ग्यासको अभावले दाउराको खपत बढ्यो

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ६:२० मा प्रकाशित

महेन्द्रनगर २९ मंसिर–कञ्चनपुरमा खाना पकाउने एलपी ग्यासको अभावसँगै दाउराको खपत बढेको छ । ग्यासको नियमित आपूर्ति हुन नसक्दा यहाँका स्थानीय बासिन्दा र होटेल सञ्चालकहरुले दाउराको प्रयोग गर्न थालेका हुन् ।
६ महिनादेखि भारतबाटै कम ग्यास आउन लागेको भन्दै ग्यास कम्पनीहरुले ग्यास बिक्रेताहरुलाई दिँदै आएको ग्यासको कोटामा आधाले कटौती गरेपछि विकल्पका रुपमा सर्वसाधारणले दाउरा प्रयोग गर्न बाध्य भएका हुन् । सामुदायिक वन, जिल्ला वन कार्यालय र स्थानीय समिलहरुबाट सर्वसाधारणले दाउरा खरिद गर्दै आएका छन् ।
ग्यासको अभावमा सबैले दाउराको माग गर्न थालेकाले दाउराको आपूर्तिसमेत गर्न नसकिने अवस्था रहेको जिल्ला वन कार्यालयका प्रमुख लालनारायण सिंहले बताए । “सीमित मात्रामै वन कार्यालयमा दाउरा भएकाले सबैलाई दिन सकिने अवस्था छैन”, उनले भने । wood
धेरै लामो समयदेखि समिलहरुलाई वन कार्यालयले काठ उपलब्ध नगराएकाले दाउराको माग गर्दै आएकालाई दाउरा दिन धौधौ परेको समिल सञ्चालन गर्दै आएका सिद्धराज भट्टले बताए । पहिला दुई क्विन्टलसमेत मुस्किलले खपत हुने दाउरा हाल एक समिलबाट मात्रै दैनिक ३० क्विन्टलभन्दा बढी दाउरा खपत हुँदै आएको छ ।
बजारमा बेच्नका लागि ल्याउने गरिएको दाउरा प्रतिभारी रु ३०० देखि रु ५०० मा खरिद गरेर होटेल सञ्चालन गर्दै आएको झलारीका धनबहादुर रावलले बताए ।
ग्यासको अभावले डेरा गरेर बस्दै आएका विद्यार्थीले बढी समस्या खेप्नुपरेको छ । ग्यास डिलरकहाँ पुग्दा ग्यास छैन भनेर फर्काउने गरेकाले विकल्पका रुपमा दाउरा खोज्दै हिँडेको विद्यार्थी नरेश लुहारले बताए ।     यहाँ मनकामना, रेडियन्ट र भेरी ग्यास कम्पनीले डिलरमार्फत ग्यास उपलब्ध गराउने व्यवस्था गरेको छ ।
भारतको मथुराबाट आपूर्ति हुँदै आएको ग्यास हाल भारतकै बरौनीबाट आउन थालेपछि ग्यासको कोटामा आधाले कटौती भएको ग्यास बिक्रेताको भनाइ  छ । होटल सञ्चालकका अनुसार ग्यासको अभावमा दाउरा महँगो भएकाले होटेल सञ्चालन गर्न अप्ठेरो परिरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us