
बागलुङ, १२ पुस– बागलुङमा लामो सयमदेखि अवैध रुपमा शिक्षण सहयोग केन्द्र (कोचिङ सेन्टर)हरू सञ्चालनमा रहेको पाइएको छ ।
होस्टेल या ट्युसन सेन्टरका रुपमा सञ्चालित त्यस्ता केन्द्रहरू बिना अनुमति सञ्चालनमा रहेका छन् । जिल्ला शिक्षा कार्यालयको अनुमति लिएरमात्र सञ्चालन गर्न पाइने व्यवस्था भए पनि त्यसको अवज्ञा गर्दै सञ्चालकहरूले संस्था चलाइरहेका छन् ।
वर्षौंदेखि त्यस्ता संस्था अवैध रुपमा सञ्चालनमा रहे पनि त्यसको अनुगमन र नियमन हुन सकेको छैन । सदरमुकामलगायत जिल्लाभर दर्जनौं सङ्ख्यामा त्यस्ता कोचिङ तथा शिक्षण सेवा केन्द्रहरू सञ्चालनमा रहेका छन् । त्यसको एकिन सङ्ख्या पनि कुनै निकायसँग छैन ।
गत महिनामात्र सदरमुकाममा सञ्चालित ट्विङ्कल एजुकेसन प्रालिलेमात्र पहिलो पटक अनुमति लिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयले तुरुन्त आवश्यक प्रक्रिया पु¥याएर अनुमतिपत्र लिनका लागि सबै होस्टेल तथा कोचिङ सेन्टरलाई आग्रह गरेको छ ।
शिक्षण केन्द्रको विद्यालय निरीक्षकले अनुगमन प्रतिवेदन बुझाउनु पर्ने, केन्द्रले दिएको विषयगत शिक्षकको नियुक्तिपत्र कार्यालयमा पेस गर्नुपर्ने, ५० हजार धरौटी रकम जम्मा गर्नुपर्नेलगायतका प्रावधान पूरा गरे जुनसुकै संस्था या केन्द्रले अनुमति प्राप्त गर्न सक्ने जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बताए । ‘अनुमतिबिना कसैले पनि त्यस्ता केन्द्र तथा होस्टेलहरू सञ्चालन गर्न पाइँदैन, हामी तुरुन्त सबै संस्थामा पत्राचार गर्न गइरहेका छौं’ पौडेलले भने ।
मनपरी शुल्क लिएरसमेत सञ्चालन भइरहेका त्यस्ता कोचिङ कक्षा र शिक्षण केन्द्रहरूको अनुगमन तथा नियमन हुन नसकेकोप्रति गुनासो बढ्दै जान थालेको छ ।
ट्विङ्कल एजुकेसन प्रालिअन्तर्गत सञ्चालित ट्विङ्कल होस्टेलले शिक्षणमैत्री वातावरणको साथमा अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गरिरहेको इञ्चार्ज केशबहादुर बुढाथोकीले बताए ।
होस्टेलमा हाल धौलागिरि अञ्चलका सबै जिल्लाबाट गरी ६१ जना विद्यार्थी आवसीय सेवाका साथ बसीरहेका छन् । पहिलोपटक अनुमति प्राप्त गरेको होस्टेलले स्नातक तहसम्मका विद्यार्थीहरूको लागि कोचिङ कक्षाहरू सञ्चालन गर्न पाउने भएको छ । रासस