
युरोपेली अन्तरिक्ष संस्थाले, उसकै शब्दमा, अन्तरिक्ष अन्वेषणको इतिहासमा अहिलेसम्मको सबैभन्दा महत्वाकांक्षी अभियान शुरु गरिएको जनाएको छ।
फ्रेन्च गियानाबाट गाया दूरदर्शक यन्त्र जडित भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको थियो।
उक्त भूउपग्रहले एक अर्ब ताराहरुको गतिलाई मापन गरी तारापुन्ज भनिने आकाशगङ्गाको एउटा अभूतपूर्व त्रिआयामिक नक्सा बनाउने उद्देश्य लिएको छ।
प्रक्षेपण
झण्डै साढे सात करोड युरो लागतमा तयार गरिएको उपग्रह फ्रेन्च गिनीबाट स्थानीय समय अनुसार बिहान छ बजेर बाह्र मिनट जाँदा प्रक्षेपण गरिएको थियो।
गाया भूउपग्रहले एक अर्ब भन्दा बढी ताराहरुको निश्चित स्थान र दूरीको मापन गर्नेछ।
यसबाट आकाशगँगा भनिने तारापुन्जहरुको समूह कसरी बनेको छ भन्ने एउटा पहिलो, वास्तविक चित्र प्राप्त हुने अपेक्षा गरिएको छ।
अपेक्षा
उक्त उपग्रहले यसअघि नदेखिएका ग्रह तथा ससाना ताराहरु सहित लाखौं नयाँ पिण्डहरु पत्ता लगाउने वैज्ञानिकहरुले अपेक्षा गरेका छन्।
उक्त भूउपग्रह अहिले पृथ्वी भन्दा झण्डै पन्ध्रलाख किलोमिटर टाढा रहेको एउटा पर्यवेक्षण केन्द्रतर्फ यात्रा गरिरहेको छ। सो यात्रा पुरा गर्न झण्डै एक महिना लाग्नेछ।
आउँदो एक दशकसम्म गाया भूउपग्रहले संकलन गर्ने तथ्याङ्कहरु झण्डै दुईलाखा वटा डिभिडिहरुमा राखिएको सूचना बराबर हुने ठानिएको छ, र तिनको विश्लेषण गर्न अन्तरिक्ष वैज्ञानिकहरुलाई दशकौं लाग्ने अनुमान गरिएको छ। BBC