
काठमाण्डु, १२ माघ-काठमाण्डुको कोटेश्वर तीनकुनेमा आधुनिक र सुन्दर बगैंचा (पार्क) निर्माण गरिने भएको छ। वर्षौंदेखि अलपत्र ३५ रोपनी जग्गामा काठमाण्डु महानगरपालिकाले पाँच करोड रुपैयाँ लागतमा पार्क बनाउन लागेको हो।
डिजाइनमा संलग्न महानगरपालिकाका अधिकारीका अनुसार पार्कमा सयौं प्रजातिका फूल रोपिनेछ भने पानीका फोहोरा पनि बन्नेछन्। तीन कुनामा नेपाल झल्काउने स्मारक पनि बनाइनेछ। पार्कमा हरियो दुबो र विभिन्न जातका फलफूलका बोटसमेत रोपिनेछ।
महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालका अनुसार पार्कका बीचमा अग्लो थुम्को र वरिपरि होचा थुम्का बनाइनेछ।
एक महिनाभित्रै पार्क निर्माण थालिने जानकारी दिँदै उनले भने, ‘तीनकुनेको खुला ठाउँ घेर्न ठेकेदारसँग यसै साता सम्झौता हुनेछ।’ हाल कार र मोटरसाइकल सिक्न प्रयोग भइरहेको ठाउँलाई तारबारले घेर्न महानगरपालिकाले ३० लाख रुपैयाँ लाग्ने जनाएको छ।
पार्कभित्र ‘मर्निङ वाक’ गर्नेहरूलाई हिँड्ने भित्री बाटो, फलामका कुर्सी र बेन्च राख्ने योजना छ। महानगरपालिकाका पूर्वकार्यकारी अधिकृत केदारबहादुर अधिकारीले तीनकुनेमा पार्कसँगै भूमिगत पार्किङ बनाउने योजना पनि तयार पारेका थिए।
पूर्वमेयर केशव स्थापितले २०५८ सालमा त्यहाँका घर भत्काएका थिए। त्यतिबेला करिब ५३ रोपनी रहेको जग्गा तीनतिरबाट सडकले ओगटेर अहिले करिब ३५ रोपनी बाँकी छ।
महानगरपालिकाका प्रवक्ता शान्तराम पोखरेलले तीनकुनेमा बन्ने बगैंचाले महानगरको सुन्दरता थपिने बताए। जस्तोसुकै समस्या आए पनि पार्क निर्माणको काम सम्पन्न गर्ने अठोटमा महानगरपालिका छ। ‘जति विरोध आए पनि यसपटक काम थाल्छौं’, पोखरेलले भने। बगैंचा बनिसकेपछि सबै व्यवस्थापन महानगरले नै गर्नेछ।
बगैंचा निर्माणका लागि स्थानीय विकास र सहरी विकास मन्त्रालयसँग पनि छलफल भइसकेको जानकारी उनले दिए। केही जग्गाको मुआब्जा दिन बाँकी रहेकाले ती जग्गाधनीलाई खबर भइसकेको उनले बताए। मुआब्जा वितरण जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत हुने अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।