भारत र अमेरिकाबीचको विवाद उत्कर्षमा

काठमाण्डु टुडे २०७० पुष ५ गते १३:५२ मा प्रकाशित

नयाँ दिल्ली, ५ पुस– भारतका एक कूटनीतिज्ञलाई पक्राउ गरी, नाङ्गो पारी खोजतलास गरिएको विषयमा उठेको विवाद समाधान गर्न अमेरिकी प्रयास अस्वीकार गर्दै नयाँ दिल्लीले शुक्रबार वासिङ्गटनलाई ‘समय परिवर्तन भएको’ बुझ्न चेतावनी दिएको छ ।

डिसेम्बर १२ मा न्युयोर्कमा भारतका उप–वाणिज्यदूत देवयानी खोब्रागडेलाई पक्राउ गरिएपछि उत्पन्न समस्या समाधान गर्न नयाँ दिल्लीका लागि अमेरिकी राजदूत नान्सी पावेलले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग वार्ता गरिरहेको बुझिएको छ ।India-America

यसअघि अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले भारतीय समकक्षीसँग खोब्रागडेले न्यु योर्कमा महिला कामदारलाई कम पारिश्रमिक दिएको आरोपमा उठेको विवाद समाधान गर्न तेस्रो पटक वार्ता गरेका थिए ।

अमेरिकी मार्सलले खोब्रागडेलाई नाङ्गो पारी निजको शरीरमा खोजतलास गरेको जानकारी बाहिर आएपछि भारत सरकारले वासिङटनले उनीमाथिको आरोप फिर्ता लिनुपर्ने तथा माफी माग्नुपर्ने दाबी गरेको छ ।

अमेरिकी विदेशमन्त्री जोन केरीले यस विषयमा खेद व्यक्त गर्दै यस विषयले दुई मुलुकबीच महत्वपूर्ण सम्बन्ध बिग्रन नहुने बताएका थिए । अमेरिकी विदेश मन्त्रालयका तेस्रो स्थानका पदाधिकारी विन्डी सेर्मानले यसै विषयमा भारतीय विदेशसचिव सुजाता सिंहसँग वार्ता गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता म्यारी हार्फले पत्रकारहरूलाई हाल आफूहरू सम्बन्धलाई अगाडि बढाउने कुरामा केन्द्रित रहेको बताए ।

तर शुक्रबार यी प्रयासहरूले भारत सरकारलाई मनाउन सकेको देखिएको छैन, उसले आफूलाई उदाउँदो शक्तिको रूपमा हेरेको छ र अमेरिकाले उसलाई समान शक्तिको रूपमा सम्मान गरोस् भन्ने चाहेको छ ।

भारतीय संसदीय मामिला मन्त्री कमलनाथले अमेरिकाले माफी माग्नुपर्ने र भारतविरुद्ध यस्ता कार्य कुनै पनि हालतमा स्वीकार नगरिने पत्रकारहरूलाई बताए । उनले भने, ‘अमेरिकाले बुझ्नुपर्छ कि विश्व परिवर्तन भएको छ, समय परिवर्तन भएको छ र भारत परिवर्तन भएको छ’ ।

उनले देवयानीको विषयमा अमेरिकाले देखाएको आचरण र प्रवृत्ति भारतका लागि मात्र होइन सबै मुलुकका लागि चिन्ताको विषय भएको र सबैले आफ्नो आवाज उठाउनुपर्ने बताए ।

विदेशमन्त्री सलमान खुर्शीदले आफूले यस विषयमा अमेरिकी विदेशमन्त्री केरीसँग वार्ता गर्नसक्ने र त्यो कडा वार्ता हुने धारणा व्यक्त गरेका छन् ।

खुर्शीदले भारतको भ्रमणमा रहनुभएको भेनेजुयलाका विदेशमन्त्रीसँग वार्तापछि पत्रकारहरूलाई यी कुरा क्रुद्ध बनाउने, पीडादायक तथा अस्वीकार्य घटना भएपछि दिइने प्रतिक्रिया भएको बताए ।

उनले यस विषयमा समाधान खोज्नुपर्ने र आफूहरूले प्राप्त गर्ने बताए । ३९ वर्षीया कूटनीतिज्ञलाई घरेलु कामदारलाई न्यू योर्कका लागि तोकिएको न्यूनतम वेतन भन्दा कम बेतन दिएको र निजको प्रवेशषाज्ञाका लागि गलत विवरण दिएको आरोपमा पक्राउ गरिएको थियो र उनी हाल धरौटीमा रिहा भएकी छन् ।

अमेरिकी सरकारी वकिल प्रित भराराले खोब्रागडेलाई अमेरिकी कानुनी राज्यको सिद्धान्तअनुसार पक्राउ गरिएको बताए । भारतले खोब्रागडेलाई हाल न्यु योर्कस्थित अमेरिकी नियोगमा सरुवा गरेको छ तर त्यसका लागि पनि अमेरिकी विदेश मन्त्रालयको सहमति आवश्यक छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकामा न्यायिक प्रक्रिया स्वतन्त्र भएकाले सरकारले यो मुद्दा फिर्ता गर्न नसक्ने बताए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us