व्यवस्थापिका संसदको पहिलो बैठक आज

काठमाण्डु टुडे २०७० माघ १२ गते २:०३ मा प्रकाशित

biccकाठमाण्डु, १२ माघ– अघिल्लो संविधानसभाको अवसानसँगै विघटन भएको व्यवस्थापिका संसदको पहिलो बैठक आइतबार २० महिनापछि शुरु हुदै छ । गत मंसिर चार गते दोस्रो संविधानसभा चुनाव भएको ६८ दिनपछि व्यवस्थापिका संसदको पहिलो बैठक बस्न लागेको हो ।

संविधानसभा भवन नयाँबानेश्वरमा अपरान्ह ३ बजे बैठक बस्ने छ । व्यवस्थापिका संसदको बैठक पनि जेष्ठ सदस्यको हैसियतले राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले नै सन्चालन गर्नेछन् । अधिवेशनको क्रममा सरकार प्रमुखको हैसियतले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले सम्वोधन गर्नेछन् । त्यसैगरी राजनीतिक दलका अध्यक्ष वा संसदीय दलको नेताले समेत बैठकमा धारणा राख्ने छन् ।

पहिलो बैठकको तीन कार्यसूची

यसअघि मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले बैठक आह्वान गरेका थिए । व्यवस्थापिका संसद सचिवालयले संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलका प्रतिनिधि र दुई स्वतन्त्र सभासदसँग परामर्श गरी पहिलो बैठकको तीनवटा कार्यसूची तय गरेको छ । सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार पहिलो दिन राष्ट्रपतिले व्यवस्थापिका संसदको बैठक आह्वान गर्दै पठाएको पत्र पढेर सुनाउने कार्यसूची छ । यसैगरी व्यवस्थापिका संसद संचालनको लागि नयाँ कार्यविधि नबनेकाले २०६४ अनुसार नै बैठक सन्चालन गर्ने तथा सरकारले प्रस्तुत गर्ने बाधा अड्काउ फुकाउ सम्वन्धि अध्यादेश विधेयकको रुपमा प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

गत बर्ष फागुन ३० गते वर्तमान सरकार गठनको लागि  प्रमुख राजनीतिक दलको सहमतिमा सरकारले अन्तरिम संविधानका २५ वटा धारा संसोधन गरेको थियो । सोही व्यवस्थालाई सरकारले विधेयकको रुपमा प्रस्तुत गर्न लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us