माथिल्लो मस्र्याङ्दीको काम पुनः ठप्प

काठमाण्डु टुडे २०७० पुष ८ गते ६:३६ मा प्रकाशित

480X320_45c3afd2662f948d68aa2afb1cc6f56cलमजुङ, ८ पुस – माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा सोमबारदेखि काम सुचारु गर्ने विषयमा मजदुर युनियन र आयोजना व्यवस्थापनबीच आइतबार सहमति भएपनि आयोजनाको काम सुचारु हुन सकेको छैन ।
दुई सय नेपाली र २०० चिनियाँ गरी ४०० मजदुरले काम गरिरहेको ५० मेगावाट क्षमताको सो आयोजनामा तीन दिनदेखि यातायात मजदुरले काम ठप्प पारेपछि आयोजनाको काम प्रभावित हुँदै आएको छ ।
आयोजनाको व्यवस्थापन पक्षले एक जना सवारी चालकलाई कामबाट निष्कासन गरेपछि त्यहाँस्थित अखिल नेपाल ऊर्जा तथा खानी मजदुर संघको अगुवाइमा आन्दोलन भएको हो ।
दोलखा घर भएका सो आयोजनामा सवारी चालक पदमा कार्यरत अवतारसिंह लामाले मदिरा सेवन गरी सवारी चलाउनाका साथै सवारी दुर्घटना गरी क्षति पु¥याएको र व्यवस्थापन पक्षलाई जथाभावी बोलेको भन्दै निष्कासन गरिएको थियो ।
उनलाई निष्कासन गर्ने व्यवस्थापनको निर्णय फिर्ता नभएसम्म आयोजनामा कुनै पनि सवारी चल्न नदिने मजदुर युनियनको चेतावनीपछि स्थानीय प्रशासनको समन्वयमा आइतबार दुईपक्षबीच वार्ता भएको थियो ।
वार्तामा निष्कासनमा परेका सवारी चालकलाई १० दिनसम्म निलम्बन गर्ने, उनलाई सवारी चालकबाट हटाएर अन्य कुनै काममा रोजगारी दिने र आजदेखि काम सुचारु गर्ने विषयमा सहमति भए पनि काम सुचारु हुन सकेको छैन । मजदुर युनियनले थप मागसहित मागपत्र व्यवस्थापनलाई बुझाउने तयारी गरेकाले काम हुन नसकेको बुझिएको छ ।
आगामी २५ महिनाभित्र आयोजनाको काम सक्ने गरी माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले राखेको लक्ष्य पूरा नहुने सङ्केत देखिएको छ । आयोजनामा कार्यरत मजदुरहरु फेरि आन्दोलनमा उत्रिएपछि आयोजना निर्धारित मितिमा सकिने कुरामा आशङ्काहरु उब्जिएका छन् ।
पटक–पटक त्यहाँ कार्यरत मजदुरले गर्ने गरेको बन्द हड्तालका कारण आयोजना निर्माणमा समस्या पर्र्दै आएको छ । लमजुङलाई जलविद्युत् लगानीमैत्री जिल्लाका रुपमा घोषणा गरी आयोजनामा हुने हरेक किसिमका अवरोध हटाउन विभिन्न पक्षबाट भएका सहमति र प्रतिबद्धता कार्यान्वयनमा आउन नसक्दा आयोजनाको काम अरु ढिलो हुने अवस्था देखिएको छ ।
सोचेभन्दा छिटो निर्माण भइरहेको यो आयोजना अबको २५ महिनाभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको थियो । आयोजनाले केही दिनअघिमात्र बाँध निर्माणको काम थालेको थियो भने विद्युत् गृह, भूमिगत सुरुङ जस्ता पूर्वाधारको काम पनि भइरहेको छ ।
आयोजना व्यवस्थापनले काम गर्ने वातावरण बनाइदिन सम्बन्धित पक्षसँग पनि अनुरोध गरेको छ । चिनियाँ कम्पनी सिनो हाइड्रो र नेपालको सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा १२ अर्बको लागतमा यो आयोजनाको निर्माण थालिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us