पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको निधन

काठमाण्डु टुडे २०७० मंसिर २१ गते १:५० मा प्रकाशित

Nelson-Mandelaकाठमाण्डु, २१ मंसिर–दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको निधन भएको छ । रगंभेद बिरोधी आन्दोलनका नायक समेत रहेका मण्डेलाको ९५ बर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । निधनपछि दक्षिण अफ्रिकी जनता शोकमा डुबेका छन् । मण्डेलाको निधन भएको खबर पाएलगत्तै हातमा झण्डा लिएका हजारौं मानिसहरु उनको घर बाहिर जम्मा भएका छन् ।

दक्षिण अफ्रीकी राष्ट्रपति ज्याकुब जुमाले सरकारी टेलिभिजनमा सम्बोधन गर्दै मण्डेलाको भौतिक शरिर यो संसारमा नरहेको जानकारी गराएका थिए । उनले दक्षीण अफ्रीकाले महान छोरा गुमाएको प्रतिक्रिया दिए । विश्वभरका नेताहरुले पनि मण्डेलाको निधनमा समवेदना व्यक्त गरेका छन् ।

मण्डेला लामो समयदेखि फोक्सोको बिरामी थिए । तीन महिनासम्म अस्पतालमा उपचार गराएर उनलाई घर फर्काइएको थियो । उनको घरमै राखेर उपचार हुदै आएको थियो ।
उनले रंगभेद विरुद्धको आन्दोलनमा २७ बर्षसम्म जेल जीबन बिताएका थिए । उनको राजकीय सम्मानका साथ शनिवार अन्त्यष्टि गरिनेछ ।

नोबेल शान्ति पुरस्कार बिजेता मण्डेला सन् २०१० मा दक्षिण अफ्रीकामा भएको विश्वकप फुटबल पछि सार्वजनिक समारोहमा देखिएका थिएनन् ।

मण्डेलाको संघर्षमय जीबन कथा

मण्डेलाको जन्म १९१८मा दक्षिण अफ्रीकाको एक सानो गाउँ इस्टर्न केपमा भएको थियो । उनलाई सानोमा ‘मदीबा’ भनेर बोलाइन्थ्यो । उनको नाम भने रोलिहलाहला दालिभंगा राखिएको थियो । तर, उनले पढ्ने स्कूलको एक शिक्षकले उनको अंग्रेजी नाम नेल्सन राखिदिए ।

उनको बुवा थेंबु राज परिवारको सल्लाहकार थिए । नेल्सन मण्डेला नौं बर्षको हुँदा उनको बाबुको निधन भएको थियो । उनको बालापन गाउँका मुखिया जोंगिनताबा दलिनदयाबोको रेखदेमा बित्यो ।

सन् १९४३ मा उनी अफ्रीकाको नेश्नल काँग्रेसमा जोडिए । पहिले साधारण कार्यकर्ताको रुपमा जोडिएका उनी पछि युवा शाखाको संस्थापक अध्यक्ष बने । उनलाई रंगभेद विरुद्धको आन्दोलनमा जोडिएको भन्दै कयौं बर्ष जेलमा हालियो । पछि उनी अफ्रीकी नेशनल काँग्रेसको अध्यक्षमा चुनिए ।

भूमिगत

उनको पहिलो विवाह सन् १९४४ मा भएको थियो । उनका तीन सन्तान भए । तर तेह्र बर्षपछि छोडपत्र भयो । उनी कानुनको विद्यार्थी थिए । सन् १९५२ मा जोहानेसबर्गमा आफ्नो साथी ओलिवर टैबोसँगै उनले वकालत पनि शुरुआत गरे । यीनै दुई साथीले रंगभेदी नीतिको विरुद्ध अभियान चलाउन थाले । त्यसको चार बर्षपछि सन् १९५६ मा उनीहरु सहित १५५ जनालाई देशद्रोहको आरोप लाग्यो । चार बर्षको सुनुवाईपछि उनले सफाइ पाए ।

देशभर रंगभेदको विरुद्ध संघर्ष चर्किदै गएको थियो । विभेदकारी कानुनको विरोध भैरहेको थियो ।

मण्डेलाले सन् १९५८ मा विनि मादिकिजेला सँग दोस्रो विहे गरे । विनि मादिकिजेलाले मण्डेलालाई जेलबाट छुटाउन अभियान चलाएकी थिइन् ।

अफ्रीकी सरकारले नेशनल काँग्रेसलाई सन् १९६० मा प्रतिबन्धित संगठन घोषित गर्यो र मण्डेला भूमिगत भए । त्यतिबेला रंगभेद विरुद्धको आन्दोलनमा सकृय ६९ जनाको सरकारी सुरक्षाकर्मीबाट हत्या भैसकेको थियो । त्यस हत्याकाण्डलाई ‘शार्पविल हत्याकाण्ड’को रुपमा चिनिन्छ ।

जन्मकैद

सो हत्याकाण्डपछि रंगभेद विरुद्धको शान्तिपूर्ण संघर्षले हिंसात्मक रुप लियो । मण्डेलालाई सरकारले गिरफ्तार गर्यो । उनलाई देशमा हिंसा मच्चाएको आरोप लगाइयो । रिवोनियाको एक अदालतमा मण्डेलाले आफ्नो भनाइ राख्दै लोकतन्त्र, स्वतन्त्रता र समानताको पक्षमा भनाइ राखे । उनले भनेका थिए, ‘मैले एक यस्तो लोकतान्त्रिक र मुक्त समाजको कल्पना गरेको छु । जहाँ सबैजना सौहद्रपूर्वक रहन सकून र सबैलाई बराबर अधिकार होस् । यहि प्राप्त गर्न म बाँच्न चाहान्छु । तर, यदि आवश्यक पर्छ भने म मर्न पनि तयार छु ।’ मण्डेलाको भनाइ लगत्तै सन् १९६४ मा सो अदालतले जन्मकैदको फैसला सुनायो ।

एक बर्षको अन्तरालमै सन् १९६८ र १९६९ को बीचमा उनको आमाको निधन भयो भने उनको जेठो छोरोको कार दुर्घटनामा मृत्यु भयो । तर, मण्डेलालाई आफ्नै आमा र छोराको अन्तिम संस्कारमा भाग लिन पनि सरकारले रोक लगायो ।

अन्तराष्ट्रिय अभियान

मण्डेला र उनका साथीहरु जेलमै थिए । दक्षिण अफ्रीकाका कालाजातिको बाहुल्य रहेको शहरमा युवाहरुले श्वेत सरकार विरुद्ध आन्दोलन चर्काउँदै लगेका थिए । आन्दोलनमा सैकडौं मारिए, हजारौं घाइते भए । आन्दोलनमा सहभागी भएको भन्दै स्कूले बालिकालाई पनि सरकारले हत्या गर्यो ।

मण्डेलाको अगुवाईमा शुरु भएको रंगभेद विरुद्धको आन्दोलनले विश्वव्यापी रुप लियो । मण्डेलाको वकील साथी टैबोले सन् १९८० मा उनको रिहाइको लागि अन्तराष्ट्रिय अभियान शुरुआत गरे । अन्तराष्ट्रिय समुदायले पनि दक्षिण अफ्रीकी सरकारमाथि सन् १९६७ मा लगाएको प्रतिवन्ध अझै कडा बनाए । विश्व समुदायको दवावपछि राष्ट्रपति एफ डब्ली डी क्लार्कले सन् १९९० मा मण्डेलाले नेतृत्व गरेको नेश्नल काँग्रेसमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न बाध्य भए । मण्डेला पनि जेलबाट रिहा भए ।

राष्ट्रपति मण्डेला

डिसेम्बर १९९३ मा नेल्सन मण्डेला र एफ डब्लु डी क्लार्कलाई नोबेल शान्ति पुरस्कार दिइयो । त्यसको पाँच महिनापछि सरकारले दक्षिण अफ्रीकाको इतिहासमै पहिलोपटक लोकतान्त्रिक चुनाव घोषणा गर्यो । मतदानमा सबैलाई भाग लिन दिइयो ।

चुनावबाट नेल्सन मण्डेला सन् १९९४ मा राष्ट्रपतिमा निर्वाचित भए । काला जातिबाट राष्ट्रपति बनेका उनी पहिलो व्यक्ति थिए । राष्ट्रपतिको रुपमा उनको सबैभन्दा ठूलो चुनौति बनेको थियो, गरीब नागरिकलाई घरबासको व्यवस्था । दक्षिण अफ्रीकाका ठूला ठूला शहरमा पनि सुकुम्वासी बस्ती थिए ।

राष्ट्रपति भैसकेपछि मण्डेलाले आफ्नो सहयोगी थाबो अम्बेलाई सरकारको प्रशासनिक जिम्मेवारी दिए । १९९९ मा उनले राष्ट्रपति पद छाडेका उनले सन् २००४ मा सार्बजनीक जीबनमा अवकाश लिएको घोषणा गरेका थिए ।

सन् १९९२ मा उनको दोस्रो श्रीमती विनी मण्डेलासँग पनि छोडपत्र भैसकेको थियो । किनकी विनीमाथि अपहरण र आक्रमणका आरोप लागेका थिए । आफ्नो ८० बर्षको उमेरमा उनले मोजाम्बिकका पूर्व राष्ट्रपतिकी विधवा ग्राका माशेलसँग विवाह गरे । राष्ट्रपति पद छाडेपछि पनि उनले बिभिन्न देशहरुको भ्रमण गर्दै नेताहरुसँग भेटवार्तालाई जारी राखे । उनी सेवा निवृत्त भएपछि आफैले स्थापना गरेको मण्डेला फाउन्डेसनमा काम गर्न थाले ।

जब २००५ मा उनको एकमात्र छोराको एड्सको कारण निधन भयो । उनले सबैलाई एड्सकोबारे खुलस्त कुरा गर्न सबैलाई आग्रह गरे । त्यसपछि उनको पनि स्वास्थ्य विग्रदै गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us