चुनौति र अवसरको पहाडमुनि कोइराला

काठमाण्डु टुडे २०७० माघ १२ गते १४:०३ मा प्रकाशित

sushilकाठमाण्डु, – संविधानसभा निर्वाचनबाट पहिलो दल बनेको नेपाली काँग्रेस संसदीय दलको नेता पदका लागि आइतबार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी वरिष्ठ नेता शेरबहादुर देउवालाई १६ मत अन्तरले पछि पार्दै पार्टी सभापति सुशील कोइराला विजयी भएका छन् ।

संसदीय दलका अर्का आकांक्षी उपसभापति रामचन्द्र पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने समझदारी गरेर उनको साथ लिई वरिष्ठ नेता देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका कोइरालाले कूल १ सय ९४ मत मध्ये १ सय ५ मत पाए भने भने वरिष्ठ नेता देउवाले ८९ मतमै चित्त बुझाउनु पर्‍यो ।

२०५८ मा भएको कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा भने कोइराला देउवासँग पराजित भएका थिए ।
यसपटक काँग्रेस संसदीय दलको निर्वाचन विद्युतीय मतदान यन्त्रबाट भएको थियो । विहान ९ बजे सुरु भएको सो मतदानमा १७ जनाले मतदान गरेपछि १६ जनाको मात्र परिणाम देखिएकोले केही समय मतदान कार्य अवरुद्व हुन पुगेको थियो । त्यसपछि निर्वाचन समितिले नेताहरुबीच छलफल गरी पुनः १०ः३० बजेबाट विद्युतीय यन्त्रबाट नै मतदान कार्य सम्पन्न गरेको थियो ।

मतदान कार्य करिव दुई घण्टामा सकिएको थियो भने मत परिणाम १० मिनेटमै आएको थियो । त्यसपछि निर्वाचन समितिका संयोजक दिलेन्द्र वडुले सभापति कोइराला निर्वाचित भएको घोषणा गरे ।

संविधानसभा निर्वाचनपछि संविधानसभा र व्यवस्थापिका संसदको पहिलो वैठक सुरु भएको छ । तर प्रमुख दलहरुको संसदीय दलका नेता निर्वाचन हुन नसकेर सरकार गठन र संविधानसभाको काम अघि बढ्न नसकेको सन्दर्भमा ठूलो दलको हैसीयतामा काँग्रेसमा भएको दलका नेता चयनले त्यो कामको ढोका खोलिदिएको छ ।

संसदीय दलका नेताका रुपमा निर्वाचित भएलगत्तै सभापति कोइरालाले आफ्नो विजयलाई आफ्नो व्यक्तिगत भन्दा पनि काँग्रेसको, प्रजातन्त्रको र सबैको विजयको रुपमा लिएको बताए ।

‘पार्टीभित्र भएको लोकतान्त्रिक प्रक्रियाले पार्टीलाई सबल बनाएको छ, अव पार्टी एक ढिक्का भएर अघि बढ्नेछ, सहमति, एकता, सहकार्य र मेलमिलापको आधारमा सबैको सहयोगमा पार्टीलाई मिलाएर लानेछु,’ आइतबार सिंहदरबार स्थित काँग्रेस संसदीय दलको कार्यालयमा दलको नेता चुनिएलगत्तै प्रतिक्रिया दिँदै सभापति कोइरालाले भने ।

सिंहदरबारस्थित संसदीय दल कार्यालयमा संसदीय दलको नेता चुनिएलगत्तै कोइराला आइतबारबाट सुरु भएको व्यवस्थापिका संसदको पहिलो वैठकमा भाग लिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगे । संविधानसभा व्यवस्थापिका संसदका सभाध्यक्ष सहित प्रमुख दलका नेताहरुले दलको नेताको हैसीयतमा सभापति कोइरालालाई बधाई दिए भने संसदको वैठकलाई सम्बोधन गर्ने क्रममा पनि सभापति कोइरालाले १२ बुँदे सहमतिबाट सुरु भएको शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान बनाउने कामलाई सहमति, एकता र वार्ताको माध्यमबाट पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ठूलो दलको रुपमा नयाँ सरकारको नेतृत्व लिन काँग्रेसलाई अन्य दलहरुले आग्रह गरिसकेका छन् । संसदीय दलको नेता नै प्रधानमन्त्री हुने काँग्रेसको विधान अनुसार काँग्रेसको नेतृत्वमा सरकार गठन भएमा सभापति कोइरालानै प्रधानमन्त्री बन्नु हुने निश्चित भएको छ ।

कोइराला, देउवा र पौडेल तीनै नेता संसदीय दलको नेता बन्ने आकांक्षाबीच सर्वसम्मत उम्मेदवार सहमतिका आधारमा चयन गर्ने पटकपटक प्रयास भएको थियो । तर त्यो संभव हुन नसकेपछि उम्मेदवारी मनोयनको दिन शनिवार सभापति कोइराला र उपसभापति पौडेलबीच उपसभापति पौडेललाई कार्यवाहक सभापति दिने र सभापति कोइरालाले सरकारको नेतृत्व लिने समझदारी भएको थियो ।

साथै संविधान निर्माणको अवधिपछि काँग्रेसको तर्फबाट सरकारको नेतृत्व देउवा र पौडेलको सहमतिमा तय हुने पनि उहाँहरुबीच समझदारी बनेपछि  सभापति कोइरालालाई समर्थन गर्दै पौडेल दलको नेताको उम्मेदवारी दिनबाट पछि हटेका थिए ।

‘अहिलेको मुलुकको संगीन घडीमा एक वर्षमा संविधान दिने पार्टीको प्रतिबद्वता अनुरुप राष्ट्रिय सहमति जुटाउन पार्टीबाट एकताको सन्देश दिन मैले सभापति कोइरालालाई समर्थन गर्ने र  सरकारको नेतृत्व सभापति कोइरालाले र आफूले पार्टी कार्यवाहक सभापतिका रुपमा चलाउने सहमति हामीबीच भएको छ,’ पौडेलले भने ।

वरिष्ठ नेता देउवाले केही दिन अघि आफूले पार्टीमा भूमिका चाहेको र त्यो नभए संसदीय दलको नेतामा उठ्ने घोषणा गरेका थिए । उम्मेदवारी दर्तापछि सभापति कोइराला र नेता देउवा पक्षबीच सहमतिको लागि भन्दै उम्मेदवारी फिर्ता लिने अवधि शनिवार साँझ ५ बजेबाट बढाएर रातको १० बजेसम्मको लागि तन्काएपनि त्यसले निर्णायक रुप लिन नसकेपछि आइतबार निर्वाचन भएको हो ।

पार्टीका १ सय ९४ सभासदमध्ये देउवा १६ मतले मात्र पछि परी दलको नेतामा हार भएपनि उनले ल्याएको मत सम्मानजनक रहेको छ । यसले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन व्यवस्थित गर्दै अन्य दलहरुसँग सहमति गरेर पहिलो दलको रुपमा सरकार गठन गर्ने चुनौति छ । साथै  जनतासामु निर्वाचनमा गरेको एक वर्षभित्रमै संविधान बनाउने कामको नेतृत्व अग्रसरता लिनुपर्ने चुनौति पनि सभापति कोइरालासामु थपिएको छ ।

आफ्नै पार्टीभित्र एकता कायम गरी अन्य दलहरुसँग सहमति गरेर अघि बढ्नुपर्ने चुनौतिको बेला काँग्रेस संसदीय दलको नेता चुनिनुभएका कोइरालाको अघि पहिलो ठूलो दलको रुपमा सरकार र संविधान बनाउनुपर्ने कामको अग्रसरता लिनुपर्ने भएकोले उहाँको आगामी दिन निकै कठिन र चुनौतिपूर्ण छ ।

तर चुनौतिलाई चिरेर यो घडीमा सभापति र दलको नेताको रुपमा संविधान बनाएर मुलुकलाई आर्थिक विकासको बाटोमा अघि बढाउने काममा सफलता मिले संघर्ष, त्याग र सरल व्यवहारका धनी नेताका रुपमा चिनिनुभएका नेता कोइारालाको लागि यो चुनौति अवसरका रुपमा परिणत हुने बलियो संभावना छ, जसले आफ्नो र पार्टीको छवि उचो हुनेछ । त्यसले देशमा राजनीतिक स्थायित्व कायम भएर आर्थिक विकासको  बाटो पनि खुल्नेछ ।

सूर्यचन्द्र बस्नेत/सीबी अधिकारी ।रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us