माओवादीमा भोट माग्ने र बहिस्कार गर्ने दुवै सही ठहरिए

काठमाण्डु टुडे २०७० मंसिर ३० गते १३:०६ मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी केन्द्रीय समिति बैठकले एकीकृत माओवादी उम्मेदवारलाई पराजित गराउन काँग्रेस–एमाले mohanउम्मेदवारका पक्षमा भोट माग्ने र जीवन हत्केलामा राखेर सशक्त बहिस्कार आन्दोलन सञ्चालन गर्ने दुवैथरी नेता कार्यकर्ता सही ठहर्‍याएको छ ।
अध्यक्ष मोहन वैद्यले पेश गरेको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने एक सय ४१ मध्ये अधिकांश सदस्यले पार्टीले निर्वाचन बहिस्कार गर्ने नीति लिए पनि देशभर एकीकृत माओवादी उम्मेदवारलाई हराउन काँग्रेस–एमाले उम्मेदवारसँग रकम लिने नेता कार्यकर्तामाथि कारबाही गरिनुपर्ने आवाज उठाएका थिए । तर बैठकमा बोल्ने अध्यक्ष वेद्यसहितका शीर्ष त्यसबारे केही बताएनन्  ।

बैठकले पार्टीमा उत्साह ल्याउन नसकेपछि भावी कार्यदिशा तय गर्न आगामी असारमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णयसहित बैठक सकिएको छ । एक नेताका अनुसार राजनीतिक कार्यदिशा र संगठनात्मक विवाद मिलाउन असारमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिएको छ ।

बैठकमा पोलिटव्युरो सदस्य हितमान शाक्य,नेवा राज्य समितिका इन्चार्ज दिनेश शर्मा,ताम्सालिङ एक नेताका अनुसार राज्य समितिका इन्चार्ज सुर्य सुवेदीले मंसिर ४ को संबिधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ एकीकृत माओवादीका उम्मेदवारलाई पराजित गर्न सक्ने काँग्रेस एमालेका उम्मेदवारका पक्षमा मतदान गर्न जारी गरेको सर्कुलर पार्टीको पोलिटव्यूरो बैठकको निर्णय कार्यान्वयन गराएको तर्क पेश गरेका थिए ।

केन्द्रीय सदस्य निरु दर्लामीले सिन्धुमा आफूहरुले पार्टीको निर्देशन पालना गर्ने क्रममा काँग्रेस उम्मेदवारका पक्षमा भोट माग्नु पर्दा आफूलाई भएको पीडा सुनाएकी थिइन । केन्द्रीय सदस्य अनिल शर्मा बिरहीले भने सुर्य सुवेदी र दिनेश शर्माले जारी गरेका सर्कुलर प्रमाणको रुपमा बैठकमा पेश गरेका थिए ।

बैठकमा कि निर्वाचनमा काँग्रेस एमालेको पक्षमा भोट माग्नेलाई कार्वाही गर्नु पर्ने कि त बहिस्कार आन्दोलनमा होमिएकाहरुलाई कार्वाही गर्नु पर्ने आवाज व्यापक रुपमा उठेको थियो तर त्यसबारे अध्यक्ष बैद्यले कुनै जवाफ नदिएपछि भोट माग्ने र बहिस्कार गर्ने दुवै सही ठहरिएको अर्का एक नेताले बताए ।

ललितपुरको कुपण्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा बसेको बैठकमा अध्यक्ष वैद्यले प्रस्तुत गर्नुभएको ‘जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा’ र ‘संविधानसभा विघटन गरी उच्चस्तरीय शक्तिशाली सर्वपक्षीय सम्मेलनबाट संविधान लेखिनुपर्ने’ तत्कालीन कार्यनीतिसहितको लिखित प्रतिवेदन सर्वसम्मत रूपले पारित गरिएको सचिव देव गुरुङले बताए ।

   बैठकले सहमतिको सम्भावना न्यून रहेको ठहर गर्दै सङ्घर्षका कार्यक्रमसहित पार्टी अगाडि बढ्ने निर्णय गरेको सचिव गुरुङले बताए । उनले भने “वार्ता र संवादको माध्यमबाट सहमति कायम हुने न्यून सम्भावना देखिएको बैठकले ठहर गरेको छ, तापनि वार्ताको ढोका पनि खुल्ला राख्दै आन्दोलनको तयारीमा लाग्ने निर्णय बैठकले गरेको छ ।” बैठकमा १५१ सदस्यीय केन्द्रीय समितिका सदस्य र ३५ सदस्यीय सल्लाहकार समितिका सदस्यमध्ये १४१ जनाले आ–आफ्ना धारणा राखेका थिए ।

मंसिर २३ गते शुरु भएको केन्द्रीय समितिको बैठक शनिवार सकिएको हो । बैठकका निर्णय सार्वजनिक गर्न सोमबार दिउसो १ बजे कुपण्डोलमा पत्रकार सम्मेलन आयोजना गरिदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us