँगै धनगढीमा सुदूर तथा मध्यपश्चिममै पहिलो र अत्याधुनिक साढे पाँच करोड रुपैयाँको लगानीमा कुखुराका लागि गुणस्तरीय दाना उत्पादन गर्ने चाइनिज प्रविधिको प्यालेट दाना उद्योगसमेत केही महिनादेखि सञ्चालनमा आएको छ ।

यस्तै करिब डेढ करोड रुपैयाँको लागतमा श्रीपुर गाविसको हरैयामा ह्याचरी उद्योगसमेत सञ्चालनमा आएको छ । प्यालेट दाना तथा ह्याचरी उद्योगका सञ्चालक एवम् सफल व्यवसायी विवेक भट्टले आगामी वैशाखभित्रमा कुखुराका चल्ला बजारमा ल्याउने जानकारी दिए ।

सहुलियत दरमा कृषि ऋण, दक्ष प्राविधिक सेवा तथा पक्षी बीमा लगायतका सेवासुविधा लागू नहुँदा विपद्का बेला ठूलो क्षति बेहोर्नु परेको अवस्था रहेको भन्दै राज्यले यस्ता सेवासुविधामा सहुलियत दिन सकेमा यो व्यवसायले अझै फड्को मार्ने धनगढी तारानगरका कुखुरापालक किसानविक्रम सिंह बताउँछन् ।

गत साउनमा आएको बाढीमा अफ्नो फार्मका हजारौँ मूल्यका कुखुरा बगेर नष्ट भए पनि कहीँकतैबाट सहयोग नमिलेको सिंहले गुनासो गरे । नेपालमा बढ्दो बेरोजगारीका कारण हजारौँ युवा विदेशमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य भएको परिप्रेक्ष्यमा सरकारले सम्भावना देखिएका यस्ता व्यवसायीलाई सेवासुविधा उपलब्ध गराउन सकेमा धेरै बेरोजगारले आफ्नै देशमा रोजगारी पाउने व्यवसायीहरुको धारणा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us