युवाहरु रोजगारी खोज्न हिँडेपछि गाउँ सुनसान

काठमाण्डु टुडे २०७० पुष २३ गते ११:२५ मा प्रकाशित

Villageनिमेन्द्र शाही/बाजुरा, २३ पुस– ‘एक डल्लो तमाखु लैजाउँ डाँडापरी खाया, दिन गर्नुकी मैना गर्नु छाँटा फर्की आया ।’ यो सुदूर तथा मध्यपश्चिमका गाउँमा गाइने देउडा गीतको एक अन्तरा हो ।

जहाँका पुरुषहरू काम खेज्न विदेश जाँन्छन् र गाउँमा आफ्ना परिवारलाई छोडेर जाँदा लोग्नेलाई बिदाइको बेला श्रीमतीले भनेको गीत हो । यतिबेला बाजुरा जिल्लाका ग्रामीण बस्ती सुनसान बनेका छन् । बाजुरालगायतका सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बस्ती खाली बनिरहेका छन् ।

यहाँका युवा र काम गर्नसक्ने जनशक्ति कामको खोजीमा भारत र खाडी मुलुकमा कामको खोजीमा जाने गरेका छन् । संविधानसभाको चुनाव पछि विदेशिनेको सङ्ख्या बढेको छ । यसले गर्दा विकासका योजनामा समेत कामदार पाउन समस्या रहेको छ । कोटिला गाउँ विकास समिति कालसेल गाउँका मनलाल विक यति बेला खेतीपातीको काम सकेर भारत जाने बाटो तताइरहेका छन् ।

उनलाई भारत किन जान लागेको भन्दा उनले भने ‘छोराछोरी छोडिकन भारत बाइजाँन्याहु, गाउँ घरमा रोजगारी छैन परदेशी हुन्या हुँ ।’

हुम्ला जिल्ला कालिका ८ का नरबहादुर शाही एक १० जनाको टोलीसँगै कामको खोजीमा भारत जानका लागि बाजुरा र हुम्लाको सिमाना कवाडीमा पुगेका छन् । उनले भारत जानुको बाध्यता यसरी भने ‘राज्यले काम दिन सकेन घरमा बसेर केही गर्न सकिँदैन छोराछोरी र कविलालाई एकसरो लुगाफाटो बदल्न पनि सकिँदैन त्यसैले भारतमा गएर चौकीदारी गर्नु पर्ला अनि गाडी धुनु प¥ला त्यो पनि नपाए पल्लीदारी काम गर्नु पर्ला भनेर हिँडेको छु । आज घरबाट हिँडेको दुई दिन भयो ।’

बाजुरा बाँधु गाविस–७ का ७५ वर्षीया मनवीर भण्डारीले भने ‘देशमा १० वर्षसम्म जनयुद्ध भयो त्यसमा हामी सर्वसाधारणलाई वितोड भयो । देशमा संविधानसभाको चुनाव भयो अब देशमा केही होला भनेको पाँच वर्ष तेत्तिकै बिते तर पनि केही विकास भएन । फेरि चुनाव भएको छ तर हामीलाई केही होला भन्ने आसा छैन । त्यसैले अहिले काम गर्न सक्ने सबै भारत र खाडीतिर गाएका छन् । आजभोलि गाउँमा केटाकेटी र बुढाबुढी मात्र भेटिन्छन् ।’

बिच्छयाँ गाविस ४ नेटा गाउँका अंगलपति थापाले भने ‘हामी विद्यालय जाने हुनाले मात्र बसेका छाँै नत्र भने हामी पनि यहाँ हुँदैन थियौँ, तपाईहरू आए पछि हामीलाई पनि भेटाउनु हुने थिएन, गाउँमा खाने पानीसमेत पाइँदैन, कोही बिरामी भए पनि बोक्ने मान्छे पाइँदैन गाउँमा युवा र अधबैंसे कोही भेटिदैनन् । योजना पनि केही छैनन् ।गाउँमा बसेर के गर्ने भनेर सबै काम खोज्न हिँडेका छन् ।’

‘हुम्ला जिल्ला ताजा मैला गाविस जिमाना गाउँका विद्यार्थीसमेत अहिले गाउँमा भेटिँदैनन् । उनीहरू आजभोलि हिउँदे बिदा हुने भएका कारण गाउँलेसँगै भारत गइसकेका छन् । उनीहरू फागुनमा मात्र घर आउँछन् । अहिले गाउँमा चिसो पनि हुन्छ केही काम हुँदैन त्यसैले केही कमाउने आशामा विदेश जाने गरेका छन् ।’ सोही गाविसका हंशबहादुर मल्लले जानकारी दिनुभयो । मुग जिल्ला हयाङ्लु गाविस ४ बिनका कलकबहादुर शाहीले भने, ‘आजभोलि त हुलका हुल मान्छे यो बाटो भएर हिँड्ने गर्छन् । बाटोमा भएका पसलमा समेत उनीहरू खचाखच भएर बस्ने गरेका छन् । हामीहरूको पसलमा ब्यापार हुने गरेको छ । कोही कोही त पुरुष मात्र जान्छन् । कोही त परिवारसमेत लिएर जाने गरेका छन् ।’

बाजुरा जिल्लाको बाँधु गाविसको चुलिगाडमा होटल सञ्चालन गरेका छक्क अधिकारीले भने, ‘अहिले हुम्ला, बाजुराका पूर्वीतिरका गाविस र मुगुका विदेश जाने यसै बाटो भएर जान्छन् । आजभोलि रमाइलो छ कसैले रातभरि देउडा लगाउँछन् । आफ्ना पीडा हामीलाई सुनाउने गरेका छन् ।

कोही कोही आफैँ सामल बोकेर ल्याएका हुन्छन् कोही कोही होटलमा खाना पकाइ देउ भनेर भन्छन् । धेरैजसोले भारत गएर कमाएर घर फर्किने भन्ने गरेका छन् ।’ अहिले यहाँका गाउँबाट भारतबाहेकका अरु देशमा समेत कामदारको रुपमा जाने गरेका छन् । कतार, दुबई, इजरायल, कोरियालगायतका देशमा समेत कामको खोजीमा जाने गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ ।

कार्यालयले दिएको जानकारीअनुसार साउनदेखियता एक हजार १ सय ४५ जना कामको खोजीमा विदेशिएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराको प्रशासन फाँटका खरिदार घनश्याम कँडेलले दिएको जानकारीअनुसार अहिले अधिकांश युवा राहदानी बनाउन आउने गरेका छन् ।

त्यसमा पनि पूर्वीतिर गाविसका आउने गरेका र उनीहरू अधिकांश खाडी मुलुकतिर जाने तयारीमा रहने बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us