
नेल्सन मण्डेलाको अन्त्येष्टि डिसेम्बर १५ तारीखका दिन, इष्टर्न केपस्थित उनकै पुर्ख्यौली गाउँ कुनुमा, गरिनेछ। भोली आईतबार चाहीं, दक्षिण अफ्रिकामा राष्ट्रिय प्रार्थना दिवस आयोजना गरिनेछ।
मंगलबार जोहानेसबर्ग नजिकैको रंगशालामा राष्ट्रिय शोकको आयोजना गरिंदैछ। अन्त्येष्टि गरिनु अघि मण्डेलाको पार्थिव शरिरलाई प्रिटोरियामा तीन दिनसम्म राखिनेछ।
विहिबार राती ९५ वर्षको उमेरमा निधन भएका नेल्सन मण्डेलाप्रति श्रद्धाञ्जली प्रकट गर्न हजारौं दक्षिण अफ्रिकिहरु खासगरी जोहानेसबर्ग तथा सोवेतोका सडकहरुमा भेला हुने क्रम जारी छ।
उनको पुरानो घर रहेको सोवेतोमा मानिसहरुले नाचगान गर्दै मण्डेलाको जीवनलाई उत्सवको रुपमा स्मरण गरिरहेका छन्।
सोवेतोस्थित उनको पुरानो घरबाहिर कतिपय मानिसहरु प्रार्थना गर्दै फुल चढाउँदैछन् भने, कतिपयले मण्डेलाको जीवनको उत्सव मनाउन रातभर नाचगान गरेका छन्।
त्यहाँस्थित बीबीसी सम्वाददाता रस एटकिन्स भन्छन्, “मैनवत्तीहरु बालिएका छन्, अनि फूल चढाइएका छन्। एकातिर प्रार्थना चलेको छ भने, अर्कातिर उनको जीवनको उत्सव मनाउन नाचगानपनि भइराखेको छ।”
९५ वर्षीय मण्डेलाको विहिबार राती जोहानेसवर्गस्थित आफ्नै घरमा निधन भएको थियो। झण्डै तीस वर्ष पहिले जेलबाट बाहिरिएपछि पहिलो पटक उनले सार्वजनिक भाषण गरेको केप टाउनमा बहुधार्मिक समारोहमा हजारौं भेला भएका छन्।
विश्वभरका नेताहरुले मण्डेलालाई उच्च सम्मान गर्दै श्रद्धाञ्जली प्रकट गरेका छन्
दक्षिण अफ्रिकाका विभिन्न ठाउँहरुमा उनका निम्ति प्रार्थना गरिएका छन् अनि उनको पालाको रंगभेद विरोधी गाना गाइएका छन्। मण्डेलाले रंगभेद विरोधी आन्दोलनका क्रममा २७ वर्ष जेलमा बस्नुपरेको थियो। त्यसपछि उनी त्यहाँका पहिलो निर्वाचित अश्वेत राष्ट्रपति बने। उनलाई विश्वभर उच्चकोटिको राजनेताको रुपमा चिनिन्छ।
उच्च सम्मान
उनको निधनप्रति विश्व नेताहरुले गहिरो दुख प्रकट गरेका छन्। ह्वाइट हाउसले भनेको छ, राष्ट्रपति बराक ओबामा तथा उनकी श्रीमति मिशेल ओबामा, मण्डेलाको अन्त्येष्टिमा सहभागी हुन, आउने साता दक्षिण अफ्रिका जानेछन्।
दक्षिण अफ्रिकि नेता मण्डेलाप्रति अन्तिम सम्मानको ओइरो लाग्ने क्रम, जारी छ। घानाका राष्ट्रपति जोन महामाले बीबीसीलाई भनेका छन्, मण्डेला यस धर्तीमा जन्मिएका मध्ये, हालसम्मकै महान अफ्रिकि हुन्।
“उनले हामीलाई क्षमा दिन सिकाए। राष्ट्रपतिको दोस्रो कार्यकाल नसम्हालेर, उनले हामीलाई सही समयमा त्याग गर्न सिकाए। उनी अदभूत मानिस हुन,” महामाले भने।
उनको सम्झनामा अमेरिकाको न्यू योर्कस्थित प्रख्यात एम्पायर स्टेट बिल्डिंगमा शुक्रबार र शनिबार दक्षिण अफ्रिकि झण्डाको रंगमा बत्ती बालिनेछ। BBC Nepali Service