
जनकपुरधाम, २८ मंसिर– आफ्नै श्रीमतीको हत्या गरी आफ्ना रक्षाका लागि डाँका आएको भनी नाटकीय रुपमा होहल्ला गरी स्थानीय बासिन्दा र प्रहरीलाई ढाँट्ने कोसिस गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नी श्रीमती बबिता यादवको हत्या गरी यस्तो नाटक रच्ने धनुषा जिल्ला कटेश्वर गाविस–८ का विश्वनाथ यादव घटनाको चौबिस घण्टाभित्रै प्रहरीको फन्दा परेका हुन् ।
प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले पारिवारिक विवादमा विश्वनाथले घरमा रहेको बन्चरोले टाउको र घाँटीमा प्रहार गरी ओछ्यानमै बबिताको हत्या गरेको पुष्टि भएको बताए ।
विश्वनाथले श्रीमतीको हत्या गरी घरमा डाँका आएको आफूलाई डाँकाले खेतबारीमा लगेको, कुटपिट गरेको र सामानहरु लगेको हल्ला गर्दा प्रहरीको विशेष टोलीले सो क्षेत्रलाई नाकाबन्दी गरी अनुसन्धान गर्दा यो तथ्य खुलेको हो ।
मृतकका बुबा महेश्वर यादवको जोहरीबमोजिम विश्वनाथमाथि मुलुकी ऐन, ज्यानसम्बन्धी महलअनुसार अनुसन्धान सुरु गरिएको जनाइएको छ ।