डिन शर्मा प्रहरीको निगरानीमा !

काठमाण्डु टुडे २०७० माघ ८ गते ३:०१ मा प्रकाशित

Dr-Shashi-Sharmaकाठमाण्डु, ८ माघ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरीले चिकित्साशास्त्र अध्ययन संस्थानका डिन शशि शर्मालाई निगरानीमा राख्न निर्देशन दिएको खुलासा भएको छ। विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोपाल भण्डारीले आइतबार त्यहाँका प्रहरी र अध्यागमन डेस्कका कर्मचारीलाई शर्मामाथि निगरानी राख्न निर्देशन दिएका थिए।

यस्तो आदेश किन दिइयो भन्ने अन्योल रहेकै अवस्थामा अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेलले हस्तक्षेप गरेको स्रोतले बतायो। स्रोतले भन्यो, ‘त्रिवि अध्यागमनमा भएको १५ वटै डेस्कमा गएर शर्माको नाम ख्याल गर्न भनिएको थियो ।’

प्रहरीले डिनबारे जानकारी दिएपछि अध्यागमनका सबै डेस्कका कर्मचारीले निबिर्सियोस् भनेर आफ्नो टेबुलअगाडि शर्माको नाम लेखेर राखेका थिए।

अध्यागमन विभागले भने हचुवाका भरमा शर्मालाई निगरानीमा राखेको भन्दै तत्काल हटाउन निर्देशन दिएको छ। विभागका महानिर्देशक पौडेलले आधिकारिक निर्णय र पत्रबिना कुनै व्यक्तिलाई निगरानी राख्नु भन्नु गैरकानुनी भएको बताए। ‘कुनै सरकारी निकायले शर्मालाई निगरानीमा राख्ने निर्णय गरेको हामीलाई थाहा छैन’, उनले भने, ‘हचुवाका भरमा आएको मौखिक निर्देशनलाई मैले हटाउनु भनेको हुँ।’

प्रहरी मुख्यालय पनि शर्मामाथि विमानस्थलमा निगरानीमा राखिएको बारे बेखबर छ। प्रहरी प्रवक्ता गणेश केसीले शर्मामाथि निगरानी राख्न कतै पनि निर्देशन नदिएको बताए।

डीआईजी भण्डारीले भने आफूले त्यस्तो कुनै निर्देशन नदिएको दाबी गरे। उनले भने, ‘कतैबाट लिखित छैन, मैले निर्देशन जारी गर्न मिल्दैन।’ तर महानिर्देशक पौडेलको निर्देशनपछि सोमबारदेखि शर्मामाथि निगरानी राख्ने मौखिक आदेश सकिएको अध्यागमनका एक कर्मचारीले बताए। विमानस्थलमा कुनै पनि व्यक्तिलाई निगरानीमा राख्ने निर्णय हुनुपूर्व अध्यागमन विभागको सहमति आवश्यक हुन्छ। – अन्नपूर्ण पोष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us