क्रान्ति र प्रतिक्रान्तिको प्रश्न

काठमाण्डु टुडे २०७० माघ ९ गते १३:३७ मा प्रकाशित

Gopal_Kiratiगोपाल किराती

माओवादी दृष्टिकोणमा क्रान्ति भनेको नयाँ नेपाल निर्माण गर्दै अघि बढ्नु हो भने प्रतिक्रान्ति भनेको जनयुद्ध र जनआन्दोलनका उपलब्धि धराशयी तुल्याउँदै पुरानै नेपालको राज्यप्रणाली यथावत् कायम राख्ने प्रवृत्ति हो ।

 नयाँ नेपालअन्तर्गत १२ बुँदे समझदारी, शान्ति सम्झौता र अन्तरिम संविधानले मार्गप्रशस्त गरेको वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडन अन्त्य गर्ने गरी राज्यको अग्रगामी पुनर्संरचनाको कार्यसूची पर्छ ।

मजदुर, किसान, सुकुम्बासी र युवा–विद्यार्थी तथा देशको माया गर्ने राष्ट्रिय पुँजीपतिसमेतको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ । मधेसी र जनजातिका लागि पहिचानसहितको संघीयता, समानुपातिक समावेशी र महिला, दलित, मुस्लिमको विशेषाधिकार सुनिश्चित हुनुपर्छ । सामाजिक न्यायसहितको आर्थिक क्रान्ति र त्रिदेशीय रणनीतिक साझेदारीमार्फत दुई छिमेकीलाई नेपाली सार्वभौमिकता स्वीकार गराउँदै राष्ट्रिय स्वधीनता सुदृढ गर्नु हुनेछ ।

 पुरानो नेपाल भनेको संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी एवं विशेषाधिकार र धर्मनिरपेक्षताजस्ता क्रान्तिका उपलब्धिलाई खत्तम गर्ने, खासगरी गणतन्त्रलाई जनताको गणतन्त्रको तहमा संस्थागत हुन नदिने तथा उत्पीडित वर्ग, जाति–क्षेत्र एवं महिलाको अधिकार खोस्ने प्रतिगामी हर्कत हो ।

 मुख्य र सहायक नेतृत्वको सम्बन्धको प्रश्न

माक्र्सवादी प्रस्थापनाअनुसार इतिहासको निर्माता महान् जनसमुदाय हो । यस अतिरिक्त अग्रगामी इतिहासको रचना गर्न वैज्ञानिक विचार, अग्रगामी राजनीतिक कार्यदिशा एवं त्यहीअनुकूल संगठन र नेतृत्व अपरिहार्य आवश्यक तत्त्व हो । अझ यसको अन्तर्यमा पार्टी संगठनको मुख्य र सहायक नेतृत्वको द्वन्द्वात्मक सम्बन्धले स्थितिको निर्धारण गर्ने तथ्य स्पष्ट छ ।

 द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी पद्धतिका आधारमा विश्लेषण गर्दा कार्लमाक्र्ससित फ्रेडरिक ऐंगेल्स, लेनिनसित स्टालिन, माओसित चाओ अनलाई आदि तत्कालीन सफल प्रमुख नेतासित सहायक नेताको अवश्य घनीभूत अन्तर्संघर्ष हुने गथ्र्याे । परन्तु, त्यस्तो अन्तर्संघर्षका वेला ऐंगेल्स, स्टालिन र चाओले धोबीघाट गठबन्धन गरेका थिए कि थिएनन् ? हरेक माओवादी कार्यकर्ताले यस तथ्यको वैज्ञानिक खोज अनुसन्धान गर्नैपर्ने भएको छ ।

अन्तर्विरोधको नियमानुसार रात नभए दिन हुँदैन, कालो नभए सेतो हुँदैन, मृत्यु नभए जीवन हुँदैन भन्ने संघर्ष नभए एकता पनि सम्भव हुँदैन । यो पृष्ठभूमिमा माक्र्ससित संघर्ष पर्दा ऐंगेल्सलाई पनि झोँक चल्यो होला, लेनिनसित संघर्ष पर्दा स्टालिनलाई पनि झोँक चल्यो होला । त्यस्तै, माओसित संघर्ष पर्दा चाओलाई पनि झोँक चलेकै हुनुपर्छ । तर, यी तीन महान् सहायक नेताले किन ‘धोबीघाट’ गर्नुभएन ? प्रचण्ड नेतृत्वको नेपाली क्रान्तिमा यो नै अहं प्रश्न बनिरहेको तथ्य अनुसन्धान जरुरी छ ।

 तत्कालीन नेकपा (माओवादी) र हाल एकीकृत माओवादी, जसको प्रमुख नेता प्रचण्ड हुनुहुन्छ, ले इतिहासमा खेलेको भूमिका र जिम्मेवारीका कारण उहाँलाई कार्लमाक्र्सको स्थानमा राख्नैपर्छ । सहायक स्थानमा रहेका मोहन वैद्य र बादललाई धोबीघाट गठबन्धनले बाहिर उछिट्याइदियो भने प्रचण्डसँगै रहनुभएका बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठ के ऐंगेल्स, स्टालिन र चाओको महान् भूमिकामा रहन सक्नुभएको छ ? कि उहाँहरूलाई धोबीघाट प्रकरणले बारम्बार सताउने गरेको छ ? दोस्रो संविधानसभा निर्वाचनमा नियोजित परिणामका कारण पार्टीलाई संकट परेका वेला समानुपातिक सभासद् सूचीका नाममा झन् संकट थोपरेको हेर्दा उहाँहरूलाई धोबीघाट प्रकरणले त्यस्तो ‘महान् सहायक’ बन्न दिने शेष लक्षण अनुमान गर्न कठिन अनुभव हुन्छ ।

 माक्र्स, लेनिन, माओको भूमिका खेल्ने पार्टी प्रमुखले आफूमा देखिएका कमी–कमजोरी तथा नकारात्मक सम्बन्ध हटाउँदै हठात् क्रान्तिकारी रुपान्तरणको झन्डा उठाउनै पर्छ । तर, विश्व कम्युनिस्ट आन्दोलनको अध्ययन गर्दा मुख्यत: सहायक स्थानका नेतामा बढी धैर्यशीलता, त्याग, कौशल, विश्वसनीयता र आमपरिस्थितिको सामना गर्दै प्रमुख नेतृत्वको प्रतिरक्षा गर्न सक्षम गुणको जरुरत पर्छ । तब मुख्य र सहायक नेतृत्वको अन्तर्संघर्षले सकारात्मक गतिमा अग्रगामी छलाङ उठाउँछ ।

नेपाली माओवादी आन्दोलनमा पार्टी प्रमुख स्टालिनको कमजोरीबारे मात्र समीक्षा गरिएको देखिन्छ, लेनिनकालीन सहायक स्थानका नेता स्टालिनको सबल एवं महान् भूमिकाबारे चर्चा नगर्नु यान्त्रिक शैली बन्न गएको छ । अत: स्टालिनजस्तो महान् सहायकको अभावमा लेनिन क्रान्ति जसरी सम्भव हुँदैनथ्यो, त्यसरी नै आफ्ना महान् सहायक ऐंगेल्सको धैर्यता, त्याग, कौशल एवं विश्वसनीय चारित्रिक योगदानको अभावमा कार्लमाक्र्सको वैज्ञानिक अनुसन्धानले ‘माक्र्सवाद’को सर्वोच्च स्थान किमार्थ हासिल गर्न सक्दैनथ्यो । त्यस्तै, चाओको अभावमा माओवाद पनि सम्भव थिएन । अब प्रश्न उठ्छ कि प्रचण्ड क्रान्तिका लागि त्यस्तो अपरिहार्य महान् सहायकविना सम्भव छ ? अवश्य छैन र हुँदैन ।

 अत: पहिलो विकल्प बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसमेतमा गम्भीर आत्मालोचनासहित क्रान्तिकारी रुपान्तरण जरुरी छ भने यदि यो सम्भव नदेखिए नयाँ पुस्ताबाट त्यो ‘महान् सहायक’ को तत्काल खोजी हुनुपर्छ । यसको अर्थ दक्षिणपन्थी विसर्जनवादी सोचद्वारा अर्काे पुस्तालाई जिम्मा दिने कुरा भने हुन सक्दैन ।

पुस्तान्तरण कार्य आगामी आठौँ महाधिवेशनद्वारा हुन सक्छ । बुर्जुवा नेता मन्डेलाले भनेका थिए रे– ‘विजयमा नेता पछि हट, पराजयमा नेता अघि बढ’ कम्युनिस्ट क्रान्तिकारीले नियोजित परिणामको अप्रत्याशित चुनावी धक्का सामना गर्ने सामथ्र्य प्रदर्शन गर्नु पर्दैन ? अवश्य पर्छ । त्यसैले रूपान्तरित प्रचण्डको नेतृत्वमा अघि बढ्न महान् सहायकको पल्टन खडा गर्नैपर्छ ।

 सामूहिक नेतृत्वको प्रचण्ड अभिव्यक्ति

माओवादी पार्टीमा नेतृत्व विकासको विधिबारे सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिको अभ्यास गर्ने भनिएको छ, जो जनवादी केन्द्रियताकै संगठनात्मक अभ्यासमा पर्छ । बाबुराम भट्टराईकै व्याख्याअनुसार पनि विचारको विकासको सन्दर्भमा वैज्ञानिक टोलीका जुनसुकै सदस्यले नयाँ विचार वा वस्तुको आविष्कार गरे पनि उक्त विचारको मूल अधिकारी टोली प्रमुख नै हुने गर्छ ।

यो एकदम सही हो । तर, चुनवाङ बैठकमा दस्ताबेजमार्फत अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीतिलाई ‘बाबुरामको विचार’ भनेर जसरी दुष्प्रचार गरिँदै छ, त्यसले के बाबुराम भट्टराईकै व्याख्याको उल्लंघन गरिरहेको छैन र ? अध्यक्षको त्यो प्रस्तावका कुन विचार, आयाम र शब्द कुन सदस्यका प्रस्ताव थिए ? वा हुन् ? संस्थागत निर्णयपश्चात सरोकारको विषय रहेन । चुनवाङ बैठकमा सहभागी हामी धेरैलाई ज्ञात रहेको तथ्य यो हो कि प्रचण्डले प्रस्ताव गर्नुभयो, बाबुराम र बादलले अध्यक्षको प्रस्ताव एकदम ठीक हो भनी जोडदार समर्थन गर्नुभयो ।

उदाहरणमा, पार्टीमा खसान राज्य र प्रगतिशील खसमोर्चा निर्माणबारे हामीले लामो समयदेखि संघर्ष गरिरहेका छौँ । जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत अध्यक्षको प्रस्तावअनुसार यो मत स्वीकार गरिने सम्भावना बढेको छ । यसबारे जब पार्टीले संस्थागत निर्णय गर्नेछ, त्यसपछि खसान र खसमोर्चाको विचार स्वत: पार्टीको, पार्टी प्रमुख प्रचण्डको हुनेछ । यही विधि र प्रक्रियालाई सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति मानिन्छ । अझ मूर्त गर्नुपर्दा एकीकृत माओवादीको केन्द्रीय नेतृत्व प्रणालीलाई सामूहिक नेतृत्वको प्रचण्ड अभिव्यक्ति भन्नु उपयुक्त हुनेछ ।

अन्तमा, जनयुद्ध लड्न डराएको भनेर आरोपित भए पनि नारायणकाजी श्रेष्ठ एकतापछि पार्टी नेता नै हुन् । यद्यपि, शान्ति र संविधानको कोर्समा पार्टी अघि बढेसम्म उहाँले प्रचण्डको इमानदार तथा रचनात्मक सहायक भएर भूमिका खेल्नु पर्थ्यो, धोबीघाटतिर दौडन हुँदैनथ्यो । अर्को, मुख्य र सहायक नेतृत्वको धैर्यवान्, त्यागपूर्ण र विश्वसनीय द्वन्द्वात्मक सम्बन्धको प्रश्न केन्द्रका अतिरिक्त पार्टीको स्थानीय एकाइसम्म अनुसन्धान र अभ्यास गर्नैपर्ने विषय हो । माओवादी पार्टीका अतिरिक्त यो सबै नेपाली राजनीतिक संगठनमा, अझ राज्यसत्ताका सबै तह र अंगमा अभ्यास गर्नैपर्ने विधि र सांस्कृतिक आचरण हो ।

साभार : नयाँ पत्रिका दैनिक

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us