मापदण्ड विपरीतका दर्जन उद्योग शिलबन्दी

काठमाण्डु टुडे २०७० पुष १ गते ५:५६ मा प्रकाशित

Talabandiललितपुर, १ पुस–वातावरण विभागले काठमाण्डु उपत्यकाभित्र पर्यावरण बिगार्ने गरी मापदण्डविपरीत संचालन भइरहेका उद्योग, व्यवसाय तथा कलकारखानामाथि अनुगमन तथा कारवाही तीव्र पारेको छ । न्यूनतम मापदण्डसमेत पूरा नगरी वातावरणलाई प्रत्यक्ष हानी पुर्‍याउने गरी संचालित उद्योगमाथि विभागले निगरानी तथा कार्वाही प्रक्रिया अघि बढाएको हो ।
अनुगमनकै क्रममा वातावरण प्रदुषण तथा मानव स्वास्थ्यमा सोझै हानी पुर्‍याउने गतिविधि गरी गैरकानुनी ढंगले संचालन भइरहेका वासिङ्ग, डाइङ्ग प्लान्ट तथा कपडा छपाईंलगायतका काम गर्ने एक दर्जन उद्योगमा विभागले शिलबन्दी गरेको छ ।

विभागका महानिर्देशक डा. युवक ध्वज जि.सी. संयोजकत्वको टोलीले अन्य सरोकारवाला सरकारी निकायसमेतको समन्वयमा विभिन्न स्थानमा अवस्थित ती उद्योगहरू बन्द गराई कार्वाही प्रक्रिया अघि बढाएको हो । पटक–पटक सचेत गराउ“दा समेत मापदण्डअनुरूप उद्योग संचालन या बन्द गर्न अटेर गरेपछि आक्रमक रणनीति लिनु परेको महानिर्देशक जि.सी.ले जानकारी दिए । ‘मानव स्वास्थ्यमा सोझै असर पर्ने खालका रसायन प्रयोग गरिएको, त्यसबाट निस्कने रसायनयुक्त फोहोर सिधै नदीमा मिसाइएको पाइएकाले उद्योग शिलबन्दी गरेका हौं,’ जि.सी.ले भने, ‘वातावरणीय सन्तुलन बिगार्ने तथा मानव स्वास्थ्यमा प्रत्यक्ष हानीनोक्सानी पुर्याउने गरी संचालन भइरहेका अरू पनि उद्योगहरूमाथि निगरानी बढाउँदैछौं ।’

विभागले पछिल्लो पटक शिलबन्दी तथा बन्दका लागि सिफारिस गरेका उद्योगहरूमा जयमातादी वासिङ्ग एवम् एस. के. डाइङ्ग तथा वासिङ्ग, आर. के. डाइङ्ग, इल्लाम खान (समिर)डाइङ्ग, अलिम खान डाइङ्ग, अमिन खान डाइङ्ग, समिन खान डाइङ्ग एन्ड प्रिन्टिङ्ग, बब्लु खान डाइङ्ग एन्ड प्रिन्टिङ्ग र बब्लु खान डाइङ्ग एन्ड प्रिन्टिङ्ग छन् । त्यसैगरी अब्दुल खान डाइङ्ग, आलम सेख डाइङ्ग एन्ड प्रिन्टिङ्ग, मन्सुर आलम डाइङ्ग, उस्मान खान डाइङ्ग र नसिन खान डाइङ्ग उद्योग रहेका छन् ।

IMG_1236

वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ ले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने गरी वा जनजीवन र जनस्वास्थ्यका लागि खतरा हुनसक्ने किसिमले उद्योग वा व्यवसाय संचालन गर्न रोक लगाएको छ । ऐनको दफा ७ (१) मा भनिएको छ, ‘कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने गरी वा जनजीवन र जनस्वास्थ्यका लागि खतरा हुनसक्ने किसिमले प्रदुषण सृजना गर्न वा तोकिएको मापदण्डविपरीत कुनै यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउ“बाट ध्वनि, ताप, रेडियोधर्मी विकिरण तथा फोहोरमैला निष्कासन गर्न, गराउन हुँदैन । कुनै पनि संस्था या व्यक्तिले ऐन तथा निर्देशिकाविपरीत काम गरेमा ऐनकै दफा १८ (२) मा त्यस्तो कार्य तुरुन्त बन्द गराई कसूरको मात्रा हेरी पचार हजार रुपैया“सम्म जरिवाना गर्न सकिने’ व्यवस्था छ ।

बागमती र विष्णुमती नदी किनारमा अवैध रूपमा संचालन भइरहेका यस्ता दर्जनौं उद्योग तथा व्यवसायबाट निस्कासित विषाक्त फोहोमैला तथा रसायनका कारण जल, जमिन र हावामा प्रदुषणको मात्रा बढेको विभागले जनाएको छ ।
मुख्यसचिव लिलामणि पौडेलको अग्रसरतामा विभिन्न निकायहरूको सहभागितामा बागमती नदी सफाई अभियान संचालन भैरहेको सन्दर्भमा यी व्यवसाय तथा उद्योगहरूको अनुगमनले नदी सरसफाइमा समेत सघाउ पुर्‍याइरहेको सो अभियानमा संलग्न संस्थाहरुले जनाएका छन् । विभागको सक्रियतापछि पशुपति र तिलगंगा क्षेत्रका उद्योग तथा व्यवसाय बन्द भएकाले बागमती सरसफाइजस्तो महत्वपूर्ण काममा समेत सघाउ पुगेको डाक्टर जि.सी.को दावी छ । वातावरणलाई हानीनोक्सानी गर्ने कार्यको रोकथाममा तिब्रता तथा निरन्तरता दिनुपर्ने मुख्यसचिव पौडेलको समेत सुझाव रहेको उनले बताए । कपडा रंगाउने रसायनबाट हावा, पानी तथा माटो प्रदुषित हुनुका साथै मानव स्वास्थ्यमा समेत गम्भीर असर परेकोले अन्यत्र समेत अनुगमन तीब्र पारिएको विभागका केमिष्ट देविप्रसाद भण्डारीले जानकारी दिए ।
विभागको प्रारम्भिक आंकलनअनुसार काठमाण्डुका नदी किनारमामात्र न्यूनतम मापदण्डविपरीत सयौं ड्राई क्लिनिङ्ग, कपडा रंगाउने तथा पेन्टिङ्ग उद्योग संचालनमा छन् । तीमध्ये अधिकांशले सरकारी निकायलाई छलेर व्यवसाय चलाइरहेका फेला परेको छ । गत साउनमै कतिपय स्थानमा यस्ता उद्योगहरूलाई तत्काल बन्द गर्न चेतावनी दिइसके पनि अटेर गरेर लुकीछिपी व्यवसाय चलाएपछि विभाग कडा रूपमा प्रस्तुत भएको हो ।

विद्यमान ऐन र नियमावलीमा कतिपय व्यवस्था अपर्याप्त रहेकाले त्यसको सुधारको खाँचो रहेको र त्यसका लागि समेत पहल भइरहेको विभागले जानकारी दिएको छ । मन्त्रिपरिषदको २०६९ साउन १२ गतेको निर्णयअनुसार गठन भएको विभागले गत चैत १ देखिमात्र काम थालेको र भौतिक पूर्वाधार र पर्याप्त जनशक्ति अझै व्यवस्थपन भइनसकेकाले सोचेअनुरुप नतिजा निस्कन भने अझै केही समय कुर्नुपर्नेछ । यद्यपि, विभागले भक्तपुरमा संचालित इँटा भट्टाबाट भएको प्रदुषण, विभिन्न अस्पतालहरूबाट निस्कने हानिकारक फोहोरमैला तथा विषाक्त पदार्थ, मापदण्डविपरीतका प्लाष्टिक झोला तथा प्लाष्टिकजन्य पदार्थका साथै सवारी साधनले गर्ने प्रदुषण न्यूनीकरणका लागि चरणबद्ध रूपमा अभियान संचालन गर्दै आएको जनाएको छ । स्वच्छ वातावरण सबैका लागि अपरिहार्य रहेकाले प्रदुषण न्यूनीकरण अभियानमा सरोकारवाला सबैको साथ र सहयोग अपरिहार्य रहेको महानिर्देशक जि.सी.ले बताउनुभयो । विभागले वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रस्ताव कार्यान्वयन भई सेवा वितरण तथा उत्पादन सुरु भएको दुई वर्षपछि त्यस्तो प्रस्ताव कार्यान्वयनबाट वातावरणमा पर्न गएको प्रभावको वातावरणीय परीक्षण समेत गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us