उखुखेती नै छाड्न थाले किसानले

काठमाण्डु टुडे २०७० पुष २५ गते २:०९ मा प्रकाशित

परासी, २५ पुस–नवलपरासीका उखु किसानले उखुखेतीबाट विभिन्न समस्या देखिएपछि विकल्प खोज्न थालेका छन् । वर्षौंदेखि उखुखेती गर्दै आएका नवलपरासीका किसानले उखुको मूल्य समयमा नतोकिने, समयमा भुक्तानी नपाउने, मलखाद नपाउने र उखु विकासका लागि सरकारले कुनै सहुलियत प्रदान नगरेपछि उखुखेती छाडेर वैकल्पिक खेती थालेका हुन् ।

उखु बाली लगाउँदा उखुको उब्जनी वर्षमा एकपटक हुने र चिनी मिलहरुले उखु लिएर पनि एक वर्षसम्म उखुको भुक्तानी नपाउने जस्ता समस्याका कारण वैकल्पिक पेसा थाल्न उनीहरु बाध्य भएका हुन् । नवलपरासीको कुडिया, पक्लिहवा, नसही, गुठीसूर्यपुरा, गुठीपर्सौनी लगायतका दर्जन गाविसका स्थानीयवासीले उखुको वैकल्पिक पेसामा केराखेती गर्न थालेका छन् ।

जिल्लाको गुठीपर्सौनी गाविसका कमलेस गुप्ताले करिब आठ वर्षदेखि उखुखेती गर्दै आएकामा अहिले आफ्नो आठ बिघा जग्गामा केराखेती गरेर प्रशस्त आम्दानी भएको बताए । नवलपरासीका चिनी मिलहरुले पछिल्लो समयमा कहिले चिनी बिक्री भएन, कहिले भाउ भएन भन्दै आएकामा अहिले आएर राजनीतिक दलका नेता र समितिलाई चन्दासमेत दिनु परेका कारण उखुको भाउ दिन नसकेको गुप्ताको भनाइ छ ।

नवलपरासीमा करिब १० हजार परिवारले उखुखेती गर्दै आएका छन् भने बर्सेनि करिब २५ देखि ३० लाख क्विन्टल उखु उत्पादन हँुदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

सरकारले उखुको मूल्य नतोकेपछि किसानले चिनी मिलसँग लिएको उखुको पूर्जीसमेत चिनी मिलसँग मिलेर दलालहरुले प्रति क्विन्टल ३ सय २० रुपैयाँमा खरिद गर्ने गरेको प्रतापपुर गाविसका सुरेश मिश्रले बताए । चिनी मिलहरुले उखुको मूल्य कायम नगरेपछि भेली उद्योगलाई प्रति क्विन्टल ३ सय ३० रुपैयाँमा उखु दिन बाध्य भएका छन् । सरकारले उखुको मूल्य गत वर्ष नै प्रति क्विन्टल ४ सय ८१ रुपैयाँ तोकेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us