
काठमाण्डु, २३ मंसिर–नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादी राजनीतिक सहमतिको आधारमा एक बर्षभित्र नयाँ संविधान जारी गर्न सहमत भएका छन् । दुई दलका शीर्ष नेताहरुबीच आइतबार विहान भएको छलफलमा सबै दलको सहमतिमा संविधान जारी गर्ने सहमति भएको हो ।
काँग्रेस नेताहरु छलफल गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाट पुगेका थिए । छलफलमा काँग्रेस नेताहरुले संविधान बनाउने मुख्य जिम्मेवारी पूरा गर्न एमाओवादीलाई संविधानसभा र सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
जवाफमा माओवादी अध्यक्ष प्रचण्डले आफूहरु संविधान र शान्ति प्रकृयाको पक्षमै रहेको स्पष्ट पार्दै चुनावमा भएको धाँधलीबारे छानविन आयोग गठन गर्नुपर्ने अडान दोहोर्याएका थिए ।
छलफलपछि सन्चारकर्मीसँग कुरा गर्दै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादीको मागमा पनि छलफल भैरहेकोले छिट्टै टुंगोमा पुग्ने बताए । उनले राजनीतिक सहमतिमा सरकार गठन गर्ने र एक बर्षभित्रै नयाँ संविधान जारी गर्न एमाओवादी पनि तयार रहेको बताए ।
छलफलमा काँग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौला सहभागी थिए । यसैगरी एमाओवादीको तर्फबाट अध्यक्ष प्रचण्ड, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी सहभागी थिए ।
सहमतिको सरकार गठनको प्रयासमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले एमाओवादीसँग छलफल शुरु गरेको हो । नेकपा एमालेले पनि एकीकृत माओवादीसँग छुट्टै छलफल गरेपछि तीनवटै दलको संयुक्त छलफल गर्ने नेताहरुले बताएका छन् ।
शनिबार बसेको काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले सरकार र संविधान लेखनमा सबैको सहमति जुटाउन अरु दलहरुसँग पनि छलफल चलाउने निर्णय गरेको थियो ।
एकीकृत माओवादीले मंसिर चार गते भएको संविधानसभा निर्वाचनमा संस्थागत, प्रक्रियागत र नीतिगत धाँधली भएको जिकीर गर्दै स्वतन्त्र छानविन आयोग गठन नभएसम्म संविधानसभामा नजाने अडान राख्दै आएको छ । उसले निर्वाचन परिणामप्रति असन्तुष्ट दलहरुलाई समेटेर संयुक्त गठबन्धन बनाइ संघर्षमा जाने तयारी गरेको छ ।