दश वर्ष अघि सेनाले गाडेका चार शव उत्खनन्

काठमाण्डु टुडे २०७० पुष १४ गते १०:१० मा प्रकाशित

National-Human-Rights-Commissionजनकपुर, १४ पुस- दस वर्षअघि द्वन्द्वकालमा धनुषाको गोदार गाविसमा हत्या गरी गाडिएका पाँच युवकमध्ये चार जनाको शव उत्खननको परिणाम राष्ट्रिय मानव अधिकार आयोगमा प्राप्त भएको छ ।

जनकपुरको विश्वकर्मा चोकस्थित कटैया चौरीबाट २०६० साल असोज १ गते पाँच युवकलाई सुरक्षाकर्मीले पक्राउपछि हत्या गरी धनुषा जिल्लाको गोदार गाविसमा गाडेका थिए ।

आयोगमा प्राप्त उजुरीका आधारमा २०६७ भदौ २१ गतेदेखि शव गाडिएको भनी आशंका गरिएको धनुषा जिल्ला तल्लो गोदार गाविस ३ स्थित कमला नदीको किनारमा वैज्ञानिक विधिद्वारा मानव अवशेष खोज्ने कार्य भई प्रथम चरणमा चारवटा मानव अवशेष प्राप्त भएको थियो ।

उत्खननका क्रममा तीनवटा मानव अवशेषमा टाउकोदेखि पैतालासम्मकै अवशेष फेला परेको थियो भने एक वटा मानव शरीरमा टाउकाको पूरा भाग पाइएको थिएन ।

फेला परेका चारवटै मानव शरीरका अवशेषलाई विशेषज्ञबाट वैज्ञानिक पद्धतिअनुसार उत्खनन गरी मानव अवशेष एवम् प्रमाण बरामद गरिएको थियो । त्यस क्रममा मानव अवशेषसँग सम्बन्धित रहने गरी केही शङ्कास्पद गोली र गोलीका खोकासमेत फेला परेको थियो ।

आयोगका सचिव वेदप्रसाद भट्टराईका अनुसार आयोगद्वारा उत्खनन् पछि प्राप्त मानव अवशेषलाई वैज्ञानिक परीक्षणका लागि फिनल्यान्डको फरेन्सिक विश्वविद्यालयमा तीन वर्षअघि पठाइएको थियो र चारवटा मानव अवशेषको परीक्षण अहिले परिणाम प्राप्त भएको छ ।

दोस्रो चरणमा उत्खनन्का क्रममा प्राप्त मानव अवशेषका परीक्षण परिणाम प्राप्त नभएको कारण तत्काल परीक्षण परिणाम सार्वजनिक गर्नमा व्यावहारिक समस्या रहेको पनि उनले बताए ।

पीडित परिवारका अनुसार सुरक्षाकर्मीले जनकपुर नगरपालिका–१० का सञ्जीवकुमार कर्ण र दुर्गेस लाभ, वडा नं ४ का जीतेन्द्र झा, कुर्था गाविस–१ का प्रमोदनारायण मण्डल र दुहवी गाविस–७ का शैलेन्द्र यादवलाई पक्राउपछि बेपत्ता पारी हत्या गरेर कमला नदी किनारमा गाडेका थिए ।

पीडित परिवारले आयोगमा उजुरी दिएपछि आयोगबाट थालिएको अनुसन्धानबाट सुरक्षाकर्मीले गैरन्यायिक हत्या गरेको ठहर गरी आयोगले विसं २०६४ माघ १५ गते दोषीमाथि कारबाही गर्न र पीडितका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारलाई सिफारिससमेत गरेको थियो ।

आयोगको अनुसन्धान टोलीको प्रतिवेदनको आधारमा तत्कालीन आयोगका सदस्य गौरी प्रधानको संयोजकत्वमा विशेषज्ञसमेत रहेको १८ सदस्यीय टोलीद्वारा उक्त स्थलको उत्खनन् गरिएको थियो ।

सो टोलीमा फिनल्यान्डका फरेन्सिक विशेषज्ञ, जर्मन विकास संस्था, पुरातत्व विभाग, महाराजगन्ज फरेन्सिक मेडिसिन विभाग, राष्ट्रिय फरेन्सिक प्रयोगशालाका विशेषज्ञ, मानव अधिकार आयोगका पूर्व सदस्य तथा नागरिक समाजका प्रतिनिधि, राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयका प्रतिनिधिको रोहबर उत्खनन् कार्य गरिएको थियो ।

टोलीले पाँच वटा शव गाडिएको भनी आशङ्का गरिएको स्थानमा वैज्ञानिक विधिद्वारा ‘ट्रेन्च’ बनाई मानव अवशेष खोज्ने कार्य गर्दा विसं २०६७ भदौ २३ मा पहिलो, भदौ २४ दोस्रो, भदौ २५ मा तेस्रो, भदौ ३१ मा चौथो मानव अवशेष फेला परेको थियो भने पहिलो चरणमा फेला नपरेको एउटा मानव अवशेष दोस्रो चरणमा फागुनमा फेला परेको थियो ।

जमिनमुनि प्राप्त अविशेषहरु जे जस्तो अवस्थामा थिए सोही अवस्थामा निकाली सिलबन्दी गरिएको थियो । सचिव भट्टराईका अनुसार मानव अवशेषहरुको पहिचानका लागि फिनल्यान्डको फरेन्सिक विश्वविद्यालयबाट गरिएको वैज्ञानिक परीक्षणको प्राप्त परिणाम र नेपालका विशेषज्ञहरुबाट प्राप्त परिणामको विश्लेषण तथा अनुसन्धानपछि सार्वजनिक गरिनेछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us