सरकारले ६ विद्युत आयोजनाको अध्ययन गर्ने

काठमाण्डु टुडे २०७० पुष २० गते १४:०३ मा प्रकाशित

hydropowerकाठमाण्डु, २० पुस– सरकारले विभिन्न छ जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सुरु गर्ने भएको छ ।

ऊर्जा संकटलाई हल गर्न सम्भाव्यता अध्ययनको कामलाई तत्काल अगाडि बढाई निर्माणको वातावरण तयार पार्ने उद्देश्यका साथ अध्ययन गर्न लागिएको हो । सम्भाव्यता अध्ययन विद्युत् विकास विभागले नै गर्ने भएको भएको छ ।

अध्ययन गर्न लागिएका आयोजनामा बेनी कालीगण्डकी ५० मेगावाट, दूधकोसी चौथो ४९ मेगावाट, म्यादी खोला ३२ मेगावाट, बेनी काली ५० मेगावाट, माथिल्लो संखुवासभा ३० मेगावाट र सङ्खुवासभा २५ मेगावाट छन् ।

विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार चालु आवभित्रै सम्भाव्यता अध्ययनको काम सम्पन्न गर्ने गरी काम सुरु गर्न लागिएको हो । यसअघि परामर्शदातामार्फत सम्भाव्यता अध्ययन गरिने बताइए पनि विभागले आफ्नै जनशक्तिमा काम गर्न लागेको हो ।

आगामी माघको पहिलो सातादेखि अध्ययन सुरु हुने र यसअघि पनि प्रारम्भिक रुपमा अध्ययन भएका कारण चालु आवको अन्त्यसम्म काम सम्पन्न हुने विश्वास विभागले लिएको छ । ऊर्जा संकट समाधानका लागि काम रोकेर राख्ने भन्दा पनि तीव्रता दिने लक्ष्यका साथ सम्भाव्यता अध्ययनको काम सुरु गर्न लागिएको उनले बताए ।

सो कामका लागि सरकारले यस वर्ष दुई करोड छुट्टयाएको छ । ती आयोजनाको आयोजनास्थल क्रमशः सोलुखुम्बु, कास्की, म्याग्दी र सङ्खुवासभा जिल्ला छन् ।

सो रकम अध्ययन र वातावरणीय प्रभाव मूल्यांकनका लागि खर्च गरिने छ । ती आयोजनाको कुल क्षमता २ सय ७२ मेगावाट छ । निजी क्षेत्रलाई सर्वेक्षणका लागि पहिले दिइएका ती आयोजनाको सन्तोषजनक प्रगति नभएको भन्दै केही समय पहिले विभागले ती आयोजनाको अनुमतिपत्र नै फिर्ता लिएको थियो ।

विभागले ती आयोजनाको अध्ययन सम्पन्न गरिसकेपछि पुनः प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई नै निर्माणका लागि आह्वान गर्ने भएको छ । यसैगरी अघिल्लो आवमा सम्भाव्यता अध्ययन अगाडि बढाएका आयोजनाको कामलाई समेत तीव्रता दिइने छ ।

ती आयोजनाका लागि पनि २ करोड नै विनीयोजन गरिएको सूचना अधिकृत पन्थको भनाइ छ । निरन्तर अध्ययनको काम अगाडि बढाइएका ती आयोजनामा माडी खोला १२ मेगावाट, मौवा खोला १३.५ मेगावाट, इखुवा खोला ८ मेगावाट, कावेली तेस्रो १२ मेगावाट, चेपे खोला १३ मेगावाट र डोटी गाड ५ मेगावाट छन् ।

ती आयोजनास्थल क्रमशः रोल्पा, ताप्लेजुङ, संखुवासभा, लमजुङ र डडेल्धुरा जिल्लामा छन् । आयोजनाको कुल क्षमता ६४ मेगावाट छ । ती आयोजनाको सम्भाव्यता अध्ययन अघिल्लो वर्षमै सुरु भए पनि विविध कारणले रोकिएको भन्दै पुनः सुरु गर्न लागिएको हो । ती आयोजनासमेत चालु आवमा सम्पन्न गरिने लक्ष्य राखिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us