
संविधानसभा चुनावपछि सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने बताइरहेका बेला त्यस्तो सम्भावना क्षीण हुंदै गइरहेको संकेतहरु देखिएका छन्।
तेस्रो ठूल दल एकीकृत माओवादीका अध्यक्ष निकट एक जना नेताले आफूहरु सरकारमा सहभागी नहुने तर समर्थन आवश्यक परे सरकारबाहिर बसेरै कांग्रेसलाई सहयोग गर्न सकिने बताएका छन्।
दोस्रो ठूलो दल एमालेसंग सरकार गठन तथा महत्वपूर्ण पद बांडफांडलाई लिएर कांग्रेसको मतभेद देखिएको र तेस्रो ठूलो शक्ति एकीकृत माओवादीसंग उ नजिकिरहेको भन्ने विवरणहरुमाझ ती नेताको त्यस्तो भनाइ आएको छ।
राजनीतिक गतिरोध अन्त्य गर्ने गरी मुख्य शक्तिहरुबीच मंगलवार चार बुंदे सहमति भएपनि नेपाली कांग्रेसको नेतृत्वमा उनीहरु सबै सम्मिलित सरकार गठनको सम्भावना भने अब न्यून बन्दै गइरहेको जस्तो देखिएको छ।
एकीकृत माओवादीका एक जना नेता वर्षामान पुनले उनको पार्टी सरकारमा सामेल नहुने बरु बाहिरै बसेर सबैभन्दा ठूलो दल कांग्रेसलाई सहयोग गर्न सकिने बताएका छन्।
उनले भने, “स्वाभाविक रुपमा ठूलो दल भएकाले कांग्रेसले नेतृत्व गरोस् तर यदि सहमति जुटाउन सकेन भने हामी बाहिरबाटै उसलाई समर्थन गर्न तयार छौं”।
नयां राष्ट्रपति चयन तथा सरकार गठनसंगसंगै महत्वपूर्ण पद बांडफांड गर्ने जस्ता विषयमा कांग्रेस र एमालेबीच दूरी बढ्दै गइरहेको भन्ने विवरणमाझ कांग्रेस र एकीकृत माओवादी नजिकिएका खबरहरु पनि सार्वजनिक भएका थिए।
संगसंगै, कांग्रेस र एकीकृत माओवादीले मिलेर सरकार बनाउन सक्ने सम्मका अनौपचारिक टिप्पणीहरु बाहिर आएका थिए।
तथापि पुनको अघिको भनाइबाट तत्कालका लागि त्यो सम्भव नभएजस्तो देखिन्छ।
तर कांग्रेसभित्र बहुमतीय सरकार गठन गर्ने अवस्था आए एमालेसंगै मिलेर जान उपयुक्त हुने मत प्रबल रहेको देखिन्छ।
यदि त्यो अवस्था आए पुनकै शब्दमा एकीकृत माओवादी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्नेछ।
उनले भने,”कांग्रेस एमालेका साथीहरुले मिलेर सरकार बनाउने कुरा पनि गरिरहनुभएको छ। यदि त्यसो हुन्छ भने हामी त्यसको स्वागत गर्छौं हामी प्रतिपक्षमै बस्छौं”।
दलहरुबाट आएका फरकफरक धारणालाई हेर्दा सहमतीय सरकार गठनको सम्भावना क्षीण मात्रै होइन बहुमतीय सरकार समेत बनाउन अझ कयौं हप्ता लाग्ने लक्षणहरु देखिएको विश्लेषकहरुले बताएका छन्। BBC Nepali Service