माधव नेपाललाई अदालतमा हाजिर हुन अल्टिमेटम

काठमाण्डु टुडे २०७० मंसिर २४ गते १४:१६ मा प्रकाशित

Madhav-Kumar-nepalकाठमाण्डु, २४ मंसिर– रौतहट–१ को निर्वाचनमा धाँधली गरेको आरोपसहित परेको उजुरीमा संविधानसभा अदालतले एमालेका नेता माधवकुमार नेपाललाई १० दिनभित्र संविधान संविधानसभा अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ ।

सो अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्य सुशीला कार्कीको इजलासले नेता नेपालका साथै निर्वाचन आयोग, सो क्षेत्रका निर्वाचन अधिकृतलगायतलाई पनि आवश्यक कागजातसहित १० दिनभित्र उपस्थित हुन भनेको हो । मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अजयकुमार गुप्ताले नेता नेपालबिरुद्ध आइतबार सो उजुरी गरेका थिए ।

यसैगरी सो इजलासले सप्तरी–२ का एमाओवादीका अशोककुमार मण्डल, महोत्तरी–४ का स्वतन्त्र उम्मेदवार चन्देश्वर झा, महोत्तरी–२ का नेपाली काँग्रेसका किरण यादव,  सिराहा–३ का नेपाली काँग्रेसकै सीतादेवी यादव र गोरखा–२ का एमाओवादीका हितराज पाण्डेलगायतलाई पनि आवश्यक कागजपत्रसहित १०  दिनभित्र उपस्थित हुन भनेको छ ।

उनीहरूबिरुद्ध सप्तरी–२ का सद्भावना पार्टीका नवलकिशोर साह, महोत्तरी–४ का सोही दलका सुरिताकुमारी साह, सद्भावना पार्टीकै महोत्तरी–२ का जानकीशरण साह, सिराहा–३ का एकीकृत नेकपा (माओवादी)का रामरिजन यादव र गोरखा–२ का रविकला शर्मा न्यौपानेले उजुरी दिएका थिए ।

यसैबीच सर्लाही–६ बाट तराई मधेस लोकतान्त्रिक पार्टीका  शिवपुजन राय यादवले नेपाली काँग्रेसका विजयी उम्मेदवार अमरेशकुमार सिंहबिरुद्ध र महोत्तरी–२ बाट सद्भावना पार्टीका महोम्मद इदरिस राइनले नेपाली काँग्रेसका विजयी उम्मेदवार किरण यादवबिरुद्ध पनि निर्वाचनमा धाँधली गरेको आरोपमा सोमबार सो अदालतमा उजरी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us