अमेरिकालाई चीनले दियो चुनौती

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ७:२८ मा प्रकाशित

वासिङ्टन, २९ मंसिर–चीनको एक नौसैनिक जहाज गत साता दक्षिण चीन जल क्षेत्रमा तनावपूर्ण अवस्थामा एक अमेरिकी युद्धक जहाजसँग डरलाग्दो रूपमा नजिक पुगेको जानकारी अमेरिकी सैनिक अधिकारीहरुले शुक्रबार दिएका छन् ।
नौसैनिक अधिकारी तथा प्रतिरक्षा अधिकारीहरुले चिनियाँ जहाज निर्देशित क्षेप्यास्त्र क्रुइजर युएसएस काउपेन्सको सोझै अगाडि आएर अडिएको र दुर्घटना हुन नदिन अमेरिकी जहाज मोडिन बाध्य भएको जानकारी दिए ।
एक प्रतिरक्षा अधिकारीले जल तथा थल दुबैमा चलाउन मिल्ने चिनियाँ जहाज अमेरिकी युद्धकजहाजभन्दा ५०० यार्डभन्दा कम दूरीमा अगाडि आएर रोकिएको बताए ।
आफ्नो परिचय दिन नचाहने यी अधिकारीले इमेलमा उक्त घटना दक्षिण चीन जल क्षेत्रमा डिसेम्बर ५ मा भएको बताएका छन् ।
तत्कालै अमेरिकी तथा चिनियाँ नाविकहरुले प्रभावकारी रूपमा सञ्चार कायम गरी दुबै जहाजलाई सुरक्षित स्थलतर्फ लगेको ती अधिकारीले उल्लेख गरेका छन् ।
ती अधिकारीले काउपेन्स चीनको नयाँ विमानवाहक जहाज लियाओनिङनजिकै पुगेको बताए । यो घटना शान्तिपूर्ण रूपमा टरे पनि यसले बेइजिङले पूर्वी चीन जल क्षेत्रमा हवाइ प्रतिरक्षा पहिचान क्षेत्र घोषणा गरेपछि अमेरिका तथा चीनबीच बढेको तनाव प्रष्ट पार्ने बताइएको छ ।
दक्षिण चीन जल क्षेत्रमा अन्य मुलुकले दाबी गरेको क्षेत्रमा बेइजिङले उग्र रूपमा नियन्त्रण कायम गर्न प्रयास गरेपछि गत साताको द्वन्द्व भएको ठानिएको छ ।
अमेरिकाले निरन्तर रूपमा अन्तर्राष्ट्रिय जल तथा हवाइ क्षेत्रमा आफ्नो सञ्चालन कायम राख्ने बताएको छ र दक्षिणपूर्वी एसियामा आफ्नो उपस्थिति बढाएको छ ।
चीनले पश्चिमी प्रशान्त क्षेत्रका केही भागलाई आर्थिक रूपमा भिन्न क्षेत्रको रूपमा घोषणा गरेको छ भने अमेरिकाले उक्त क्षेत्र बेइजिङको नियन्त्रण बाहिरको अन्तर्राष्ट्रिय क्षेत्रको रूपमा लिएको छ । PLA China
अमेरिकी सैनिक अधिकृतहरुले चीनको हवाइ प्रतिरक्षा क्षेत्रले तनाब बढाउने र डरलाग्दो घटना गराउनसक्ने बताएका छन् । अमेरिकाले चीनको हवाई क्षेत्रलाई अस्वीकार गर्दै बेइजिङलाई जानकारी नै नदिइ आफ्नो बी–५२ बमवर्षक विमान पठाएको थियो ।
सैनिक अधिकारीहरुले दुबै मुलुकलाई असमझदारी हुननदिन सैनिक सम्बन्ध बलियो बनाउन आग्रह गरेका छन् ।
अमेरिकी नेताहरु चीनसँग स्थिर तथा निरन्तर सैनिक सम्बन्ध स्थापना गर्न बचनबद्ध भएको र जल क्षेत्रमा भएको झडप रणनीतिक वा कार्यनीतिक जे भए पनि भरपर्दो सञ्चारले दुर्घटनाको जोखिम कम गराउनसक्ने र यो नै चीन तथा अमेरिकाको हितमा हुने कुरामा स्पष्ट भएको प्रतिरक्षा अधिकारीहरुले बताएका छन् । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us