
काठमाण्डु, २५ पुस-कांग्रेसमा प्रधानमन्त्रीका लागि सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले औपचारिक दाबी गरेका छन् । कोइरालाले आफ्नै निवास महाराजगन्जमा बुधबार डाकेको तीन शीर्ष नेताको बैठकमा कोइराला र पौडेल दुवैले प्रधानमन्त्री दाबी गरेका हुन्।
बैठकमा सहभागी वरिष्ठ नेता शेरबहादुर देउवाले भने प्रधानमन्त्रीमा दाबी गरेनन्। कोइरालाले आफ्नो पक्षमा सर्वसम्मत गराउने उद्देश्यले बैठक डाके पनि पौडेलले दाबी गरेपछि सहमति हुन सकेन। कोइरालाले भावी प्रधानमन्त्रीका लागि संसदीय दलको नेतामा सर्वसम्मत गराउन देउवा र पौडेललाई छलफलका लागि निवासमा बोलाएका थिए।
यसअघि सोमबार कोइरालाले देउवा र पौडेललाई छुट्टाछुट्टै बोलाएर प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गर्दा दुवैजनाले जवाफ दिएका थिएनन्।
कोइरालाले बुधबार संसदीय दलको नेता चयन सर्वसम्मत रूपमा गर्नुपर्ने भन्दै आफूलाई सहयोग गर्न दुई नेतासमक्ष औपचारिक प्रस्ताव गरेका थिए। पौडेलले यसअघि पार्टीका नाममा आफू १७ पटकसम्म प्रधानमन्त्रीका लागि चुनाव लडेकाले पनि यसपटक सर्वसम्मत रूपमा पाउनुपर्ने दाबी गरेका थिए।
देउवाले भने प्रधानमन्त्रीभन्दा कार्यवाहक सभापति बन्ने इच्छा देखाएका छन्। दुवै नेताले प्रधानमन्त्रीमा दाबी गरेपछि देउवाले पछि छलफल गरेर सहमति कायम गर्नुपर्ने धारणा राखेका थिए। कोइरालाले प्रधानमन्त्री हुने इच्छा देखाए पार्टीको जिम्मेवारी लिएर उनलाई सहयोग गर्ने मनस्थितिमा देउवा देखिएका छन्। ‘बैठकमा सभापति र उपसभापति दुवैले प्रधानमन्त्रीको दाबी गर्नुभएको छ’, कोइराला निकट उच्च स्रोतले भन्यो, ‘शेरबहादुरजीले भने केही नबोली पछि छलफल गरौंला भन्नुभयो।’
कांग्रेस विधानमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने व्यवस्था छ। यसअघिको संविधानसभामा भने कांग्रेस केन्द्रीय समितिले सहमतीय प्रधानमन्त्रीमा संसदीय दलका नेता नभए पनि वरिष्ठ नेता देउवालाई र बहुमतीय प्रधानमन्त्रीमा दलका नेता पौडेललाई बनाउने निर्णय गरेको थियो।
समानुपातिक सभासद् चयन गर्दा कोइराला र देउवाले ६० र ४० प्रतिशतको अनुपातमा भागबन्डा गरेका थिए। संसदीय दलभित्र कोइराला स्पष्ट बहुमतमा छन्। पौडेलको पक्षमा भने संसदीय दलभित्र न्यून सदस्य रहेकाले उनलाई दलको नेता बन्न कोइराला वा देउवामध्ये एउटा समूहले समर्थन गर्नैपर्ने हुन्छ।
कोइराला भने पार्टीभित्र कुनै लेनदेनबिनै प्रधानमन्त्री बन्ने रणनीतिमा छन्। अप्ठ्यारो अवस्था आएमात्रै कार्यवाहक सभापति दिएर आफू प्रधानमन्त्री बन्ने उनको योजना रहेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।