सहरमा बढी र गाउँमा कम तौलका शिशु

काठमाण्डु टुडे २०७० पुष १५ गते ८:१६ मा प्रकाशित

babyकाठमाण्डु, १५ पुस – गर्भवती अवस्थामा मदिरा तथा धुम्रपान सेवन गर्ने प्रवृतिलाई रोक्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयका अनुसार अझै पनि गर्भवती अवस्थामा मदिरा सेवन गर्ने महिलाको सङ्ख्या करिब १७ र धुम्रपान गर्नेको सङ्ख्या १६ प्रतिशत रहेको छ । तीमध्ये पूर्वी जिल्लामा मदिरा सेवन र पश्चिमी जिल्लामा धुम्रपान गर्ने बढी रहेका छन् ।

गर्भावस्थामा ती मदिरा तथा धुम्रपान सेवनले महिला तथा शिशुको स्वास्थ्यमा खतरा हुनेहुँदा यस्तो प्रवृत्तिलाई रोक्न मन्त्रालयले विशेष कार्यक्रम नै सञ्चालन गर्नुपर्ने अवस्था आएको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले सोमबार आयोजना गरेको कार्यक्रममा जानकारी दिइयो ।
मन्त्रालयका सहसचिव डा बाबुराम मरासिनीले अझै पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको सङ्ख्या ५० प्रतिशत माथि जान नसकेको अवस्थामा गर्भावस्थामा महिलाले मदिरा र धुम्रपान सेवन गर्दा आमा र शिशु दुवैको स्वास्थ्यमा गम्भीर असर पुग्ने अवस्थालाई अन्त्य गर्न विशेष कार्यक्रम सञ्चालनमा ल्याउन  लागेको जानकारी दिए ।

अहिले मन्त्रालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने महिलालाई उच्च हिमाली जिल्लामा एक हजार ५००, पहाडी जिल्लामा रु एक हजार र तराई जिल्लामा ५०० यातायात खर्च प्रदान गर्दै आइरहेको छ । सहसचिव मरासिनीले हरेक गाउँ विकास समितिमा बर्थिङ सेन्टर स्थापना गर्ने नीति रहेको बताए ।

केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सुरक्षित मातृत्व तथा शिशु स्याहार विधेयकलाई मन्त्रालयले अगाडि बढाउन ढिलाइ गर्न नहुने र सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारण राखे । प्राध्यापक कुमुदकुमार काफ्लेले जलवायु परिवर्तनको असर गर्भवती महिलामा पनि देखापरेको भन्दै सहरी क्षेत्रका बढी तौल र ग्रामीण क्षेत्रमा कम तौलका शिशु जन्मन थालेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us