बाबुरामलाई हरिबोलले भने, ‘पार्टी नेतृत्व मागेर पाईंदैन’

काठमाण्डु टुडे २०७० माघ ९ गते १२:२५ मा प्रकाशित

Haribol-Gajurel-baburam-bhaकाठमाण्डु, ९ माघ – एकीकृत माओवादीका पूर्व पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले तत्काल पार्टी नेतृत्व परिवर्तन नहुने बताएका छन् ।

काठमाण्डुमा जारी एमाओवादीको केन्द्रीय समितिको बैठकमा नेता गजुरेलले विश्व कम्युनिष्ट इतिहासमा कतै पनि नेतृत्व हस्तान्तरण नभएको भन्दै पार्टी भित्र पनि नेतृत्व हस्तान्तरण नहुने बताए ।

वरिष्ठ नेता डा बाबुराम भट्टराईप्रति लक्षित गर्दै नेता गजुरेलले कम्युनिष्ट पार्टीको नेतृत्व कसैले दिएर लिने भन्दा पनि संघर्ष गरेर प्राप्त हुने भएकाले संघर्ष गर्न नेताहरु तयार हुनुपर्ने बताए ।

एमाओवादीका नेता भट्टराईले पार्टीभित्र जसको नीति उसकै नेतृत्व हुनुपर्ने भन्दै नेतृत्व परिवर्तका लागि जोड दिइरहेका बेला पूर्व पोलिटब्युरो सदस्य गजुरेलको यस्तो भनाइ आएको हो ।

गजुरेलले एउटा जित वा हारले नेतृत्व परिवर्तन नहुने भन्दै नेतृत्व गर्ने व्यक्तिले स्पष्ट विचार, संगठन निर्माण र त्यसै अनुसारको नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए । यस अघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि संघर्षबाटै नेतृत्व प्राप्त गरेको भन्दै गजुरेलले अब नेतृत्व चाहनेले पनि संघर्ष गरेरै आउनुपर्ने बताए ।

बैठकमा अर्का नेता टोपबहादुर रायमाझीले तत्काल नेतृत्व परिवर्तन भन्दा पनि वर्तमान नेतृत्वलाई सुदृढिकरण गरेर अघि बढ्नुपर्नेमा जोड दिए । अहिले पार्टी निकै कमजोर भएको भन्दै रायमाझीले एकता सहितको संगठन सुदृढ बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले त्यसका लागि पार्टी नेतृत्व एक हुनुपर्ने बताए ।

बाबुरामलाई पासाङले भने, ‘तपाईंको नीति पार्टीमा कहिलेदेखि लागू भयो ?’

Pasangएमाओवादीको जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य नन्दकिशोर पुन पासाङले वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टीमा आफ्नो विचार र अर्काको नेतृत्व कायम रहेको भन्दै कार्यकर्ता र जनतामा भ्रम छरेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय समितिबाट पास भएपछि मात्रै कुनै विचार बाहिर आउने भन्दै पुनले त्यसमा सबै नेता कार्यकर्ताको उत्तिकै योगदान हुने भएकाले कसैको निजी विचार नहुने बताए ।

‘मूल नेतृत्वकै विचारमा पार्टी अघि बढेको छ, अनुचित दावी गरेर जनता र कार्यकर्तामा भ्रम फैल्याउने काम नगर्नुस्,’ भट्टराईप्रति लक्षित गर्दै पुनले भने, ‘तपाईंकै विचार हो भने प्रमाण ल्याउनुस् । होइन भने भने हामीलाई तपाईंका कुरा सैह्य हुन सक्दैन ।’ उनले पार्टीका हरेक गतिविधिमा आफूहरु पनि सँगै रहेकाले कसैले पनि भ्रम छर्न नसक्ने दावी गरे ।

उनले पहिले पार्टीले स्वतन्त्र रुपमा हरेक कुराको निर्णय गर्ने गरेपनि अहिले बाह्य प्रभावमा परेर निर्णय गर्दा त्यसको असर चुनावसम्म परेको बताए । पुनले चुनावमा पार्टीले भोगेको अनपेक्षित हारको एउटा कारण त्यो पनि भएकाले त्यसको पनि छानविन हुनुपर्ने बताए ।

माओवादी बैठकमा नेताहरु गजुरेल, पुन, रायमाझी, दिनानाथ शर्मा, चन्द्र खनाल लगायतले आफ्नो धारणा राखेका थिए । बैठक शुक्रबार पनि बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us