
अमेरिका, २९ मंसिर– संयुक्त राष्ट्र सङ्घले शुक्रबार प्रकाशन गरेको एक प्रतिवेदनमा महासचिव बान कि–मुनले सिरियामा रासायनिक हतियार प्रयोग गर्ने जिम्मेवार व्यक्तिहरूमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।
उक्त प्रतिवेदनमा दमासकसले प्रतिबन्धित हतियार प्रयोग नगर्न सहमति गर्नुपूर्व पाँच पटक रासायनिक प्रयोग भएको उल्लेख गरिएको छ । महासचिव बानले संयुक्त राष्ट्र सङ्घको महासभामा आफूले सिरियामा यस्तो हतियारको प्रयोगको सकेसम्म कडा शब्दमा भत्र्सना गर्ने बताउँदै यो मानवताको विश्वव्यापी मूल्यविपरीत भएको बताए ।
निरीक्षकहरूलाई जिम्मेवार पक्षको बारेमा उल्लेख गर्न अनुमति नदिइएकाले प्रतिवेदनमा आक्रमणका लागि कसैमाथि पनि आरोप लगाइएको छैन । उनले रासायनिक हतियार फेरि कहिल्यै पनि युद्धको औजार नहोस् भनी सुनिश्चित गर्न र यस्तो घटना हुननदिन हतियार प्रयोगका लागि जिम्मेवार व्यक्तिको खोजी गर्नु अन्तर्राष्ट्रिय समुदायको नैतिक तथा राजनीतिक जिम्मेवारी भएको बताए ।
उनले सिरियामा रासायनिक हतियार नष्ट गर्ने कार्यमा प्रगति भएकोमा आफू अभिप्रेरित भएको पनि उल्लेख गरे । रासस÷एएफपी