घरमा समान पुर्‍याउन चालकविहीन विमानको प्रयोग

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १५:५७ मा प्रकाशित

वासिङटन–के तपाईं ढुवानी संस्था ‘अमेजन’लाई खरिद आदेश दिएको ३० मिनेटमै सामान प्राप्त गर्न चाहनुहुन्छ ? अमेजनका प्रमुख कार्यकारी अधिकारी जेफ बेजोस छिटै चालकविहीन विमानको एउटा समूह नै उपयोग ल्याउने आशामा छन जसले तपाईंको घरमा सामानका साना पोकाहरू सजिलै पुर्‍याइदिनेछन् ।

खुद्रा व्यापारको पनि कारोबार गरेको यस अमेरिकी संस्थाले यस क्रान्तिकारी परियोजनाका लागि सुरक्षा परीक्षण गर्न तथा सङ्घीय सरकारको स्वीकृति लिन बाँकी छ । यसो भए पनि बेजोसले अमेजनको ‘प्राइम एयर’ नामक सेवा चारदेखि पाँच वर्षमा आरम्भ हुने विश्वास गरेका छन् ।

सीबीएस टेलिभिजनको ‘‘६० मिनेट’’ नामक कार्यक्रममा बेजोसले यस परियोजनालाई चालकविहीन विमानले सफल बनाउने र यस्तो विमान प्रयोग गर्न नसकिने कारण नभएको बताए । उनले भन्दा र सुन्दा यो विज्ञानको मौलिक कथा जस्तै भए पनि वास्तविक भएको बताए ।

उनले आधाघण्टाभित्र २.३ किलोग्रामको सामान घरमा पुर्‍याउन सकिने बताए । उनले यस तौल सीमाले आफूले पुर्‍याउनुपर्ने ८६ प्रतिशत सामानलाई समेट्ने बताए ।
कम्पनीको वेबसाइटमा यस्तै एक चालकविहीन विमानको भिडियो राखिएको छ । यस विमानमा आठवटा सानो पङ्खा र चारवटा खुट्टा राखिएको छ र यसले उपभोक्ताले आदेश दिएको सामान ३० मिनेटभित्रै उसको घरमा पुर्‍याइदिएको देखाइएको छ ।

यी साना विमानमा वातावरणमैत्री विद्युतीय मोटर राखिएका छन् र यसले १६ किलोमिटरसम्मको यात्रा पूरा गर्नसक्छ । यसले सहरी क्षेत्रका जनताको आवश्यकता पूरा गर्नसक्छ ।
यी विमान आफैँ सञ्चालन हुन्छन् र त्यसलाई सामान प्राप्त गर्न र निर्धारित स्थानमा पुर्‍याउन जीपीएस (ग्लोबल पोजिस्निङ सिस्टम) ले सहयोग गर्नेछ ।
उनले यो विमान सुरक्षित भएको र यसलाई मोटरहरूले हावामै रहन र दुर्घटना हुनबाट जोगाउने बताए ।

अमेजनले यी विमान आवश्यक कानुन तयार हुनासाथ सञ्चालनमा आउने जानकारी दिएको छ । यस विषयमा सङ्घीय उड्डयन प्रशासन (एफएए)को कानुन सन् २०१५ सम्म तयार हुने अनुमान गरिएको छ ।

यो परियोजना सफल भएमा वाल मार्ट तथा स्थानीय पिजा पसलले पनि चालकविहीन विमानको ढुवानी सेवा आरम्भ गर्न सक्नेछन् ।

एफएएका प्रमुख माइकर हुएर्ताले यसअघि अमेरिकी आकाशमा आउँदो पाँच वर्षमा करिब सात हजार ५०० चालकविहीन विमान रहने अनुमान गरिएको जानकारी दिएका थिए ।
एसोसिएसन फर अनम्यान्ड भेहिकल सिस्टम इन्टरनेसनलका प्रमुख माइकल टोस्कानोले नागरिक चालकविहीन विमानको बजारले आउँदो दशकमा एक लाख नोकरी सिर्जना गर्ने अनुमान गरेका छन । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us