कमल थापा बिरुद्ध १८ नेताको उजुरी

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १५:४८ मा प्रकाशित

Kamal-Thapaकाठमाण्डु, २५ मंसिर -काठमाण्डु २५ मंसिर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालभित्र समानुपातिक सभासदको नाम सिफारिसका विषयमा विवाद चर्कदै गएको छ । अध्यक्ष कमल थापाले एकलौटी रुपमा, पार्टीको विधान विपरित सभासद्को रुपमा आफू निकटका नेताहरुको नाम सिफारिस गरेको भन्दै असन्तुष्ट केन्द्रिय पदाधिकारी सहित १८ जनाले निर्वाचन आयोगमा उजुरी दिएका छन् । केन्द्रिय समितिको बैठकले नाम सिफारिस गर्नुपर्ने प्रावधान भएपनि अध्यक्ष थापाले आफुखुशी नाम सिफारिस गरेकाले त्यो सिफारिस आधिकारिक नभएको जिकिर सहित उजुरी गरिएको केन्द्रिय सदस्य बालकृष्ण न्यौपानेले जानकारी दिए ।
उजुरीमा सहमहामन्त्रीहरु प्रल्हाद शाह, बाबुकाजी प्रधान, कोषाध्यक्ष दिलविकास राजभण्डारी तथा १५ जना केन्द्रिय सदस्यले हस्ताक्षर गरेका छन् । अध्यक्ष कमल थापाले आफुखुशी पार्टीमा कुनै योगदान नभएका ब्यापारी लगायतको नाम सिफारिस गरेको भन्दै राप्रपा नेपालमा असन्तुष्टि बढेको हो ।
संविधानसभा चुनावको अध्यादेशमा कार्यकारी समितिले समानुपातिक तर्फबाट सभासद् बन्नेहरुको नाम सिफारिस गर्नु पर्ने उल्लेख भएकोमा अध्यक्ष थापाले एकलौटी ढंगले सिफारिस गरेको भन्दै आयोगमा उजुरी गरेको उनीहरुले बताएका छन् । पार्टी विधान विपरित साधारण सदस्य समेत नरहेको व्यक्तिलाई सभासद्का लागि सिफारिस गरिएको असन्तुष्टहरुको भनाई छ । उजुरीमा थापाले गरेको सिफारिस बदर गर्न माग गरिएको छ । राप्रपा नेपालले आइतबार आफूले पाएका २४ जनाको सूचि आयोगलाई बुझाएको थियो ।

पार्टीका विवादबीच टेनिस खेल्न भारत गए थापा

पार्टीभित्र विवाद भइरहँदा संविधानसभाको दोस्रो निर्वाचनबाट चौथो पार्टी बनेको राप्रपा नेपालका अध्यक्ष कमल थापा भारततिर लागेका छन् ।

समानुपातिक सभासद सिफारिसको विषयलाई लिएर विवाद झेलिरहँदा विवादलाई वेवास्ता गर्दै थापा टेनिस प्रतियोगितामा भाग लिन मंगलबार भारत गएका हुन् । भारतको नयाँ दिल्लीमा हसन लागेको सिनियर टेनिस प्रतियोगितामा थापा पार्टीको काम छाडेर त्यता लागेका हुन् ।

पार्टीले सभासद नबनाएको भन्दै राप्रपा नेपालका कोषध्यक्षदेखि अन्य नेताहरु आक्रोशित हुँदै पार्टी कार्यालयलाई डिपार्टमेन्ट स्टोर बनइदिने चेतावनी समेत आइरहेको बेला उनले वेवास्ता गरेका हुन् ।

त्यस्तै महवानपुरमा पनि आफ्नै पार्टीका युवाहरुले मकवानपुरबाट सभासद नबनाएकोमा थापालाई प्रवेशमा रोक लगाउँदै पार्टी कार्यालयमा आगजनी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us