५४ शिक्षकको तलब रोक्का

काठमाण्डु टुडे २०७० माघ १० गते १०:०२ मा प्रकाशित

वीरगन्ज, १० माघ– शंकास्पद प्रमाणपत्र पेश गर्ने ५४ शिक्षक कारबाहीमा परेका छन् । शैक्षिक योग्यताको प्रमाणपत्र तथा शिक्षक अध्यापन अनुमतिपत्र शंकास्पद देखिएपछि जिल्ला शिक्षा कार्यालय पर्साले ती शिक्षकलाई कारबाही गरेको हो ।

शिक्षक नियुक्तिका बेला पेस गरेको प्रमाणपत्र नक्कली भएको शंका लागेपछि कार्यालयले त्यस्ता शिक्षकशिक्षिकालाई शैक्षिक योग्यताको प्रमाणपत्र तथा शिक्षक अध्यापन अनुमतिपत्रको सक्कलप्रति पेस गर्न पटकपटक आग्रह गरेपनि अटेर गरी प्रमाणपत्र नबुझाउनेको मंसिर र पुसको तलब रोक्का गरी कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको पर्साका जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीले बताए ।

नक्कली प्रमाणपत्र भएको शंका लाग्नेमा विशेषतः राहत, पिसिएफ, अस्थायी र सट्टा शिक्षकहरु बढी रहेको पनि उनले बताए ।

अटेर गर्ने त्यस्ता शिक्षकशिक्षिकाको कारबाहीस्वरुप पहिलो चरणमा दुई महिनाको तलब रोक्का गरिएको, आइतबारसम्ममा पनि सक्कल प्रमाणपत्र नबुझाए त्यस्ता शिक्षकशिक्षिकालाई सोमबारदेखि सम्बन्धित विद्यालयमा अध्यापन गराउन रोक लगाइने जिशिअ वस्तीले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us