सूचना प्रविधि पार्क सञ्चालनमा आउने

काठमाण्डु टुडे २०७० पुष २० गते ११:२८ मा प्रकाशित

It Parkराजाराम कार्की/मदन गौतम । काठमाण्डु, २० पुस– नेपालको पहिलो सूचना प्रविधि पार्क (आइटी पार्क) आगामी चैत महिनाभित्रमा सञ्चालनमा आउने भएको छ ।

सूचना प्रविधि पार्क सञ्चालन कार्यविधि मस्यौदा मन्त्रिपरिषद्सामु पेस भइसकेकाले मस्यौदाले कानुनी रूपा प्राप्त गरे लगत्तै पार्क सञ्चालनमा आउने दाबी गरिएको हो ।

सन् २००४ मा निर्माण पूरा भएको एकमात्र आइटी पार्क १० वर्षपछि सञ्चालनमा आउन लागेको सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्रले बताए ।

सरकारले यसअघि गठन गरेको सूचना प्रविधि उच्चस्तरीय आयोगले पार्क सञ्चालनमा आउने बताएको थियो । यद्यपि आयोगको कामबाट पार्क सञ्चालनमा प्रगति हासिल नभएका कारण साउन १ गते सरकारले सूचना प्रविधि विभागको स्थापना गरी पार्क सञ्चालन कार्यविधि मस्यौदा तयार गरी पेस गर्न आह्वान गरेको थियो ।

पार्क सञ्चालनमा ल्याउन चौतर्फी दबाब बढेका कारण सरकारले बाध्य भई विभाग गठन गरेको हुनसक्ने विज्ञहरूको बुझाइ छ । काभ्रेको बनेपामा निर्माण पूरा भएको नेपालको पहिलो सूचना प्रविधि पार्क २ सय ३७ रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्कलाई व्यापारिक र प्रशासनिक भवनको रूपमा विभाजन गरिएको छ ।

२७ करोड रुपैयाँको लागतमा पार्क निर्माण गरिएको छ । सफ्टवेयर विकास र निर्माण, सूचना प्रविधिको विकास, सूचना प्रविधिमा आधारित सेवा प्रदान, कम्पनीको विकास तथा प्रवद्र्धनमा टेवा, सूचना प्रविधि सेवा, सूचना प्रविधिमा आधारित सेवाको निर्यात प्रवद्र्धन तथा बृद्धि, सूचना प्रविधिसम्बन्धी सूक्ष्म, लघु र मध्यम कम्पनीको स्थापना तथा लगानीकर्तालाई बढावा दिने अभिप्रायबाट यो पार्क स्थापना गरिएको हो ।

नेपालमा सफ्टवेयर निर्माण गरी बिक्री वितरण गर्ने कम्पनीका लागि उपयुक्त मानिएको उक्त पार्क ढिला सञ्चालनमा आउनुमा सरकारको इच्छाशक्ति कमजोर भएको सूचना र प्रविधि क्षेत्रका विज्ञहरू बताउँछन् ।

यसअघि सम्झौताका लागि आएका कम्पनीहरूले फाइवर जडान र विद्युत् सुविधा नभएको, बाटो साँघुरो भएको र इन्टरनेटको प्रचुर सुविधा नपुगेको जनाउदै काम गर्ने इच्छा नदेखाएकाले पार्क सञ्चालनमा ढिला भएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय उपसचिव लक्ष्मीप्रसाद यादवले बताए ।

हाल काठमाण्डुको तीनकुनेदेखि सूर्यविनायकसम्म बाटो फराकिलो भइसकेको, फाइवर जडान कार्य सकिएको र विद्युत् तथा इन्टरनेटका लागि अत्याधुनिक सुविधा उपलब्ध भइसकेकाले पार्क सञ्चालनका लागि कार्यविधि मस्यौदाले कानुनी मान्यता पाएलगत्तै पार्क सञ्चालनमा आउने आशा पलाएको हो ।

सूचना, सञ्चार र प्रविधि (आइसिटी) को क्षेत्रमा भएको प्रगतिबाट व्यक्ति तथा फर्म सञ्चालक लाभान्वित भएपनि आइटी पार्क सञ्चालनमा आउन नसक्दा सरकारले करोडांै राजस्व गुमाइरहेको बताइन्छ । केन्द्रीय तथ्यांक विभागका निर्देशक डा. विष्णुमोहन भट्टराईले नेपालमा सफ्टवेयर निर्माणका लागि तीन प्रकारले कार्य भइरहेको बताउँछन् ।

पहिलो कम्पनी दर्ता गरेर, दोस्रो सिधै प्राविधिक व्यक्तिबाट र तेस्रो विदेशीले नेपाली प्राविधिकलाई काम दिएर । विभागले आउँदो माघ मसान्तभित्र नेपालमा सञ्चालित आइटी उद्योगबारे बृहत् तथ्याङ्क समेत बाहिर ल्याउन लागेको छ । उक्त तथ्याङ्क सार्वजनिक भएपछि मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा के, कति र कस्तो योगदान रहने छ भन्ने विषयसमेत बाहिर आउने विश्वास गरिएको छ ।

विश्वले सूचना र प्रविधिका क्षेत्रमा उल्लेखनीय प्रगति गरेपनि नेपालमा भएको एउटै पार्क पनि सञ्चालनमा ल्याउन नसक्नु सरकारको कमजोरी मान्छन् कम्प्युटर एसोसिएसन नेपाल (क्यान) का महासचिव अमृत पन्त । नेपालबाट करिब ५ सय कम्प्युटर प्राविधिक कामको खोजीमा विश्वका विभिन्न मुलुकमा जाने गरेका छन् ।

नेपाल विश्वका सयौँ मुलुकले उत्पादन गरेका प्रविधिको बिक्री गर्ने थलो मात्र बन्नु विडम्बनापूर्ण रहेको विभागका महानिर्देशक मिश्रले बताए । ‘कार्य सञ्चालन कार्यविधि मस्यौदा कार्यान्वयनमा आएलगत्तै सरकारले निजी क्षेत्रलाई पार्क सञ्चालनको लागि आह्वान गर्नेछ’ मिश्रले भने ।

पार्क सञ्चालकलाई सरकारले ५० प्रतिशत कर छुटको व्यवस्था समेत मिलाएको उनले जानकारी दिए । ‘सूचना प्रविधि पार्क नेपालको सूचना र प्रविधि क्षेत्रको उद्योग हो, ढिलै भएपनि सरकारले कुनै पनि हालतमा पार्क सञ्चालन गरेरै छाड्छ’ मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले भन्ने ।

पार्क पूर्ण रूपमा सञ्चालनमा आएपछि १५ हजार प्राविधिकले प्रत्यक्ष रोजगार प्राप्त गर्न सक्ने बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us