हिंसापिडीत खातुन भइन् सभासद्

काठमाण्डु टुडे २०७० पुष २६ गते ३:३९ मा प्रकाशित

धनी, प्रभावशाली व्यक्तिहरू सभासद् बनेको चर्चा चलिरहँदा बाँकेबाट भने घरेलु हिंसापीडित मुस्लिम महिला सभासद् बन्न सफल भएकी छन्। नेपाली कांग्रेसले समानुपातिकतर्फबाट सभासद् बनाएकी सर्वतारा खातुन घरेलु हिंसापीडित महिला हुन्। न उनको पहुँच माथिल्लो तहसम्म छ न त प्रभाव नै।

नेपालगन्ज १४ की ५० वर्षीया खातुनसँग दाइजो थोरै ल्याएको भन्दै पतिले विवाह भएको डेढ वर्षपछि सम्बन्ध विछेद गरेका थिए। २०२१ सालमा जन्मिएकी खातुनको १६ वर्षको उमेरमा विवाह भएको थियो।

दाइजोको निहुँमा खातुनले पति तथा परिवारबाट लगातार यातना पाइन्। ‘बुबा प्राथमिक विद्यालयको शिक्षक हुनुहुथ्यो। उहाँले आफूले सक्दो दाइजो दिनुभएको थियो तर पनि मलाई यातना दिइराखियो’, खातुनले विगत सम्झँदै भनिन्, ‘छोरो गर्भमा हुँदा माइतीलाई भेट्न पनि दिएनन्। मलाई यताना दिनुको मुख्य कारण नै दाइजो थियो।’

छोरोसमेत खोसेर सुत्केरी भएको तीन महिनामा नै खातुनलाई तलाक दिइएको थियो। खातुनलाई उनका पतिले मुस्लिम धर्मअनुसार तीनपटक तलाक भनेर छोडपत्र गरेका थिए। ‘छोरा जन्मिएपछि पतिकी दिदीका छोरा छैनन् भनेर उनलाई दिन लगाइयो अनि मसँग छोडपत्र गरियो’, खातुनले भनिन्।

तलाक भएपछि खातुन माइतीमा नै बस्दै आएकी छन्। दोस्रो विवाह गर्न कानुनी झमेलाको डरले तलाक भएको पाँच वर्षपछि खातुनसँग पतिले मिलापत्र गरे। ‘म पूरै जिम्मेवारी लिन्छु भने तर त्यो ५/६ महिना पनि टिकेन’, उनले भनिन्। छोराको विवाहमा समेत नबोलाएकोमा चाहिँ आफूलाई सबैभन्दा दु:ख लागेको उनको भनाइ छ।

छोराको विवाहको कार्डमा मेरो नामसमेत थिएन, सौताको नामचाहिँ थियो। मलाई सबैभन्दा दु:ख लागेको दिन नै त्यही हो’, खातुनले भनिन्, ‘शारीरिक यातनाभन्दा मानसिक यातना अझ पीडादायक हुँदोरहेछ।’

खातुनले सभासद् बन्न कुनै जोड लगाउनु परेन। सूचीमा पर्न खातुन न त काठमाडौं गइन् न त कसैलाई दबाब दिइन्। ‘मलाई त आसै थिएन, सूचीमा परें, त्यही ठूलो कुरा हो भन्दै थिएँ। छानिएको खबर पाएँ’, खातुनले भनिन्। २०४८ सालदेखि कांग्रेस पाटॢमा आबद्ध उनी पतिसँग सम्बन्धीवच्छेदपछि समाजसेवामा लागेकी हुन्।

शिक्षित परिवारमा जन्मिएकी खातुनले समाजसँग लुकेर प्रमाणपत्र तहसम्म अध्ययन गरेकी छन्। ‘हाम्रो समाजमा छोरी पढाउने चलन अहिले त छैन, मेरो पालामा त छोरीलाई पढायो भने बुबाआमालाई नै सजाय हुन्थ्यो। तर बुबाले मलाई पढ्न सहयोग गर्नुभयो। बजार गएको बहानामा रुपैडिया गएर मैले बी लेबल र प्रमाणपत्र तहसम्म पढेकी हुँ’, खातुनले भनिन्।

आत्मनिर्भर नहुँदा अत्याचार सहनुपरेको महसुस गरी महिलालाई आत्मनिर्भर बनाउने काम लागेकी छन् अहिले खातुन। मुस्लिम महिलाको शिक्षा र आत्मानिर्भरताका लागि संविधानसभामा आवाज उठाउने उनले बताइन्।  – अन्नपूर्ण पोष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us