कालोपत्रेपछि राजधानीका सडकको मुहार फेरियो

काठमाण्डु टुडे २०७० माघ ४ गते ७:१२ मा प्रकाशित

काठमाण्डु, ४ माघ – काठमाण्डु उपत्यकामा विस्तारित  सडकमा कालोपत्रे गरिएपछि त्यस क्षेत्रको चोला नै बदलिएको छ ।

मुलुकको राजधानीमात्र नभई ऐतिहासिक महत्व बोकेको काठमाण्डु उपत्यकामा रहेका साँघुरा र अस्तव्यस्त सडक विस्तार गरी कालोपत्रे गरिसकेको क्षेत्रमा कायापलट नै भएको सरकारी पक्षको दाबी रहेको छ ।

काठमाण्डु उपत्यकामा विस्तारित सडकको काम दुई वर्षदेखि चलिरहेको छ । उपत्यकामा सडक विस्तारका लागि हात हालिएको १२९ किलो मिटरमध्ये पुस मसान्तसम्ममा ४२ किमि सडक कालोपत्रे गरिसकिएको छ ।

सडक विस्तारका लागि जुटेको सबै निकायको कागजातको आधारमा आगामी चैत मसान्तसम्ममा ९० किलोमिटर सडक कालोपत्रे हुने तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको अन्तसम्ममा १११ किलोमिटर सडक कालोपत्रे भइसक्ने सरकारी पक्षको भनाइ छ । अहिले कामका लागि हात हालेको १२९ किमिमध्ये १८ किमि सडक आगामी आर्थिक वर्षमा काम हुने गरी योजना सारिएको छ ।

उपत्यकामा विस्तारका क्रममा रहेका केही सडकलाई मोटामोटी रुपमा नियाल्दा खासगरी लैनचौरबाट बूढानीलकण्ठको नौ किमिमध्ये लैनचौरदेखि पानीपोखरीसम्मको क्षेत्रमा कालोपत्रे गर्नका लागि तयारी अवस्थामा पुर्याइएको छ । त्यस क्षेत्रमा कालोपत्रेका लागि आवश्यक सामग्री झारिसकिएको र उपकरणहरुसमेत तयारी अवस्थामा रहेको बताइएको छ ।

पानीपोखरीबाट महाराजगन्जसम्मको सडक किनारमा विद्युत् प्राधिकरणले आफ्ना सेवाहरुलाई भूमिगत बनाउने कामलाई तीव्र बनाइरहेको देखिएको छ । जुन जुन ठाउँमा जतिजति काम सकिँदै जान्छ त्यो ठाउँमा कालोपत्रे गर्दै लैजान सरकारले सडक विभाग, काठमाण्डु उपत्यका प्राधिकरण र महानगरपालिकालाई निर्देशन दिँदै आएको छ ।

लैनचौरदेखि बूढानीलकण्ठसम्मको पूरै खण्ड आगामी चैत मसान्तभित्र कालोपत्रे भइसक्ने बताइएको छ । त्यसैगरी बालुवाटार, भगवतीबहाल, टङ्गाल, भाटभटेनी, नक्साललगायतका क्षेत्रमा सडक कालोपत्रे भइसकेपछि काठमाडौँको चोला नै बदलिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले त्यस क्षेत्रको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीलाई बताए ।

सडक विस्तारसँगसँगै सम्बन्धित क्षेत्रमा पुल निर्माणको कार्यलाई समेत अत्यन्त प्राथमिकतासाथ अघि बढाइन लागेको उनले जानकारी दिए ।

सो क्रममा माइतीघरदेखि तीनकुनेसम्म धोवीखोला र बागमतीमा बनाउनुपर्ने पुल निर्माणको काम छिट्टै सुरु हुने र भइरहेका पुलहरुको दायाँबायाँ दुई–दुई लेनका नयाँ पुलहरु बनाइने गरी योजना तर्जुमा गरिसकिएको पनि सचिव बाँस्कोटाले बताए ।

त्यसैगरी काठमाण्डु उपत्यकालाई हरियाली बनाउने योजनाअनुरुप तीनकुने–माइतीघर खण्डका मूल सडकको दायाँबायाँ बगैँचायुक्त हरियाली बनाउन वृक्षरोपण गर्ने काम आगामी चैतभित्रै पूरा गरिने लक्ष्य छ ।

सडक विस्तारका क्रममा आइपर्ने समस्यालाई समयमै निराकरण गरी आवश्यक निर्देशन दिन सचिव बाँस्कोटाको नेतृत्वमा रहने गरी भौतिक पूर्वाधार योजना तथा यातायात व्यवस्था, ऊर्जा, सञ्चार मन्त्रालयका सचिव र राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख रहेको उच्चस्तरीय टोलीले प्रत्येक साता स्थलगत निरीक्षण गर्दैै आएको छ ।

यसै क्रममा सो टोलीले शनिबार पनि उपत्यकाका विभिन्न क्षेत्रमा पुगेर सडक विस्तारको कामको आवश्यक जानकारी लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us