पच्चीस लाखमा पर्यटनको काम हुँदै

काठमाण्डु टुडे २०७० पुष १४ गते २:१२ मा प्रकाशित

बागलुङ, १४ पुस-सरकारको मातहतमा रहेको पर्यटन कार्यालय पोखराले यो वर्ष बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको पर्यटकीय लेक घुम्टेसम्म जानका लागि ट्रयाक खोल्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।     उक्त बजेटबाट गत वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको घुम्टे पदमार्गको बाँकी ट्र्याक खोल्ने र मर्मतसम्भारको काम अघि बढाइने भएको छ । छ किलोमिटर दूरीको उक्त पदमार्ग निर्माणका लागि पर्यटन कार्यालयले गत वर्ष पनि बजेट छुट्ट्याएको थियो ।

चालु आर्थिक वर्षमा छुट्टिएको बजेटबाट पदमार्गको थप काम गर्न स्थलगत सर्वे गर्ने काम सकिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले जानकारी दिए । सबइन्जिनियर सागर देवकोटाको नेतृत्वमा आएको प्राविधिक टोलीले निर्माणाधीन पदमार्गको स्थलगत निरीक्षण र सर्वेको काम गरेको हो ।

गत वर्ष नै ट्र्याक खोल्ने काम सुरु भए पनि स्तरीय पदमार्ग निर्माणका लागि काम बाँकी नै रहेको केन्द्रले जनाएको छ । उक्त पदमार्गमा सिँढीसहितको पर्यटनमैत्री मार्ग निर्माण गरिने भएको हो । १५ लाख रुपैयाँबाट हरिचौर गाविसतर्फको टेउवादेखि उपल्लो देउरालीसम्म ३५० मिटर सिँढी निर्माण गरिने तथा उपल्लो देउरालीदेखि घुम्टेको लेकसम्म ८१० मिटर ट्र्याक पूरा गर्ने काम गरिने केन्द्रका अध्यक्ष बस्नेतले बताए । त्यही रकमबाट पाण्डवखानीतर्फको देउराली वरिपरिको अप्ठ्यारो बाटो पनि निर्माण गरिने केन्द्रले जनाएको छ । प्राविधिक टोलीले पाण्डवखानीको रमुवामा पर्नेे शिवको धुरीमा रहेको मन्दिरको समेत सर्वे गरेको छ । रमुवाको शिव धुरीमा शिव मन्दिर निर्माण गर्न पर्यटन कार्यालय पोखराबाट यो वर्ष पाँच लाख रुपैयाँ बजेट छुट्टिएको छ ।

यसैबीच हटिया–५ काटमैदानसम्म लैजाने पदमार्ग निर्माणका लागि छुट्टिएको ६ लाख बजेटको कार्यान्वयनका लागि पनि सर्वे गरिएको छ । हटिया–३ बजारदेखि हटिया–४ को मत्थर डाँडा हुँदै हटिया–५ कोट मैदानको खडक देवताको मन्दिरसम्म पदमार्ग निर्माण गरिने कोत मैदान पदमार्ग निर्माण समितिका अध्यक्ष रामबहादुर खत्रीले जानकारी दिए ।

खड्क देवताको मन्दिर रहेको स्थानमा गोलकोट भनिने ऐतिहासिक ठाउँ रहेको र गोलकोटबाटै गलकोटको नाम रहन गएकाले त्यो ठाउँ गलकोटको इतिहासमा महत्वपूर्ण मानिने अध्यक्ष खत्रीको भनाइ छ । प्राचीनकालमा गलकोटे राजाले उक्त स्थानमा हातहतियार राख्ने कोत बनाएको र डाँडोमा गोलाकार भूगोलमा कोत भएकाले गोलकोट भनिएको किंवदन्ती रहेको छ । पछि गोलोकोट शब्दबाटै अपभ्रंश हुन गई गलकोट रहन गएको इतिहासका सोधकर्ता कृष्णप्रसाद गौतमको भनाइ छ ।

कोट मैदानमा प्रत्येक वर्ष चैतेदसैंमा मेला लाग्ने गरेको छ । पछिल्ला वर्षमा जिल्लाको गलकोट क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि स्थानीयस्तरबाट पनि पहल सुरु गरिएको छ गलकोट पर्यटन विकास केन्द्रको पहलमा पनि त्यस क्षेत्रका पर्यटकीय सम्भावनाका क्षेत्रहरुको पहिचान, प्रवद्र्धन, प्रचारप्रसार र पूर्वाधार निर्माणका कामहरु अघि बढिरहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us