यसरी हुँदो रैछ शिक्षा सेवा आयोगमा चलखेल

काठमाण्डु टुडे २०७० मंसिर २६ गते ४:२३ मा प्रकाशित

Shik6ya-Sewa-aayogकाठमाण्डु- स्थायी शिक्षकको नतिजामा आफ्नो नाम देखेपछि मैतीदेवीकी बिन्ती श्रेष्ठले आफन्त र साथीहरूसँग खुसियाली मनाइन् । सेनामा क्याप्टेन रहेका श्रीमानसँग खुसियाली साटासाट गरिन् । भावी योजनासमेत बनाइन् । शिक्षक सेवा आयोगले गत जेठमा लिएको परीक्षाको नतिजा मंसिर १९ मा सार्वजनिक गर्दा उनको नाम माध्यमिक तहमा स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा निस्केको थियो । उनको नाम खुला, महिला र आदिवासी जनजातिमा थियो ।

खुसी साट्न साथी र आफन्तलाई लड्डुसमेत बाँडिन् । फोनबाट धेरैले बधाईसमेत दिए । तर, उनको खुसी तीन दिनभन्दा बढी टिक्न सकेन । आयोगले निकालेको पहिलो सूचनामा त्रुटि भएको भन्दै ३ दिनपछि मंसिर २२ मा अर्को सूचनामा आफ्नो नाम नदेखेपछि उनलाई आकाश खसेर थिचेजस्तै भयो । ‘अघिल्लो सूचनामा तीन ठाउँमा नाम देखेकी थिएँ, दोस्रो सूचनामा नाम नदेख्दा त आकाशले थिचेजस्तो भयो,’ उनले भनिन् ।

आयोगको लापरबाहीले यस्तो समस्या उनको मात्रै होइन, पहिलो सूचनामा परेका १९ जना मानसिक तनावमा छन् । स्थायी शिक्षकका लागि १७ वर्षपछि खुलेको विज्ञापनमा लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा माध्यमिक तहको स्वास्थ्य तथा शारीरिक विषयको लिखित परीक्षाको नतिजा दुई पटक प्रकाशित गरेपछि आयोगको कामप्रति शंका उब्जिएको हो । आयोगले मुलुकभरिका लागि १३ हजार ५९ शिक्षकको विज्ञापन गरेको थियो । त्यसमा ४ लाख १३ हजारले परीक्षा दिएका थिए । माध्यमिक तहको नतिजा सार्वजनिक गरिसकेको छ  ।

आर्थिक लेनदेनका आधारमा विद्यालय तहको स्थायी शिक्षकको नाम सार्वजनिक गरेको भन्दै शिक्षक सेवा आयोगको विरोध हुन थालेको छ । माध्यमिक तहको नतिजामा काठमाडौंको स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको अघिल्लो सार्वजनिक गरेको पहिलो सूचना गल्ती भएको भन्दै अर्को सूचना प्रकाशित गरेपछि आयोगको काम विवादमा पर्न थालेको हो । १९ मंसिरमा आयोगले पहिलो पटक १९ जनाको नाम सार्वजनिक गरेको थियो । तर, मंसिर २२ मा आयोगले प्रकाशित गरेको सूचनामा १८ जना अनुत्तीर्ण भएका छन् । पहिलो नतिजामा पास भनिएका दलित कोटाबाट सरस्वती रम्तेलबाहेक अन्यको नाम परेको छैन ।

पहिलो सूचनामा खुल्लामा ८, महिलामा ७ जना, आदिवासी जनजाति ४, मधेसी ४ र दलित १ जनाको नाम सार्वजनिक गरेको थियो ।

दोस्रो सूचनामा खुलामा ७, महिलामा ५, आदिवासी ६, मधेसी ३, दलितमा ४ जना छन् । आयोगले दोस्रो सूचना प्रकाशित गरेपछि पहिलो सूचनामा पास भनिएका परीक्षार्थी तनावमा छन् । लिखितमा नाम निकालेपछि परीक्षार्थीले खुसियाली बाँडिरहेकै बेला तीन दिनपछि आयोगले अर्को नतिजा सार्वजनिक गरेको थियो । सूचनामा भनिएको छ, ‘स्वास्थ्य र शारीरिक विषयको नतिजा तीनवटा परीक्षा केन्द्रको एकीकृत गरी प्रकाशन गर्नुपर्नेमा प्राविधिक कारणवश एउटा केन्द्रका आधारमा नतिजा प्रकाशन हुन गएकाले तीनवटै केन्द्रलाई एकीकृत गरी देखाएको संशोधित नतिजा प्रकाशन गरिएको छ ।’

त्यस्तै मंसिर ११ को सूचनाले आयोगको काम कस्तो छ भन्ने थप प्रस्ट हुन्छ । मंसिर ११ को सूचनामा पास नभएका व्यक्ति १२ गतेको सूचना प्रकाशित गरी ‘अघिल्लो दिनको सूचनामा नाम छुटेको भन्दै सच्याएको छ । सूचनामा भनिएको छ, ‘११ गतेको गोरखापत्रमा प्रकाशन हुँदा भूलवश रोल नम्बर ७२१०२००१८४ का रामबहादुर भण्डारीको नाम छुट हुन गएकाले सच्याइएको छ ।’

चलखेल गरेर एउटै विषयमा पहिलो नतिजा रद्द गरेर दोस्रो नतिजा प्रकाशित गरेको भन्दै पीडित परीक्षार्थीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् । पीडित परिक्षार्थीले अख्तियारमा पेस गरेको उजुरीमा भनिएको छ, ‘यति ठूलो त्रुटिलाई समेत आयोगले प्राविधिक कारण देखाई आफ्नो गल्तीलाई ढाकछोप गरेको र आयोगभित्र व्यापक चलखेलसमेत भई नतिजा परिवर्तन गरिएको आशंका हामीलाई भएकाले विषयको अन्तर्वार्तासहितको सम्पूर्ण कार्यक्रम खारेज गरी उत्तरपुस्तिका र नतिजासहितको सम्पूर्ण कागजात जफत गरी छानबिन गर्न आग्रह गर्छौं ।’

आयोगका प्रशासकीय प्रमुख खगेन्द्र नेपालले आयोगले गरेको काममा शंका नगर्न आग्रह गरे । ‘तेब्बर कोड गरेर कापी परीक्षण गरेका छौं । कसको कुन कापी हो पत्ता नलाग्ने व्यवस्था गरेका थियौं,’ उनले भने, ‘आर्थिक लेनदेन गरेर पास गरायो भन्ने त कल्पनासमेत गर्न सकिँदैन । निष्पक्ष काम भएकै कारण आयोगका कर्मचारीको आफन्तसमेत फेल भएका छन् । भनसुनको आधारमा हुने भए पास हुन्थे होला ।’ काठमाडौंको स्वास्थ्य शारीरिकमा आयोगबाट प्राविधिक त्रुटि भएको उनले बताए । – कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us