महन्थको नक्कली नागरिकता

काठमाण्डु टुडे २०७० माघ १० गते ४:४६ मा प्रकाशित

जनकपुरधाम, १० माघ–धनुषाको जनकपुरस्थित रत्नसागर मठका महन्थ वैकुण्ठदास वैष्णवको नागरिकता नक्कली रहेको सार्वजनिक भएको छ ।

भारत मुजफ्फरपुर जिल्लाअन्तर्गत ग्राम मधेपुरा, पोस्ट अम्मा थाना हबौडा बस्ने राम श्रेष्ठ तिवारीका तीन छोरामध्ये वैकुण्ठदास एक हुन् । निज दासले धनुषा जिल्ला प्रशासन कार्यालयबाट २०५० साल कात्तिक १७ गते नागरिकता लिएका थिए ।

जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले वैकुण्ठदाससँग नक्कली नागरिकता रहेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयमा उजुरी गरेका छन् । वैकुण्ठ दासले गुठी संस्थान जनकपुरका प्रमुख दीपक पाण्डेसँग मिलेर छवटा मठमन्दिरको अर्बौंमूल्यको जग्गा बिक्री गरेको समेत उनले आरोप लगाएका छन् ।

महन्थ तपेश्वर दासले गुठी प्रमुख पाण्डेले आफूसँग पनि लाखौं रुपैयाँ मागेको तर नदिएपछि आफूलाई महन्थ पदबाट हटाउन षडयन्त्र गरेको आरोप समेत लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us