एक लाखमा महासचिव पद बिक्री

काठमाण्डु टुडे २०७० पुष २३ गते ३:५४ मा प्रकाशित

काठमाण्डु, २२ पुस-राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)का महासचिव रामेश्वर साहले पदबाट राजीनामासँगै एक लाख रुपैयाँ लिएका छन् । समानुपातिकमा सिफारिस नभएपछि असन्तुष्ट उनले पार्टी अध्यक्ष शरतसिंह भण्डारीसँग यसअघि काम गरेको ‘तलबभत्ता’ भन्दै एक लाख रुपैयाँ लिएका हुन् ।

महासचिवबाट राजीनामा दिनुअघि साहले अध्यक्ष भण्डारीसँग महिनावारी तलब र भत्ताको माग गर्दै पत्र लेखेका थिए । स्रोतका अनुसार साहले पत्रमा १८ महिनाको तलबभत्तास्वरूप भन्दै दश लाख रुपैयाँ माग गरेका थिए । भण्डारीले भने प्रचलनमै नभएको तलबभत्ता दिन नसक्ने जवाफ दिएका थिए ।

आक्रोशित साहले अध्यक्ष भण्डारीको जवाफपछि बार्गेनिङ गरेका थिए । उनी दश लाख रुपैयाँबाट आधामा झरे पनि कुरा नमिलेपछि एक लाखमा सहमति भएको छ । भण्डारीले एक लाख रुपैयाँ दिएर भर्पाई गराएपछि साहले महासचिवबाट राजीनामा दिएको स्रोतले बतायो । महासचिव साहले अब फेरि रामसपामा नफर्कने गरी पार्टीबाट राजीनामा गरेका छन् ।

‘पार्टीका तत्कालीन महासचिवज्यूले १८ महिनादेखिको तलब र भत्ता पाऊँ भन्दै दश लाख रुपैयाँ दाबी गर्दै मलाई चिठ्ठी लेख्नुभएको थियो । पछि एक लाखमा कुरा मिल्यो,’ अध्यक्ष भण्डारीले भने, ‘पार्टीका महासचिवले तलब र भत्ता लिने चलन कहीँ पनि छैन भने, तर उहाँले मान्नुभएन ।’

 महासचिव साहले रिसको झाेंकमा विवाद भएको तर आफूले दश लाख रुपैयाँ नमागेको दाबी गरे । अबदेखि राजनीतिमै नफर्कने घोषणा गरेर पार्टी छोडेको उनको भनाइ छ । ‘मधेसी दलको राजनीतिदेखि नै घृणा लाग्यो,’ उनले भने, ‘अब म मधेसी दलको राजनीतिमा लाग्दिनँ ।’

यता, समानुपातिक सूचीमा विवाद बढेपछि अध्यक्ष भण्डारीले पार्टीको राष्ट्रिय कार्यसमिति नै विघटन गरेका छन् । रामसपा स्थापना भएको डेढ वर्ष मात्र भएको छ । स्थापनाकालदेखि नै साह पार्टीका महासचिव थिए । अन्तिम समयसम्म पनि समानुपातिकमा पर्नेमा ढुक्क भएका उनी नाम काटिएपछि अध्यक्षसँग आक्रोशित भएका थिए । आफ्नो नाम समानुपातिकमा नपरेपछि उनी ग्वार्कोस्थित पार्टी कार्यालयमा धर्नासमेत बसेका थिए ।

फेसबुकमा असन्तुष्टि

समानुपातिकमा सभासद् छनोट विवाद अन्य मधेसी दलमा पनि छ । तमलोपाका महासचिव गोविन्द चौधरीले फेसबुकको स्टाटसमा नै आफ्नो आक्रोश पोखेका छन् ।

चौधरीले आफ्नो स्टाटसमा लेखेका छन्, ‘प्रत्यक्षमा भएको धाँधली छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने त सहमति भयो तर समानुपातिकमा भएको धाँधली कसरी छानबिन गर्ने ?’ समानुपातिकतर्फको सभासद् पैसामा साटिएको आरोप उनले लगाउँदै आएका छन् ।

यसैबीच, फोरम लोकतान्त्रिकमा समानुपातिक सूचीको विवाद चर्किएको छ । पार्टीभन्दा बाहिरकालाई समानुपतिकमा अवसर दिइएको भन्दै नेताहरू अध्यक्ष विजय गच्छदारसँग आक्रोशित भएका छन् । पार्टीमा दबाब बढेपछि गच्छदारले निर्वाचन आयोगमा पत्र लेखेर महासचिव जितेन्द्र देवको नाम राख्न आग्रह गरेका थिए । उनको नाम सूचीमा परिसकेको छ । – नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us