कहाँ चुक्यो दोस्रो संविधानसभाको पहिलो बैठक ?

काठमाण्डु टुडे २०७० माघ ८ गते १६:४० मा प्रकाशित

पहिलो संविधानसभाले चार वर्षसम्म पनि संविधान जारी गर्न नसकि अवशान भएकोले जतिसुकै आलोचित भएको भए पनि त्यसको पहिलो बैठकले गरेको एउटै निर्णय गणतन्त्रको घोषणा र कार्यान्वयनको निर्णय दूरगामी महत्वको र ऐतिहासिक थियो । त्यो एउटै निर्णयले संविधानसभा–२०६४ लाई चीरस्मरणीय बनाएको छ । त्यो निर्णयले हजारौ वर्षदेखिको राजतन्त्रात्मक शासनप्रणाली र २४० वर्षदेखिको केन्द्रीकृत शाह वंशीय राजतन्त्रको अन्त्य गरेको थियो । चार वर्षे कार्यकालमा संविधानसभाले संविधान निर्माणको करिव ८० प्रतिशत कार्य सम्पन्न गरेको थियो । कैयौं विवादका विषयलाई टुङ्ग्याएको थियो ।DSC_2723आज दोस्रो संविधानसभाको पहिलो बैठकले त्यस्तै दूरगामी र ऐतिहासिक निर्णय गर्न त संभव थिएन । तै पनि पहिलो बैठकबाट ‘अघिल्लो सभाले गरेका महत्वपूर्ण निर्णय र सहमतिलाई आफ्नो स्वमित्वमा लिएर सबै जसो राजनैतिक दलले आआफ्ना प्रतिबद्धतापत्र (घोषणापत्र) मा भने जस्तोे एक वर्षभित्रमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अग्रगामी संविधान जारी गर्ने प्रतिबद्धता जाहेर गर्ने निर्णय गरौं’ भन्ने एकीकृत नेकपा (माओवादी)को प्रस्तावमा काँग्रेसलगायतका बहुसंख्यक दलहरुले समर्थन जनाएको भए पनि नेकपा (एमाले)ले ‘यो संविधानसभा स्वयम् सार्वभौम भएकोले अघिल्लो सभाका निर्णयलाई स्वामित्वमा लिन जरुरी नभएको’ भन्दै विरोध गरेपछि संविधानसभाको पहिलो बैठक त्यो ऐतिहासिक निर्णय गर्न र एक वर्षमा दलहरुले संविधानसभाबाट संविधान जारी गर्ने छन् भन्ने विश्वास जनतामा संप्रेषण गर्न चुकेको छ ।

स्मरणीय छ यस विषयमा राप्रपा नेपालले यस अघि नै ‘अघिल्लो सभाका निर्णयलाई स्वामित्वमा लिन जरुरी नभएको’ भन्दै सार्वजनिक रुपमा आफ्नो धारणा राख्दै आएको थियो ।

यसबाट अब सभासद्हरु पहिलो सभाका सभासद् जस्तै दर्जनौं समिति र ती समितिले बनाएका सयौको संख्याका प्रश्नहरुको प्रश्नावली लिएर जिल्ला जिल्ला र निर्वाचन क्षेत्रमा मत संकलन गर्न जान्छन् कि आवश्यक परे विज्ञ विशेषज्ञको सल्लाह र परामर्श लिएर सहमत भएका विषयलाई आफ्नो स्वामित्वमा लिएर बाँकि विषयमा बहस छलफल केन्द्रीत गर्दै संविधानसभाबाट संविधान बनाउनतिर लाग्छन् ? भन्ने गंभीर प्रश्न उब्जिएको छ ।

जनता र बौद्धिक समुदायले भने राजनैतिक दलहरु र तिनका नेता एवम् सभासद्प्रति खबरदारी गर्न थालिसकेका छन्, उल्टो दिन गन्ति शुरु भइसकेको छ । पत्रपत्रिकाहरुले ३६४ दिन बाँकीको सम्पादकीय टिप्पणी र समाचार लेख्न थालिसकेका छन् । यो घच्घच्याई र खबरदारीबाट के हाम्रा राजनैतिक दल, तिनका नेता र सभासद्हरु गंभीर होलान् ? पौडेल संबिधानसभाका सदस्य हुन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us