नेपाल-चीनका सुरक्षा निकाय वीच सूचना आदान प्रदान गर्ने सहमति,व्यापारका लागि समस्या समाधान गर्न भारत तयार

काठमाण्डु टुडे २०७० मंसिर १९ गते २३:२२ मा प्रकाशित

काठमाण्डु २० मंसिर–नेपाल–चीन सीमा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ तुल्याउने सहमतिका साथ नेपाल–चीन सहसचिवस्तरीय वार्ता सकिएको छ । परराष्ट्र मन्त्रालयमा बुधवार भएको वार्तामा दुवै मुलुकका सीमा क्षेत्रबाट हुने आपराधिक गतिविधि नियन्त्रण गर्न तथा अवाञ्छित क्रियाकलाप हुन नदिन सुरक्षा निकायबीच सूचना आदानप्रदान गर्ने सहमति भएको छ ।
सुरक्षा संवेदनशीलता र दुवै मुलुकका चासोलाई सम्बोधन गर्न आपसी सहकार्य एवम् सहयोगलाई अझ अभिवृद्धि गर्ने तथा पारस्परिक हितका क्षेत्रमा आवश्यक काम गर्नेतर्फ वार्ता केन्द्रित रहेको परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुईंटेलले बताइन ।
मन्त्रालयको चीन महाशाखा प्रमुखसमेत रहेकी लुइटेलले वार्तामा नेपाली पक्षको नेतृत्व गरेकी थिइन भने भने चिनियाँ टोलीको नेतृत्व नेपालका लागि चीनका पूर्व राजदूत एवम् त्यहाँको विदेश मन्त्रालयको बाह्य सुरक्षा विभागका महानिर्देशक छिउ गुओहोङले गरेका थिए ।
वार्तामा दुवै देशका परराष्ट्र र गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो । वार्ताका लागि आएको १० सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अर्जुनबहादुर थापा र गृह सचिव जनार्दन नेपालसँग बेग्लाबेग्लै भेटेर आपसी हित र चासोका विविध विषयमा विचारविमर्श गरेको थियो । China & India

 कोइरालासँग चिनियाँ प्रतिनिधिमण्डलको भेट
नेपाल भ्रमणमा रहेको नेपालका लागि चीनका पूर्व राजदूत तथा चीनको विदेश मन्त्रालयका बाह्य सुरक्षा मामलाका महानिर्देशक छिउ गुओहोङको नेतृत्वमा आएको १० सदस्यीय प्रतिनिधिमण्डलले काँग्रेसका सभापति सुशील कोइरालासँग भेट गरेको छ ।
भेटवार्तामा चिनियाँ प्रतिनिधिमण्डलले हालै सम्पन्न संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाएकोमा सभापति कोइरालालाई बधाइ ज्ञापन गर्दै काँग्रेसको नेतृत्वमा बन्ने सरकारको सफलताको  शुभकामना पनि व्यक्त गरेका थिए ।
वार्तामा सभापति कोइरालाले चीनले नेपालप्रति देखाउँदै आएको सहृदयी व्यवहार र निरन्तर सहयोगको सराहना गर्दै भविष्यमा पनि यस्तो सहयोग जारी हुने विश्वास व्यक्त गरेका थिए । उनले संविधानसभा निर्वाचनमा नेपाली जनताले दिएको जनादेशअनुरूप सहमतीय सरकार बनाउन नेपाली काँग्रेसले अग्रसरता लिइरहेको जानकारी दिएका थिए । भेटवार्ता कोइराला निवास महाराजगञ्जमा भएको थियो । चिनिया प्रतिनिधिमण्डलले यसअघि एमाले अध्यक्ष झलनाथ खनाल र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गरिसकेको छ ।
व्यापारका लागि सीमा समस्या समाधान गर्न भारत तयार
नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपाल–भारतबीच व्यापारको क्रममा देखिएका कतिपय समस्या समाधान भइसकेको र अन्य समस्या समाधानका लागि भारतीय राजदूतावास तत्पर रहेको बताएका छन ।
उनले निजी क्षेत्रका उद्योगीलाई आकर्षित गर्न सडक, रेल, बिजुली, सञ्चार सुविधा आवश्यक रहेको उल्लेख गर्दै झापामा कस्ता खालका निजी कम्पनी भित्र्याउने हो भन्ने विषयमा यहाँका उद्योग वाणिज्य संघले सुझाउनुपर्ने बताए ।
उनले मेची राजमार्गअन्तर्गतको चारआलीदेखि केचनासम्मको ४० किलोमिटर सडक निर्माणको काम केही दिनमै सुरु बताए ।
उनले नेपालमा नचल्ने भारतीय नोटबारे जानकारी दिन सूचना बोर्ड राख्नुपर्ने र साट्न सीमावर्ती क्षेत्रमा बैंक स्थापना गर्नुपर्ने सुझाव दिए ।
भारतीय राजदूतावासको सहयोगमा झापा उद्योग सङ्घको आयोजनामा बुधवार भद्रपुरमा ‘सीमा व्यापार समस्या र चुनौती’ विषयक अन्तक्र्रियाको आयोजना गरिएको थियो ।
सो अवसरमा व्यापारीलाई सामान छुटाउन सिलिगुडी जानुपर्ने समस्या रहेको, पानीट्याङ्कीमा बैंक नहुँदा थप समस्या भएको भन्दै व्यापारीहरूले आयकर पदाधिकारीलाई पानीट्याङ्कीमा बस्ने व्यवस्था मिलाउनुपर्ने सुझाव राखेका थिए ।
यसका साथै, पानीट्याङ्कीमा क्वारेन्टाइनको प्रयोगशाला नहुँदा सामानको जाँच गराउन कलकत्ता जानुपर्ने, भारतीय ५०० र हजारको नोटको प्रतिबन्धका कारण अनाहकमा निर्दोष मानिसहरू पक्राउमा पर्ने गरेको र सो कारणले भारतीय पर्यटकहरूको आगमनमा कमी आएको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा नेपालमा प्रतिबन्धित लागुऔषध भारतको सीमावर्ती क्षेत्रमा निर्वाध रूपमा बिक्री वितरण भइरहेकाले त्यसमा रोक लगाउन र भारतीय रेलमा सिटको आरक्षण व्यवस्था गर्न पनि माग गरिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us