काठमाण्डुको यौनबजार अनियन्त्रित रूपमा बढ्दै

काठमाण्डु टुडे २०७० पुष २६ गते २:१३ मा प्रकाशित

sex-tradeकाठमाण्डुमा बाहिर नदेखिने गरी भित्रभित्र अनियन्त्रित रूपमा फैलिइरहेको छ, यौनबजार । नेपालमा वेश्यावृत्तिलाई कानुनी मान्यता नदिइएको भए पनि यो धन्दामा प्रत्येक महिनामा अर्बौं लेनदेन हुन्छ । यही भएर होला, नेपालमा पनि रेडलाइट एरिया तोकी यो व्यवसायलाई कानुनी दायरामा ल्याउनुपर्ने आवाज वेलाबखत सुनिने गरेको छ ।

पर्यटन व्यवसायीको भनाइलाई पत्याउने हो भने, प्रत्येक महिना काठमाण्डुमा ८५ करोड ७२ लाख ५० हजार रुपैयाँको यौन व्यापार हुन्छ । यो आँकडा काठमाण्डुमा सञ्चालित मनोरञ्जन क्षेत्र र गेस्ट हाउसको मात्रै हो । मनोरञ्जन क्षेत्रअन्तर्गत डान्सबार, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्को आदि पर्छन् भने गेस्ट हाउसअन्तर्गत राजधानीका तारेहोटलबाहेक बस्ने प्रबन्ध भएका होटल पर्छन् ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष समीर गुरुङका अनुसार काठमाण्डुमा सञ्चालित मनोरञ्जन क्षेत्रमा ६० हजारजनाले प्रत्यक्ष रोजगार पाएका छन् । त्यसमध्ये ७५ प्रतिशत कामदार महिला छन् भने त्यसको २५ प्रतिशत महिला यौन व्यवसायमा संलग्न छन् । उनले भने, ‘रात्रिकालीन व्यवसाय भनौँ या मनोरञ्जन क्षेत्र । ६० हजारले प्रत्यक्ष रोजगार पाएको हामीसँग तथ्यांक छ । त्यसमध्ये धेरै महिला छन् । उनीहरू क्लिनर, वेटर, क्याप्टेन, गायिका, मसाजकर्तालगायत विभिन्न काममा आबद्ध छन् ।’

परिषद्का उपाध्यक्ष गुरुङको भनाइलाई आधार मान्दा काठमाण्डुमा सञ्चालित मनोरञ्जन क्षेत्रमा मात्रै ४५ हजार महिला विभिन्न काममा संलग्न छन् । उनीहरू मध्ये २५ प्रतिशत महिला यौन व्यवसायमा संलग्न हुन्छन् भन्ने गुरुङको भनाइअनुसार त्यो संख्या ११ हजार दुई सय ५० हुन आउँछ । गेस्ट हाउसले भाडा र युवतीले एकपटक सेवा दिएबापत न्यूनतम १५ सय रुपैयाँ लिन्छ । यस आधारमा प्रत्येक रात मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूबाट मात्रै एक करोड ६८ लाख ७५ हजार रुपैयाँ व्यापार हुने देखिन्छ । यस आधारमा हेर्दा प्रत्येक महिना यस क्षेत्रमा न्यूनतम ५० करोड ६२ लाख ५० हजार रुपैयाँको कारोबार हुन्छ ।

कहाँ–कहाँ हुन्छ यौन व्यापार


लुकिछिपी नै किन नहोस् यस क्षेत्र प्रत्येक महिना हुने यौन व्यापारको परिणाम निकै ठूलो भएको परिषद्का उपाध्यक्ष गुरुङ बताउँछन् । उनले भने, ‘युवतीले सेवा दिएबापत न्यूनतम दरको हिसाबले मात्रै प्रत्येक महिना ५० करोड हाराहारीको व्यापार देखिन्छ । तर, यो परिणाम अझ बढ्ने देखिन्छ । किनकि, कुनै युवती होल–नाइटका लागि रिजर्भ हुन सक्छिन् । त्यसवेला उनले लिने रेट भनेको चारदेखि पाँच हजार रुपैयाँ हो । त्यसैले यसको कारोबार ठूलो देखिन्छ । तर, सम्बन्धित निकायले यसको महत्त्व बुझेको देखिँदैन ।’

काठमाण्डुमा यौन व्यापार हुने अर्को मुख्य थलो हो— गेस्ट हाउस । काठमाण्डुमा गेस्ट हाउसका दुईवटा संगठन छन् । त्यसमध्ये नेपाली होटल व्यवसायी संघअन्तर्गत तीन सय ५० आबद्ध छन् भनेकाठमाण्डु होटल व्यवसायी संघअन्तर्गत तीन सय वटा । दुवै संगठनमा आबद्ध ६ सय ५० वटा गेस्ट हाउस छन्, काठमाण्डुमा ।

काठमाण्डु होटल व्यवसायी संघका पूर्वअध्यक्ष छत्र बस्नेतका अनुसार राजधानीका ४० प्रतिशत गेस्ट हाउसमा यौनको व्यवसाय हुन्छ । यस आधारमा काठमाण्डुमा मात्रै यौन व्यवसाय हुने गरेको गेस्ट हाउसको संख्या दुई सय ६० पुग्छ । परिषद्का उपाध्यक्ष गुरुङका अनुसार व्यवसाय गर्ने गेस्ट हाउसले १० देखि १५ जना युवती राख्ने गर्छन् । न्यूनतमलाई आधार मान्दा गेस्ट हाउसमा मात्रै यौन व्यवसायमा दुई हजार ६ सय युवती संलग्न छन् ।

एक युवतीले २४ घन्टामा तीनदेखि पाँचजना ग्राहकलाई सेवा दिन सक्छिन् भने एकपटक सेवा दिएबापतको शुल्क एक हजार पाँच सय रुपैयाँ हो । यस आधारमा प्रत्येक रातमा एक करोड १७ लाखको कारोबार हुन्छ । यसर्थ, एकै महिनामा गेस्ट हाउसमा मात्रै ३५ करोड १० लाख रुपैयाँको आर्थिक कारोबार हुुने गर्छ ।

नेपाली होटल व्यवसायी संघका अध्यक्ष शेरबहादुर थापाले गेस्ट हाउसलाई यौनको अखडाको रूपमा लिन नहुने बताए पनि यहाँ हुने ठूलो परिणामको कारोबारको तथ्यलाई स्विकार्छन् । उनले भने, ‘गेस्ट हाउसलाई यौन व्यापारको अखडाका रूपमा लिनुहुन्न । तर, यहाँ व्यवसाय नै हुँदैन भन्नेचाहिँ होइन । विशेष गरी मध्यमवर्गीय ग्राहक यहाँ आउने गर्छन् । त्यसैले तारेहोटलमा पनि व्यवसाय नहुने भन्ने होइन । उच्च वर्गका त तारेहोटलमै गइहाल्छन नि ।’

काठमाण्डु होटल व्यवसायी संघका अध्यक्ष शैलेश कार्की भने यस विषयमा खुल्न चाहँदैनन् । तर, गेस्ट हाउसमा यौन व्यवसाय हुने विषयमा भने उनी सहमत छन् । उनले भने, ‘व्यवसाय नहुने भन्ने होइन । यसको परिणाम पनि ठूलै होला । यसका आधिकारिक धारणा भने छलफल पछि नै सेयर गरौँला ।’

कसको कमाइ कति ?

यौन व्यापारमा सबैभन्दा धेरै कमाउने सञ्चालक नै हुन् । त्यसपछिको कमाइ प्रहरीमा जान्छ । अनि मात्रै व्यवसायमा संलग्न महिलाको पालो आउँछ ।

परिषद्का उपाध्यक्ष गुरुङ यौन व्यवसायमा संलग्न हुने महिलाले जम्मा कमाइको २५ प्रतिशतमात्रै पाउने बताउँछन् । यस आधारमा एकपटक सेवाबापत लिइने एक हजार पाँच सय रुपैयाँबाट एक युवतीले तीन सय ७५ रुपैयाँमात्रै पाउँछिन् । गेस्ट हाउसमा बस्ने युवतीले दिनमा तीनजनालाई सेवा दिए एक हजार एक सय २५ रुपैयाँ कमाउन सक्छिन् । यस आधारमा एक महिलाले महिनाभर व्यस्त रहे एक महिनामा ३३ हजार सात सय ५० रुपैयाँ कमाउन सक्छिन् ।

त्योभन्दा धेरै प्रहरीले कमाउँछन् । उपाध्यक्ष गुरुङ डान्सबारबाट मात्रै प्रहरीले प्रत्येक महिना लाखौँ उठाउने बताउँछन् । उनी भन्छन्, ‘हाम्रो तथ्यांकमा डान्सबार मात्रै दुई सयवटा छन् । प्रत्येक बारबाट प्रहरी इन्चार्जले न्यूनतम प्रतिमहिना पाँच हजार रुपैयाँ उठाउँछन् । सईको भागमा दुई हजार पाँच सय रुपैयाँ पर्छ । असईले एक हजार पाँच सय उठाउँछन् भने सिपाही, हवल्दारले एक हजार रुपैयाँ उठाउँछन् । यस आधारमा दुई सय डान्सबारले इन्चार्जदेखि सिपाहीसम्म एक–एकजनालाई मात्रै रकम दिँदा पनि प्रतिमहिना २२ लाख रुपैयाँ हुन्छ ।’

प्रहरीले गेस्ट हाउस, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्कोबाट उठाउने रकमको दर फरक छ । उपाध्यक्ष गुरुङका अनुसार प्रहरीका इन्चार्जले उठाउने रकमको दर क्याबिन, मसाज तथा गेस्ट हाउसमा धेरै छ । उनले भने, ‘डान्सबार एउटा सूचकमात्रै हो । त्यसबाहेकका स्थानमा प्रहरीले धेरै रकम उठाउँछ । यस आधारमा मनोरञ्जन क्षेत्रबाट प्रहरीले निकै ठूलो कमाइ गर्छ ।’ त्यसबाहेकको रकम सञ्चालकको हात पर्छ ।

व्यवस्थित गर्न आवश्यक 


तत्कालीन पर्यटनमन्त्री शरतसिंह भण्डारीले यौन व्यवसायलाई व्यवस्थित गर्न ‘रेडलाइट एरिया’ तोक्नुको विकल्प छैन भन्दा महिला अधिकारकर्मीको चर्को आलोचना खेपेका थिए । लुकिछिपी हुने यौन व्यापारप्रति महिनामै अर्बको हाराहारीमा हुने देखिएपछि व्यवसायीहरू पनि मन्त्री भण्डारीकै भनाइको पक्षमा उभिएका छन् ।

परिषद् उपाध्यक्ष गुरुङ यो व्यवसायलाई व्यवस्थित गर्नुको विकल्प नरहेको बताउँछन् । उनी भन्छन्, ‘यसलाई चाहेर पनि रोक्न सक्ने अवस्था छैन । यसलाई व्यवस्थित गर्न सके सरकारले प्रतिमहिना करोडौँ रुपैयाँ आम्दानी गर्न सक्छ । यसो हुँदा कमिसनका रूपमा प्रहरीलाई दिने रकम रोकिन्छ । व्यवसायमा संलग्न हुने महिलासमेत सुरक्षित हुने अवस्था बन्छ ।’

काठमाण्डु होटल व्यवसायी संघका पूर्वअध्यक्ष छत्र बस्नेत पनि यो व्यवसायलाई व्यवस्थित गर्न सके राज्यको प्रमुख आम्दानीको स्रोत हुने बताउँछन् । उनी भन्छन्, ‘यौन पर्यटकका रूपमा नेपाली बैंकक जाने गरेको उदाहरण हामीसँग छ । नेपालमै यसलाई व्यवस्थित गर्न सके त्यो रोकिन्छ । राज्यले पनि ठूलो धन राशि आम्दानी गर्न सक्छ ।’

– नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us