
काठमाण्डु, १९ पुस–एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीलाई बलियो बनाउने भुमिका खेल्न शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
समानुपातिक सभासदको विषयलाई लिएर विवाद गर्नुभन्दा देश र पार्टीलाई बलियो बनाउन उनले आफ्नै पार्टीका शीर्ष नेताहरुलाई सुझाव दिएका हुन् ।
काठमाण्डुको जनसन्चार अभियानमा शुक्रबार भएको कार्यक्रममा नेता प्रभाकरले पार्टी निर्माणमा अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईको भुमिका महत्वपूर्ण रहदै आएकोले मिलेर अघि बढ्न सुझाव दिए ।
‘यतिबेला झगडा होइन, देश र पार्टी सम्हाल्नेबेला हो,’ नेता प्रभाकरले भने, ‘जनतालाई संगठित गर्नेबेला, पराजयबाट सिकेर सुदृढ भएर अगाडि बढ्नेबेला यस्तो कुबुद्धि तिर नलाग्नुस् ।’ असहमतिलाई बाहिर सार्बजनिक गर्नुभन्दा पार्टीभित्रै छलफल मार्फत् निष्कर्षमा पुग्नुपर्ने उनको सुझाव थियो ।
समानुपातिक सभासद चयन गर्ने जिम्मा पाएको केन्द्रीय कार्यालयको बैठकमा भट्टराईलाई बोलाइए पनि उनी सहभागी नभएको प्रभाकरले स्पष्ट पारे । अहिले आफूलाई बैठकमै बोलाइएन भनेर भट्टराईले भ्रामक कुरा गरेकोमा उनले आक्रोश पोखे ।
‘प्रचण्डले मलाई बैठकमै नबोलाएर समानुपातिक सभासदको लिस्ट बुझाउनु भयो भनेर भट्टराईले आफूलाई पानी माथिको ओभानो बनाउने कोशिस गर्नुभएको छ,’ प्रभाकरले भने, ‘दिउँसै रात पार्ने कुरा गरेर उहाँले (भट्टराईले) बैठक बहिस्कार गरेको कुरा दुनियाँलाई थाहा छ ।’
कार्यक्रममा प्रभाकरले हिरालाल सुनारद्वारा लिखित ‘राष्ट्र निर्माणमा युवा नेतृत्व’ नामक पुस्तक विमोचन समेत गरेका थिए ।