
‘संसारका ठूला टुर अपरेटरहरूले यो सूचीलाई आफ्ना ‘ब्रोसर’ (जानकारी पुस्तिका) मा राख्ने भएकाले यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्छ,’ उनले भने, ‘त्यहीअनुसार सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले हातेमालो गर्दै गए हाम्रो पर्यटन उद्योगले छलाङ मार्नेमा कुनै शंका छैन।’
मुलुकका प्रमुख टुर अपरेटरहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर अपरेटर्सका अध्यक्ष अशोक पोखरेलले ट्रिप एडभाइजरको सूचीबाट आफूहरू थप उत्साही भएको बताए। ‘नेपालको पर्यटन उद्योगका लागि यो ज्यादै राम्रो र सुखद खबर हो,’ उनले नागरिकसँग भने, ‘यो सूचीलाई ‘क्यास’ गरेर हामी अगाडि बढ्छौं।’
पर्यटकले एकपटक वा धेरैपटक घुमेर काठमाडौंसहित उत्कृष्ट १० उदीयमान गन्तव्य छनौट गरेको उनले जानकारी दिए। ट्रिप एडभाइजर वेबसाइटको सुझाव पछ्याउँदै संसारका लाखौं पर्यटकले आफ्ना भ्रमण गन्तव्य तय गर्ने गरेको पोखरेलको भनाइ छ।
‘समूहमा भन्दा एक्लै घुम्न रुचाउने लाखौं पर्यटकले ट्रिप एडभाइजरलाई पछ्याउने गर्छन्,’ उनले भने, ‘यो वेबसाइट यस्तो हो, जसले विश्व पर्यटन बजारलाई ठूलो प्रभाव पार्न सक्छ।’
पोखरेलको भनाइलाई ट्रिप एडभाइजरका अधिकारीहरूले आफ्ना वेबसाइटमार्फत् पुष्टि गरेका छन्।
‘सन् २०१४ मा संसारका विभिन्न गन्तव्य घुम्ने योजना बनाइरहेका पर्यटकलाई हाम्रो यो सूचीले महŒवपूर्ण सहयोग पुर्याउने छ,’ ट्रिप एडभाइजरकी चिफ मार्केटिङ अफिसर बार्बरा मेसिङले सूची सार्वजनिक गरेपछि भनिन्, ‘गत वर्ष यी गन्तव्य पुगेका लाखौं पर्यटकको आँखाबाट यी आश्चर्यजनक गन्तव्य छनौट गरिएका हुन्। पर्यटकले ठूला–ठूला सहरभन्दा यस्ता उदीयमान गन्तव्यमा आश्चर्यजनक बसाइ, आकर्षक होटल, रेस्टुरेन्ट पाउन सक्छन्।’
ट्रिप एडभाइजरको यो सूचीको चौथो स्थानमा इजरायलको जेरुसेलम, पाँचौंमा पेरुको क्युस्को, छैठौं बेलिजको एम्बरग्रिस काये, सातौंमा जापानको साप्पोरो, आठौं भियतनामको हनोई, नवौं स्पेनको कोर्रालेजो र दसौं स्थानमा ब्राजिलको फोर्टालेजा सहर परेका छन्।
ट्रिप एडभाइजरले संसारकै सबैभन्दा ठूलो ट्राभल समुदाय बनाउन सफल भएको छ। यसका वेबसाइट प्रतिमहिना २६ करोडजनाले हेर्ने गर्छन्। हालसम्म यसमा संसारका होटल, रेस्टुरेन्ट लगायत ३१ लाख विविध आकर्षक गन्तव्यबारे १२ करोड ५० लाख समीक्षा र विचार समेटिइसकेका छन्।
सन् २००० मा अमेरिकामा स्थापना भएको ट्रिप एडभाइजर पब्लिक कम्पनी हो । यसले अमेरिका, एसिया, अफ्रिका, मध्यपूर्व, युरोप, एसिया प्रशान्त क्षेत्रलाई समेटेको छ । करिब २ हजारजनालाई रोजगारी दिएको यसले २०१२ मा ७६ करोड २० लाख अमेरिकी डलर (७६ अर्ब २० करोड रुपैयाँ) आम्दानी गरेको थियो।
एसियाका उत्कृष्ट २५ गन्तव्यमा पनि काठमाडौं
ट्रिप एडभाइजरले नै तयार पारेको ‘एसियाका उत्कृष्ट २५ गन्तव्य’ को सूचीमा पनि काठमाडौं परेको छ।
यो सूचीको पहिलो स्थानमा थाइल्यान्डको बैंकक परेको छ भने काठमाडौं १८ औं स्थानमा आएको हो। काठमाडौंले भारतका तीन गन्तव्यसहित चीन, लाओस, कम्बोडिया र भियतनामका गन्तव्यलाई पछाडि पारेको छ।
सूचीमा काठमाडौंपछि क्रमशः लाओसको लुआङ प्रबाङ, भारतको जयपुर, चीनको जियान, भारतको गोआ, कम्बोडियाको न्होमपेन, भारतको मुम्बई र भियतनामको हलोङ बे रहेका छन्।
सूचीको दुईदेखि १७ औं स्थानमा क्रमशः टोकियो (जापान), बेइजिङ (चीन), सांघाई (चीन), सियामरिप (कम्बोडिया), चियाङमाई (थाइल्यान्ड), हङकङ (चीन), सिंगापुर (सिंगापुर), क्योटो (जापान), माले (माल्दिभ्स), उबुड (इन्डोनेसिया), सोल (दक्षिण कोरिया), ताइपेइ (ताइवान), हनोइ (भियतनाम), होचिमिन्ह सिटी (भियतनाम), नयाँदिल्ली (भारत) र होइ आन (भियतनाम) छन्।