मानव बेचबिखन सभ्यताकै चुनौति : रेग्मी

काठमाण्डु टुडे २०७० माघ ३ गते ८:०० मा प्रकाशित

khilraj regmiकाठमाण्डु, ३ माघ – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मानव बेचबिखनको सभ्यता र सभ्य समाजको लागि ठूलो चुनौति भएको बताएका छन् ।

एसियाली मुलुकका संसदीय दलहरुको संस्था (आइक्याप) को आयोजनामा मानव बेचबिखनसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै रेग्मीले मानव बेचविखान नियन्त्रण गर्न अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय रुपमा भएका घोषणा तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कानुन कार्यान्वयनका संयन्त्रहरु मजबुत बनाएर मानव बेचबिखन नियन्त्रणका काममा केन्द्रित हुनुुपर्ने उनको भनाई छ । रेग्मीले राष्ट्रिय रुपमा पनि कानुन मात्रै नभएर जनचेतनामूलक, उपचारात्मक र प्रतिरोधात्मक विधि अपनाउनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा प्रधानले मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुबीच साझेदारिता र समन्वय गरी नियन्त्रणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने जोड दिए ।

कार्यशालालाई चार वटा सत्रमा विभाजन गरी मानव बेचबिखनसम्बन्धी समस्या न्यून गर्ने सम्बन्धमा विभिन्न पाटो र कोणबाट छलफल गरिने छ ।

मानव बेचबिखन समस्याको गम्भीरता र यसको नियन्त्रणको अपरिहार्यताबारे जनचेतना अभिवृद्धि गर्ने, अन्तर्राष्ट्रिय सहयोगको कार्यसञ्जालसम्बन्धी नक्साङ्कन गर्ने, दु्रत दण्ड पद्धतिको स्थापना गर्ने तथा  मानव बेचबिखनसम्बन्धी घोषणापत्र जारी गर्ने विषयमा केन्द्रित रहेर यस क्षेत्रका राजनीतिक दलका प्रतिनिधि र सरोकार निकायका पदाधिकारीले यस सम्मेलनमा छलफल गर्नेछन् ।

आइक्यापमा ५० भन्दा बढी एसियाली मुलुकका ३८० राजनीतिक दल आबद्ध रहेका छन् । एसियाका विभिन्न मुलुकमा विभिन्न सिद्धान्त बोकेका राजनीतिक दल र मुलुकबीच आपसी सहयोगको आदान प्रदान, समझदारी र विश्वास वृद्धि गर्ने उद्देश्यका साथ आइक्यापको अवधारणा ल्याइएको हो ।

राजनीतिक दलको अनुपम भूमिका र सार्थक प्रयासबाट एसियामा क्षेत्रीय सहयोग प्रवद्र्धन गर्न आइक्यापले महत्वपूर्ण कार्य गर्नाका साथै स्थापनाको समयदेखि नै सदस्यता तथा प्रभावकारिता बढाउन विशेष रुपले काम गर्दैआएको छ ।

आइक्यापले मानव बेचबिखनका अतिरिक्त राजनीतिक भ्रष्टाचार नियन्त्रण, राष्ट्रसङ्घीय सहस्राब्दी विकास लक्ष्य र गरिबी नियन्त्रण, प्राकृतिक प्रकोप नियन्त्रण, वातावरण संरक्षण, विकासमा जनताको पहुँच, हरित क्षेत्रको विकास, सुन्दर एसियाको निर्माण र महिला सशक्तीकरण जस्ता विषयमा यस अघि सम्मेलन र कार्यशालाको आयोजना गरिसकेको छ ।

दक्षिण एसियामा मानव बेचबिखनको समस्या उच्च रहेको परिप्रेक्ष्यमा आइक्यापले यससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना गरेको हो । सम्मेलनमा विभिन्न देशका प्रतिनिधिले मानव बेचबिखनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us