
काठमाण्डु, १८ पुस–सोेमालियाको राजधानी मोगादिशुमा दुईवटा कार बम विष्फोट हुदा एघार जनाको मृत्यु भएको छ । राजधानीस्थित जजीरा होटल अगाडी भएका कार बम विष्फोट भएका हुन् ।
विष्फोटको जिम्मेवारी सोमालियमा सक्रिय मुस्लिम अतिवादी संगठन अल शाहबाबले लिएको छ । विष्फोटपछि आतंकवादी संगठनका कार्यकर्ता र सुरक्षाकर्मीहरुबीच दोहोरो गोली हानाहान समेत भएको बताईएको छ ।
जजीरा होटलमा सोमालियाका उच्चस्तरिय राजनीतिज्ञ तथा विदेशीहरुको प्राय उपस्थित हुने गर्छ । विहीबार रातिको विष्फोटमा भने कुनै राजनीतिज्ञ हताहत भएका खबर आएको छैन ।
अल कायदा आतंकवादी संगठनसँग सम्बन्ध रहेको भनिने अल शाहबाबले राजधानी मोगादिशुमा विभिन्न समयमा यस्ता आतंकवादी घटना गर्दै आएको छ । सोमालियाको दक्षिणी तथा केही केन्द्रीय भागहरु समेत यो संगठनको नियन्त्रणमा रहेको बताईन्छ । राजधानी मोगादिशुलाई समेत आफ्नो नियन्त्रणमा राखेको यो समुहलाई २०११ मा राजधानीबाट विस्थापित गराईएको थियो ।