होम्स शहरमा फसेका महिला र बालबालिकालाई सुरक्षित बाहिर निकाल्ने सहमति

काठमाण्डु टुडे २०७० माघ १३ गते २:२४ मा प्रकाशित

काठमाण्डु, १३ माघ–सिरियामा सरकार र विपक्षीबीच होम्स शहरमा फसेका महिला तथा बालबालिकाहरुलाई सुरक्षित बाहिरिन दिने सम्झौता भएको छ । विपक्षी र सरकारबीच जेनेभामा जारी शान्तिवार्ताको दोस्रो दिन यो सम्झौता भएको राष्ट्र संघका विशेष दुत लखदर ब्राहिमिले बताएका छन् ।

वार्ताको क्रममा सरकारले हतिरयारधारी समुहले होम्स शहरमा महिला र बालिकाहरुलाई कब्जामा लिएर शहर छोड्न नदिएको आरोप लगाउँदै सरकारको तर्फबाट उनीहरुलाई शहर छोड्न कुनै बन्देज नभएको जनाएको थियो । ब्राहिमीका अनुसार वार्ताका क्रममा विपक्षी गठवन्धनले होम्समा बन्दुकधारीहरुको कब्जामा रहेका महिला तथा बालबालिकाको विषयका यकिन जानकारी दिने सम्झौता पनि भएको छ ।

वार्तामा बसेका दुवै पक्ष एक अर्काको कुरा सुन्न तथा आमने सामने बस्न समेत नमानिरहेको अवस्थामा होम्स सम्झौतालाई महत्वपूर्ण मानिएको छ । ब्राहिमीले वार्ता निकै सुस्त गतिमा भईरहेको स्वीकार गर्दै सोमबारसम्म वार्ताको दिशा यकिन हुने विश्वास ब्यक्त गरेका छन् ।

सोमबार रेडक्रस सहितको एक प्रतिनिधि मण्डल होम्स शहर पुग्दै छ । समाचारहरुको अनुसार होम्समा सयौ मानिसहरु फेसेका छन् जसमध्ये कतिपय घाईते छन् भने केहिको अवस्था चिन्ताजनक रहेको छ ।

यता विद्रोहीहरुले भने सरकरी जेलमा रहेका हजारौं कैदीहरुको रिहाईको माग गरेका छन् । अहिले जेनेभामा जारी वार्ता संयुक्त राष्ट्रसंघ मध्यस्थकर्ताहरु मार्फत चलिरहेको छ । शुक्रबार छोटो समयकोलागि दुवै पक्ष आमने सामने भए पनि त्यसयता दुवै पक्षलाई सँगै बसाउने राष्ट्र संघको प्रयास सफल हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us