अब व्यक्तिगत घटना दर्ता कम्प्युटरमा

काठमाण्डु टुडे २०७० पुष १२ गते १०:२९ मा प्रकाशित

चौतारा, पुस–सिन्धुपाल्चोकको ३९ गाविसमा व्यक्तिगत घटना दर्तासम्बन्धी सबै काम अबदेखि कम्प्युटरमार्फत गरिने भएको छ ।
जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ तथा मृत्युलगायतका घटना दर्तामा एकरुपता ल्याउन कम्प्युटर सफ्टवेयरमार्फत विवरण राख्न लागिएको हो ।
सन् २०१२ देखि चरणबद्ध रुपमा सुरु गरिएको सो कार्यक्रममा सेभ द चिल्डे«नमार्फत टुकी संघ सुनकोसीले १६ गाविसका गाविस सचिव तथा प्राविधिक सहायकलाई तालिम प्रदान गरी प्रत्येक गाविसलाई एक÷एक वटा कम्प्युटरसमेत प्रदान गरेका छन् ।
त्यसैगरी, सन् २०१३ मा तेस्रो र चौथो चरणमा जिविसले २३ गाविसका गाविस सचिवलाई तालिम प्रदान गरेको छ । ती गाविसले आफैँले कम्प्युटर खरिद गरेका थिए ।
सन् २०१४ सम्म ५० गाविसमा तालिमसहित कम्प्युटर उपलब्ध गराई सबै ७९ गाविसमा कम्प्युटरमार्फत व्यक्तिगत घटना दर्ता गराउने कार्यक्रम रहेको जिविसले जनाएको छ ।
मित्रराष्ट्र चीन सरकारले सीमा जोडिएका जिल्लालाई विगत तीन वर्षदेखि तीन लाख आरएमबी (चिनियाँ युआन) बराबरको आर्थिक सहयोग प्रदान गर्दै आएकामा पहिलो वर्ष कामका लागि खाद्यान्न र दोस्रो वर्ष जस्तापाता खरिद गरी विद्यालयलाई प्रदान गरेको थियो ।
यस वर्ष प्राप्त तीन लाखलाई शतप्रतिशत थप गर्न जिविसले तिब्बत सरकारलाई आग्रह गरेअनुसार ६ लाख आरएमबी स्वीकृत भई आएको स्थानीय विकास अधिकारी बलराम ढकालले बताए ।     उक्त रकमको नेपाली विनिमय दरअनुसार करिब एक करोड हुन आउने र बिजुलीको सुविधा उपलव्ध भएको सबै गाविसलाई कम्प्युटर प्रदान गरिने ढकालले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us