पाकिस्तानमा नयाँ प्रधानन्यायाधीश

काठमाण्डु टुडे २०७० मंसिर २७ गते १८:१५ मा प्रकाशित

इस्लामाबाद, २७ मङ्सिर–पाकिस्तानका नयाँ प्रधान न्यायाधीश तसादक हुसेन जिलानीले बिहीबार राष्ट्रपति मामनुन हुसेनसमक्ष सपथग्रहण गरेका छन । पूर्व प्रधानन्यायाधीश इफ्तिखार मुहम्मद चौधरीले एक दिन अगाडि अवकाश लिएका थिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री नवाज सरिफ, चौधरी, मन्त्रीसहित उच्च सरकारी अधिकारीहरू उक्त कार्यक्रममा उपस्थित थिए ।
    चौधरीलाई सन् २००५ मा तत्कालीन सैनिक शासक पर्वेज मुसर्रफले नियुक्त गरेका थिए । उनले नै पूर्व सैनिक जनरलको पतनको योजना बनाएको बताइन्छ ।
    केहीले राजनीतिज्ञ र सुरक्षा नियकायका विषयमा निडर भएर निर्णय गरेको बताएका छन् भने केहीले चौधरीले प्रधानन्यायाधीशको वास्तविक अधिकार उल्लङ्घन गर्न राजनीतिक विषयमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
    गत वर्ष जुन महिनामा उनले तत्कालीन प्रधानमन्त्री युसुफ रजा गिलानीलाई अदालतको मानहानीमा दोषी ठहर गरेपछि उनलाई बर्खास्त गर्ने सर्वोच्च अदालतको इजलासको अध्यक्षता गरेका थिए । उक्त पाइलालाई केहीले ‘न्यायिक विद्रोह’ मानेका थिए । तत्कालीन राष्ट्रपति असिफ अली जर्दारीले भ्रष्टाचार गरेको विषयमा न्यायपालिका तथा सरकारबीच लामो समयसम्म विवाद चलेको थियो ।
    चौधरीले पाकिस्तानको सैनिक तथा गुप्तचर संस्थाहरूलाई पनि उनीहरूको हिरासतमा रहेका व्यक्ति हराएको विषयमा जवाफ दिन बाध्य बनाएका थिए । यी संस्थामाथि सामान्यतया कारबाही गर्न सकिँदैन भन्ने ठानिन्थ्यो ।
    कानुनी वृत्तमा प्रधानन्यायाधीश जिलानी शान्त स्वभावका मानिन्छन । उनी सन् २००४ मा सर्वोच्च अदालतमा न्यायाधीश थिए । मुसर्रफले २००७ मा आपतकाल लागू गर्दा उनी पनि पदच्युत भएका थिए ।
    न्यायाधीशहरूलाई अनुचित व्यवहार गरेको आरोपमा वकिलहरूको बढ्दो विरोधका कारण मुसर्रफले सेना प्रमुखबाट राजिनामा दिनुपरेको थियो भने उनले सन् २००८ मा आम निर्वाचनमा पराजय भोगेका थिए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us