सभासद भएपनि राणाले एनप्याब्सन नछाड्ने

काठमाण्डु टुडे २०७० माघ ११ गते १४:०३ मा प्रकाशित

Gita ranaकाठमाण्डु, ११ माघ– संविधानसभाको सदस्य भए तापनि निजी विद्यालय सञ्चालकका दुई छाता संस्थाका अध्यक्ष डा बाबुराम पोखरेल र गीता राणाले ती संस्थाको नेतृत्व नछाड्ने भएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन)का अध्यक्ष पोखरेल र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)की अध्यक्ष गीता राणा मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक)बाट समानुपातिकतर्फका सभासद् भएकी हुन् ।

दुवै संस्थाभित्र अध्यक्ष सभासद् भएपछि वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष दिनुपर्ने कुरा उठे पनि अधिकांश सदस्यले त्यस्तो आवश्यकता नभएको धारणा राखेको तथा उहाँहरूको पनि पदमा रहने चाहना देखिएकाले नेतृत्वको निरन्तरता भएको हो ।

एन प्याब्सनका अध्यक्ष राणाले आफ्ना सदस्य विद्यालयले आफू सभासद् भएकामा खुसी व्यक्त गर्दै पदको निरन्तरतामा जोड दिएकाले कार्यवाहक अध्यक्ष नदिने र विधानमा पनि त्यस्तो व्यवस्था नभएको बताइन् ।

उनले आगामी जेठमा नियमित राष्ट्रिय महाधिवेशन हुने र त्यसपछि नेतृत्वका बारेमा सोचिने जनाउनुभयो ।

प्याब्सनका महासचिव डिके ढुङ्गानाले पनि अध्यक्ष पोखरेल सभासद् भएपछि संस्थाको जिम्मेवारीबाट बिदा हुने अपेक्षा कतिपयले गरे पनि यही माघ २२ गतेदेखि १२ औं राष्ट्रिय महाधिवेशन हुने भएकाले नेतृत्वको निरन्तरता गरिएको बताए । दुवै संस्थाको जिल्ला अधिवेशन भइरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us